Sunday, September 1, 2013

नृत्य नै मेरो ब्वाइफ्रेन्ड हो




'वास्तवमा मलाई फरक अन्तर्वार्ता दिन मन थियो,' पार्वती राईको सुरिलो आवाज गुञ्जियो, 'आज त्यो रहर पूरा हुने भयो।' नयाँ बानेश्वरस्थित एउटा क्याफेको कुनामा उनी आफ्नो संघर्ष, सफलता र जीवनको भित्री पाटो खोतल्न आतुर थिइन्।

'आज घडी लगाउन छुटाएछु।' आफ्नै हाततिर नजर लगाउँदै पार्वतीले मुख खोलिन्, 'प्रायः म ठूलो साइजको घडी लगाउन मन पराउँछु।' विशेष गरी दोहोरी र तीज गीतको म्युजिक भिडियोकी 'हट् केक' राई गगल्सकी सौखिन हुन्। कतै निस्कँदा उनका आँखाहरू गाजलले सजिएका हुन्छन्, ओठहरू लिपिस्टकले पोतिएका हुन्छन्। कोठामा ८/१० वटा गगल्स छन्। बजारमा नयाँ आइटमको गहना आयो कि उनलाई किन्न मन लागिहाल्छ। सुनभन्दा चाँदीका गहनाप्रति उनको मन बढी लोभिन्छ। उनी घर बाहिर निस्कँदा इयर रिङ लगाउन छुटाउँदिनन्। सबैभन्दा बढी मनपरेको गहना भएर होला घरमा इयर रिङकै संख्या बढी छ, तर कति छ, उनलाई ठ्याक्कै सम्झना छैन। थरीथरीका औंठी त्यस्तै १५/२० वटा भएको अनुमान गर्छिन्। त्यसबाहेक आफ्नै कमाइले किनेको सुनको सिक्री, एकजोर चाँदीको बाला र नेकलेस छ।

'कमाएको पैसा सपिङ र मेकअपमै त जान्छ।' कफीको चुस्कीमा पार्वतीका गुलाबी ओठहरू चलमलाए, 'तर म बचत पनि गर्छु।' एकपटक सपिङ गर्न जाँदा २०/३० हजार रुपैयाँ खर्च हुने उनले बताइन्। टि-सर्ट, पाइन्ट र वानपिस लगाउन सबैभन्दा सजिलो लाग्छ। लेहंगा र झुमरमा उनको मन बसेको छ। दौडधूपको दैनिकी हुनाले सारी-कुर्ता लगाउन उनलाई अप्ठ्यारो लाग्छ। सुरु-सुरुमा थाइकट मन परे पनि यतिबेला भने रहर फेरिएको छ। उनी अहिले लामो केश पाल्न रुचाउँछिन्। रातो मेहन्दीले हाइलाइट गरिएको उनको लामो केश कुमको अगाडि पट्टी छाडेको खुब सुहाएको देखिन्थ्यो।

पार्वतीलाई तीन वर्षअघि म्युजिक भिडियोमा नाच्ने अवसर जुर्‍यो। राजु गुरुङ र मुना थापा मगरले स्वर भरेको हेर्छौं ओठ टोकी गीतमा उनको पहिलो प्रस्तुतिले आमदर्शकको मन जित्यो, त्यसैबाट उनको पहिचान बन्यो। यतिबेला हरेक दर्शकको मुखमा झुन्डिने प्रायःजसो लोकदोहोरी तथा तीज गीतका म्युजिक भिडियोमा पार्वतीलाई नै देख्न पाइन्छ। पार्वतीको विचारमा एउटा राम्रो म्युजिक भिडियो बन्नुमा मुख्यतया निर्देशकको हात हुन्छ र त्यसपछि कलाकारको अभिनय आउँछ। हात, मुद्रा र हरेक स्टेपमा स्पष्टता भएकै कारण आफू अरूभन्दा भिन्न देखिएको उनी बताउँछिन्।

पार्वतीलाई कहिलेकाहीँ छिटो दौडिएँ कि जस्तो पनि लाग्छ। उनले दिनमा कम्तीमा एउटा बढीमा तीनवटा म्युजिक भिडियोमा काम गर्न भ्याएकि छिन्। दुई वर्षअघि १ लाख ६० हजार रुपैयाँ खर्चेर किनेको स्कुटरले उनको जीवन सहज बनाएको छ। एकाबिहानै जोरपाटीस्थित निवासमा उनलाई लिन सुटिङको गाडी आइपुग्छ। सुटिङ स्पटमा चना, चिउरा र अण्डाबाट सुरु हुने दैनिकीले अबेर साँझ मात्र विश्राम पाउँछ। कुनै दिन त राति अबेरसम्म सुटिङमै व्यस्त भइन्छ। राई समय र मागअनुसार चल्न सिपालु छिन्। त्यही व्यस्तताले ब्युँझिने र सुत्ने दैनिकी एकै प्रकारको छैन। कामअनुसार फेरबदल भैरहन्छ। उनलाई जतिबेला पनि काममा व्यस्त भैरहन मन लाग्छ। 'काम भएन भने त बहुलाउँछु होला,' