Showing posts with label खेल. Show all posts
Showing posts with label खेल. Show all posts

Sunday, October 9, 2016

महिला क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउने जिम्मा जसको काँधमा छ

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि नेपाली युथ–१९ टोली पहिलोपल्ट क्रिकेट खेल्न हङकङ गएको थियो। त्यो युवा टोलीमा नेपालका उपकप्तान थिए, राजु बस्नेत जो पछि राष्ट्रिय टोलीमा पनि सम्मिलित भए। उनै राजुसँग १९ वर्षपछि एउटा संयोग जुरेको छ। उनी विश्वकप छनोटको तयारी गरिरहेको नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हुन्। र, आफूले सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेको देश हङकङमा फरक भूमिका बोकेर पुनः मैदानमा ओर्लिंदै छन्। त्यतिबेला राजुले बल, ब्याट र क्षेत्ररक्षण तीनवटै विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए। यसपालि उनले नेपाली चेलीबाट कस्तो प्रदर्शन गराउलान्? यसले उनको भविष्य पनि तय गर्नेछ। कारण, राजुले प्रशिक्षणको लेभल–३ कोर्स गरिसकेका छन्। यो कोर्स गर्नेमा नेपालमा उनीबाहेक राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, विनोद दास, दीपेन्द्र चौधरी, महेश रिजाल र नवीन सिंह मात्र छन्। राजुको नेतृत्वमा गत वर्ष मलेसियामा नेपाली युथ–१६ टोलीले उपाधि जितेको थियो। उनको अनुभवबाट महिला टोलीले पनि केही फाइदा उठाउने विश्वास गरिएको छ। राजु घरेलु प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) को टिम हेर्ने गर्छन्। उनको प्रशिक्षणमा रहेको एपिएफले तीन महिनाअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो। हङकङमा नेपाली महिला टोली चीन, हङकङ र थाइल्यान्डसँग भिड्दैछ। दुई वर्षअघिको प्रदर्शनलाई मनन गर्ने हो भने नेपालको प्रदर्शन यी तीनवटै राष्ट्रविरूद्ध कमजोर छ। त्यसैले यो समूहमा नेपाल सबैभन्दा कमजोर प्रतिद्वन्द्वी मानिन्छ। राजुका लागि आइतबार सुरु हुने छनोट खेल धेरै अर्थमा महत्वपूर्ण छ। विश्वकप छनोटअन्तर्गत एसियाको समूहमा रहेको नेपालले आफूलाई छनोटमा टिकाइरहन जुनसुकै हालतमा जित निकाल्नु अनिवार्य हुनेछ। यो समूहबाट विजेता बन्ने राष्ट्रले मात्र अर्को वर्ष ‘ग्लोबल क्वालिफाइङ’ मा भाग लिन पाउनेछ। र, ग्लोबल क्वालिफाइङमा छनोट भएको राष्ट्रले इङ्ल्यान्डमा आयोजना हुने महिला विश्वकप खेल्न पाउनेछ। ‘मलाई थाहा छ यो छनोट मेरो लागि निकै चुनौतिपूर्ण छ,’ ३६ वर्षीय प्रशिक्षक राजुले सेतोपाटीसँग भने, ‘यसको जानकारी हुँदाहुँदै मैले टिम लिने साहस गरेँ। म पहिलेदेखि नै चुनौतीलाई स्वीकार गर्ने खेलाडी हुँ।’ सन् २००३ मा नेपालमा भएको इमर्जिङ नेसन्स कपमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि राजुको खेल जीवन २०१४ सम्म लम्बिएको थियो, जब उनले दुई वर्षअघि अन्तिमपल्ट एसिसी ट्रफी खेले। यस अवधिमा उनले सबैभन्दा बढी तीनदिने खेल खेले। त्यसैले उनलाई ५० ओभरको फरम्याटको पूर्ण जानकारी छ। उनी यसको विशेषता पनि जान्दछन्। तर, सुषुप्त अवस्थामै रहेको नेपालको महिला टोलीलाई जीतको अनुभवबाट डोर्याउन पक्कै फलामको चिउरा चपाउनुजत्तिकै कठिन हुनेछ राजुका लागि। नेपालसँग भिड्न लागेका देशमध्ये चीनले महिला क्रिकेटमा धेरै लगानी गरेको छ। यही प्रतियोगिताका लागि थाइल्यान्डले आफ्नो पूरा तयारी श्रीलंकामा गरेको छ। हङकङको टिम भारतमा अभ्यास गरेर फर्किएको छ। तर, नेपालले एक महिनाअघि मात्र केही पुराना खेलाडीसँग नयाँ खेलाडीको खोजी गरेको थियो। अभ्यासका सुरुका दिन महिला खेलाडीलाई एउटा इनिङमा ४० रन कटाउन पनि धौ–धौ पर्थ्यो। अहिले उनीहरू आरामले १ सय २० रन बनाउन सक्ने भएका छन्। यसलाई राजु खेलाडीमा आएको परिवर्तन मान्छन्। र, मैदानमा ओर्लिंदासम्म थप सुधार देखिने बताउँछन्। ‘हाम्रो महिला क्रिकेट अहिले पनि परम्परागत हिसाबले चलेको छ। उनीहरूलाई क्लोज क्याम्पमा प्रशिक्षण दिँदा सुरुमा डिफेन्स कसरी गर्ने र फ्रन्ट फुटमा कसरी जाने भनेर सिकाउनुपर्ने अवस्था छ,’ उनले भने। रुबिना क्षेत्रीको कप्तानीमा रहेको महिला टोलीमा युवा खेलाडीको बाहुल्य छ। त्यसैले राजु पनि महिला क्रिकेटको भविष्यप्रति निकै आशावादी छन्। उनी एक वर्षअघि आफूले जिम्मेवारी लिएको युथ–१६ टोलीभन्दा महिला टोलीलाई खेलमा ढाल्न गाह्रो परेको अनुभव सुनाउँछन्। तर, उनको अगाडि अब कुनै उपाय छैन। विरूद्ध हङकङ (आइतबार र बिहीबार) विरूद्ध थाइल्यान्ड (सोमबार र शुक्रबार) विरूद्ध चीन (मंगलबार र शनिबार)

Monday, March 17, 2014

क्रिकेटले राष्ट्रियता जुरुक्कै उचाल्दा

काठमाडौ, चैत ३ – सार्वजनिक कार्यक्रममा मात्रै होइन, सामाजिक सञ्जालमा पनि एकअर्कालाई आरोप प्रत्यारोप गर्ने नेताहरुको विचार र भावना आइतबार एउटै बन्यो ।

फेसबुक र ट्वीटरमा नियमित छाइरहने नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र राप्रपा नेपालका शीर्ष नेताहरुले आइतबार सार्वजनिक गरेको विचार हेरौं:
बाबुराम भट्टराई: ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाली टिमले हङकङमाथि शानदार जित हासिल गरेर सम्पूर्ण नेपालीको शिर उचो गरेको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन र वसन्त रेग्मी ले यो जितमा विशेष भूमिका निर्वाह गरे । सम्पूर्ण टिमलाई मुरीमुरी धन्यवाद र वधाइ ।
कमल थापा: Congrats Nepali cricket team for the wonderful win. Historic debut. Today you guys have made our nation proud. Keep it up.
रामशरण महत:  Congratulations boys,Shakti Gauchan in particular! You ve famished a team that many considered formidable for u until a few hours ago !
Remarkable bowling, Cricket Nepal destined for a big win over Hong Kong. Keep it up boys ! Good show by Cricket Nepal in batting ! Well done, expect bawlers to show their mettle!
शंकर पोखरेल: बधाई छ नेपाली क्रिकेट टोलीलाई , राम्रो खेलका लागि । नेपाली क्रिकेटलाई प्रोत्साहन दिन भोली नै सरकारले अन्तर्राष्ट्रिय स्तरको स्टेडियम बनाउने रकम उपलब्ध गराउने घोषणा गर्नु राम्रो हुन्छ ।
राजनीतिक दलका नेताहरुको मात्रै होइन, फरक विचार र धारणा राख्ने सबैको भावना आइतबार यस्तै साझा थियो । त्यो र यो, म र तँ भनेर मनमुटाव गरिरहनेहरुको मन एउटै बनाउने काम गरेको थियो बंगलादेशमा भइरहेको ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटले । त्यो दल र यो दल भनेर आपसमा मारमुङ्ग्री गरेपनि खेलले आपसमा दलदल होइन, एकताको बल प्रदान गर्छ भन्ने कुरा आइतबार पनि पुष्टी भयो ।
बंगलादेशको राजधानी ढाकाबाट पनि निकै परको ठाउँ चटगाउँ आइतबार सबै नेपालीका लागि आफ्नै आँखा अगाडिको आँगन सरह भयो । लेखपढ र कामको सिलसिलामा बंगलादेशमा रहेकाहरु त मैदानमै पुगेका थिए । कतिपय त खेल हेर्नकै लागि नेपालबाटै बंगलादेश गएका थिए ।  देशभित्र र बंगलादेशभन्दा बाहिरी देशमा रहेका नेपालीहरुलाई पनि चटगाउँ आफ्नै गाउँ र ठाउँजस्तो भयो । नेता, अभिनेता, सरकारी कर्मचारीदेखि गाउँठाउँका साधारण किसानले पनि टेलिभिजनको पर्दामा आफैंले बलिङ र ब्याटिङ गरेजसरी मज्जाले खेल हेरे ।
नेपाल लेखिएको जर्सी लगाएका आशालाग्दा युवा खेलाडी । ‘नेपाल, नेपाल, नेपाल...’ भन्दै हातमा चन्द्रसूर्य अंकित राता झण्डा, गालामा पनि झण्डा र देशको नाम पेन्टिङ गरेका युवायुवतीको उत्साह । टेलिभिजनको पर्दामा आँखा झिमिक्क नगरी बसेका दर्शक ।
बेलुकी साँझ पर्ने बेला चटगाउँको मैदानमा जब नेपाली खेलाडी ओर्लिए, त्यसपछि टेलिभिजन हेरिरहेका दर्शकको मन ढक्क फुल्यो । राष्ट्रिय गानको धुन गुञ्जन थालेपछि सबैलाई जुरुकजुरुक बनायो । नेपाली झण्डा फहराएसँगै राष्ट्रियताको भावना सलबलाउन थाल्यो । खेल अवधिभर सबैले नेपाल र नेपाली मात्र सम्झे । आपसी वैमनश्यता र मनमुटाब चटक्कै बिर्सिए ।
खेलाडी ११ जना भएपनि टेलिभिजन हेर्ने सबैलाई आफैंले खेल खेले झैं बनायो । ‘थुक्क, ला, उफ्...’ भनेर चुकचुकाउनुभन्दा हुर्रे, स्याबास् भनेर उफ्रने क्षण मात्रै आयो । गालीभन्दा तालीको वर्षा भयो । मनमा निराशा भन्दा आशा र उत्साह मात्रै बढायो । पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामीको जय जयकार भयो । दिनभरि होली मनाएर नुहाईधुवाई गरेर क्रिकेट हेर्न बसेकाहरुलाई मध्यरातमा फेरि जितको खुशीयाली मनाउने अवसर जुर्‍यो ।
सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियताको भावनाले प्रफुल्ल पार्ने, फरफराएको झण्डा र गुञ्जिएको राष्ट्रिय गानले जुरुकजुरुक बनाउने अवसर यस्तै क्षणमा मात्र दोहोरिन्छ । विश्वकप क्रिकेटले आइतबार ल्याएको खुशीयाली र एकताको भावना मंगलबार फेरि दोहोर्याउने पर्खाईमा आम नेपाली बसेका छन् ।

Friday, February 14, 2014

नेपालको दोस्रो जित, भुटान ५ विकेटले पराजित

थाइल्याण्डमा जारी एसीसी महिला प्रिमियर क्रिकेटको तेस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ५ विकेटले हराएको हो । १ सय ४ रनको सामान्य चुनौती नेपालले २६ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।



खराव सुरुवात गर्ने क्रममा १७ रन जोड्दा सुरुवातका ३ विकेट गुमाएको नेपालका लागि रुविना क्षेत्रीले अलराउण्ड प्रदर्शन गर्ने क्रममा अविजित रहँदै ३१ रन जोडेसँगै नेपालको जित सुनिश्चित भएको हो । त्यसैगरी, ममता थापाले २० रन बनाइन् ।

यसअघि टस जितेर पहिले फिल्डिङ गरेको नेपालले कसिलो बलिङ गर्ने क्रममा भुटानलाई १ सय ३ रनमै रोकेको थियो । भुटानले निर्धारित ४० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्र बनाउन सक्यो ।

कसिलो बलिङ्ग गर्ने क्रममा सोनु खड्का र रुविना क्षेत्रीले २–२ तथा सीता मगर र रेखा रावलले समान १–१ विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा इरानलाई २ सय २१ रनको फराकिलो अन्तरले हराएको नेपालले दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग ८ विकेटको हार बेहोरेको थियो ।

एसीसीले पहिलो पटक ४० ओभरको ढाँचामा आयोजना गरेको प्रिमियर क्रिकेटमा एसियाका टेष्ट नखेल्ने ६ राष्ट्रहरु सहभागी छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्ने भएकाले फाइनल प्रवेशका लागि नेपाललाई अबका सबै खेलमा फराकिलो जित हात पार्नुपर्ने जरुरी छ ।

चौंथो खेलमा नेपालले आइतबार चीनको सामना गर्नेछ । त्यसैगरी, अन्तिम खेलमा नेपालको भिडन्त सोमबार चीरपरिचित प्रतिद्धन्द्धी हङकङसँग हुनेछ ।

Friday, February 7, 2014

हङकङमा कीर्तिमान

पूर्व ब्रिटिश–गोर्खा तुलसी गुरुङ हङकङ खेलकुद परिषद्को प्रमुख प्रशिक्षक बनेका छन्।

कास्कीका तुलसी गुरुङ ब्रिटिश–गोर्खामा छँदा फिजिकल फिटनेस प्रशिक्षक थिए। तेक्वान्दोको सातौं डन ५२ वर्षीय गुरुङ १६ वर्षअघि १९९७ मा सेनाबाट रिटायर्ड भएपछि हङकङमै बसेर ‘बडी गार्ड’ प्रशिक्षकको रुपमा सक्रिय भए। हङकङ तेक्वान्दोका खेलाडी तथा खेलकुद परिषद्को फिजिकल प्रशिक्षक रहिसकेका उनी अहिले हङकङ खेलकुद परिषद्को प्रमुख प्रशिक्षक बनेका छन्।
आफू राष्ट्रिय प्रशिक्षक भएपछि हङकङका खेलाडीहरूले थप प्रगति गरेको उनी बताउँछन्। उनका भनाइमा, पहिले हङकङका खेलाडीहरूको सीपलाई बढी र मानसिक–शारीरिक फिटनेसलाई कम महत्व दिइन्थ्यो। आफूले गोर्खा पल्टनमा हुँदा अनुभवको आधारमा खेलाडीहरूको सीपसँगै शारीरिक–मानसिक फिटनेसमा ध्यान दिएपछि उनीहरूको प्रदर्शनमा सुधार भएको गुरुङ बताउँछन्।
१६ वर्षको उमेरमा सन् १९७८ मा ब्रिटिश–गोर्खामा भर्ना भएका गुरुङले नेपाली खेलकुदमा पनि गौरवपूर्ण अनुभव सँगालेका छन्। उनी विदामा घर फर्केका वेला नेपालको प्रथम राष्ट्रिय खेलकुदमा पौडीतर्फको स्वर्ण पदक जितेका थिए भने दोश्रो राष्ट्रिय खेलकुदमा तेक्वान्दोतर्फ राष्ट्रिय च्याम्पियन बनेका थिए। नेपाली पासपोर्ट वाहक रहेका उनी आफ्नो देशको लागि पनि केही न केही गरी नै रहेका छन्। “खास गरेर नेपाली भाषा संस्कृतिका लागि आम्दानीको १० प्रतिशत खर्च गरिरहेको छु”, ३५ वर्षदेखि विदेशमा रहेका गुरुङ भन्छन्।
उनकै आर्थिक सहयोगमा कास्कीमा एउटा विद्यालय संचालित छ भने हङकङमा हङकङ नेपाली तेक्वान्दो एसोसिएसन (एचकेएनटीए), पोखरेली झ्याल र सहारा क्लब लगायतका संस्था मार्फत समाजसेवा गरिरहेका छन्। अब नेपाल तेक्वान्दो एसोसिएसनको सहकार्यमा नेपाली खेलाडीहरूलाई हङकङमा तालीमको प्रबन्ध मिलाउन खोजिरहेको गुरुङले बताए।

Monday, February 3, 2014

हिमालयनलाई संकटाले हरायो


काठमाडौं– हिमालयन शेर्पालाई हेराउँदै संकटा क्लब राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ।
भर्खरै सम्पन्न खेलमा संकटाले हिमालयनमाथि २–१ को जित हात पार्‍यो। संकटाका लागि राजीव गुरुङले खेलको ६५ औं मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको पाँच मिनेट नबित्दै कालु थापाले संकटाका लागि दोस्रो गोल गरे। खेल सकिन केही मिनेट मात्र बाँकी रहँदा हिमालयन शेर्पाका पासाङ लामाले गोल गर्दै हार अन्तर कम गरेका थिए। यसअघि हिजोको खेलमा जावलाखेल र नेपाल पुलिस क्लव विजयी भएका थिए।

Saturday, January 25, 2014

ए डिभिजन लिगमा मनाङलाई तीन अंकको अग्रता

११ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मस्र्याङ्दीले ३ अंकको अग्रता कायम गरेको छ ।

शनिबार भएको खेलमा संकटालाई २–० ले पराजित गरेको मनाङको ८ खेलबाट १९ अंक भएको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको थ्रीस्टारको १६ अंक छ भने तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटले मनाङलाई ६० मिनेट बढीसम्म रोकेको थियो । तर, ६६ औं मिनेटमा योनाले शुलभ मास्केको पासमा गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा अनिल गुरुङले शिव श्रेष्ठको पासमा गोल गर्दै मनाङको जित पक्का गरे ।
अर्को खेलमा जाउलाखेलले ब्वाइज युनियनलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसका लागि खेलको पााचौं मिनेटमा भेट्रान खेलाडी प्रदिप महर्जनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ८ खेलबाट १० अंक जोडेको जाउलाखेल ११ औं स्थानमा छ र उसले रेलिगेशनको खतरा टार्दै लगेको छ । ब्वाइज युनियनको ८ खेलबाट ४ अंक छ भने पुछारमा रहेको आरसीटीको ९ खेलबाट १ अंक मात्र छ ।

Sunday, September 1, 2013

रंगशाला छिर्न खोज्दा ३ जना घाइते

काठमाडौं, भदौ १५ (नागरिक)– बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय टोलीको फुटबल हेर्न चोर बाटोवाट रंगशाला छिर्न खोज्ने तीन पर्खाल र रुख ढलेर घाइते भएका छन् ।काठमाडौं— आठौं साफ च्याम्पियनसिपको उदघाटन खेल हेर्न उत्तरपट्टीको सेना गेटबाट छिर्न खोज्नेलाई पर्खाल भत्किएर तथा रुख ढलेर थिचेको प्रहरीले जानकारी दिएको छ ।

रंगशाला छिर्न खोज्ने हजारौंको भिड लागेका बेला पर्खालको डिल भत्किएको थियो । पर्खाल भत्किएर इटाले टाउकोमा लाग्दा पाँच वर्षका एक वालक गम्भिर घाइते भएका थिए भने रुख डलेर च्याप्दा अन्य दुई सामान्य घाइते भएका थिए । घाइतेहरुलाई तत्काल उपचारार्थ वीर अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । खेल सुरु हुनुभन्दा आधा घन्टाअघि साँझ ६ बजे घटना भएको थियो।
खेल सुरु हुनुभन्दा घन्टौं अघिदेखि त्रिपुरेश्वर क्षेत्रमा रंगशाला छिर्न खोज्ने दर्शकको चहलपहल भइसकेको थियो । बिहान ११ बजेदेखि सबै टिकट विक्रि काउन्टरमा लामो लाइन सुरु भइसकेको थियो । खेल हुन एक घन्टा बाकी रहँदा नै रंगशाला पूरा भरिएको भन्दै मुलगेटका सुरक्षाकर्मीले टिकट भएकालाई समेत प्रवेशमा रोक लगाएपछि केहीवेर नारावाजी भएको थियो ।

प्रहरीले सुरक्षा व्यवस्थाको जिम्मा लिदै टिकट भएकालाई छिराएपछि माहोल शान्त भएको थियो ।

प्रतियोगिताको स्थानीय आयोजक अखिल नेपाल फुटबल संघले नेपाली टोलीको सफलतासँगै खेलदौरान कुनै दुर्घटना नहोस भन्ने कामनाका साथ रंगशालामा संकल्प पूजाका साथ पञ्चबलि गरेको थियो ।

शनिवारको खेलको सुरक्षामा महानगरिय प्रहरी आयुक्त कार्यालयले एक हजार बढी प्रहरी परिचालन गरेको थियो । खेलाडी, मुल गेट, र दर्शकदिर्घाको सुरक्षामा प्रहरी खटिएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमूख डिएसपी उमेश जोशीले जानकारी गराए । प्रहरीसँगै गरुड सेक्युरिटिजका सुरक्षाकर्मीहरु रंगशालामा परिचालन भएका थिए ।

प्रतियोगिता अवधीभर विभिन्न देशका खेलाडी बसेका होटल र उनीहरुको आवतजावतका लागी समेत प्रहरी खटाइएको आयुक्त कार्यालयले जानकारी दिएको छ ।

होटल पेरिमिटलको सबै सुरक्षालाई प्रहरी खटाइएको छ । प्रतियोगिताका लागि आएका सबै टोलीका खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीलाई चौविसै घन्टा प्रहरीको स्कर्टिङ उपलब्ध गराइएको छ ।

दशरथ रंगशालाको सुरक्षाका लागिमात्र १ हजार सुरक्षाकर्मी खटाइएको छ भने विभिन्न टोलीका लागि खटाइएकासहित साफ च्याम्पियनसिपलाई नेपाल प्रहरीले १ हजार ५ सय प्रहरी परिचालन गरेको महानगरीय प्रहरी घटना सहायता कार्यदलबाट डिएसपीको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको आयुक्त कार्यालयका एक अधिकारीले जानकारी गराए ।

Thursday, August 1, 2013

कुकुरसहितको म्याराथुनमा नेपाली युवा विजयी

वेल्जियम। गत वर्षको डिसेम्वरमा कल्याणकारी राज्यको अवधारणा व्याख्या गर्दै विविसि नेपाली सेवाका सम्पादक रविन्द्र मिश्र वेल्जियम ओर्लँदा सन्तोष खड्का जस्ता धेरै नेपालीहरुले उनलाई साथ दिए। मिश्रले अगुवाइ गरेका परोपकारी कार्य वाट प्रभावित नहुने कमै होलान् तर थोरैले मात्र परोपकारलाई अगाडि वढाउने प्रण गर्छन्। अरुको अभियानमा सहयोग गर्ने मानिसको कमि छैन वेल्जियममा तर आफैले नयाँ अभियानको

शुरुवात गरेका व्रसेल्स निवासी नेपाली युवाले सफलता कथा रचेका छन्।
 ‘अक्सफान यूके’ ले वेलायतको ट्रेलवाल्करमा आयोजना गरेको सय किलोमिटर दूरी निर्धारित समय अगावै सम्पन्न गरेर सन्तोष को समुह ‘सिल्भर कप’ विजेता वनेको छ। तीस घन्टा भित्र तोकिएको दूरी पार गर्नुपर्ने प्रतिस्पर्धामा आधा भन्दा वढी सहभागीहरु ‘क्वलिफाईड’ नै हुन सकेनन् तर प्रतिकुल मौसम र सामान्य स्वास्थ समस्याको वावजुद पनि पच्चीस घन्टामा सय किलोमिटरको उकाली ओराली गरीछाडे उनले।गरीवीको कारण शिक्षा हासिल गर्न नसकेका वालवालिकाहरुको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले दौड अविधि भर उनीहरुलाई उत्साहित गरिरह्यो सफलता हात पार्न।
उद्देश्य किटान गरेपछि लक्ष्यमा पुग्न त्यती कठीन नहुने अनुभव उनको टिमको छ। एउटा कुकुर र आफ्नै भाइलाई समुहमा समावेश गरेका उनले थकाइको वारेमा सोच्ने विचार नै गरेनन्, न त असफताको शंका नै गरे। जसरी पनि असल नागरीकको दायित्व पुरा गर्नपर्छ भन्ने आफ्नो मन मष्तिष्कमा लागेको स्मरण गर्छन् उनी यतिखेर। थकित शरीर तर प्रफूल्लित मुद्रामा व्रसेल्स आइपुगेका सन्तोष अन्य परोपकारी कार्यमा आफूहरु विस्तारै संलग्न हुने वताए।1
 ‘वेवु युनाईटेड’ नाम दिईएको उनको टिमले सवैको सहयोग पाएको छ। करिव सत्र सय पाउन्डको सहयोगको अपेक्षा गरेका उनीहरुले हालसम्म झण्डै दुई हजार पाउण्ड संकलन गरिसकेका छन्। उक्त रकम नेपाली वालवालिकाहरुको शिक्षामा खर्च गरिने आयोजकले जनाएको छ भने अन्य स्रोतहरु समेतबाट रकम संकलन हुनेछ।प्रतियोगिताका द्वितीय श्रेणी हासिल गरेका उनको टिमले प्राप्त गर्ने पुरस्कार समेत परोपकारी कार्यमा खर्च हुने वताइएको छ। सानो रुपमा भएपनि यसले अरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना जगाउने अपेक्षा गरेका सन्तोष वताउँछन्।
प्रतिपर्धा मार्फत सानो सहयोग उपलव्ध गराउन सफल भएतापनि यसको श्रेय भने आफ्ना शुभचिन्तक मित्रहरुलाई दिन्छन्। नेपाली गोर्खाली सैनिकको सहयोगको उनी विशेष प्रशंसा गर्छन् भने यस अभियानलाई आर्थिक र नैतिक समर्थन गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीवहिनीहरु प्रति आफ्नो फेसवुक मार्फत ‘हार्दिक धन्यवाद’ लेखेका छन्।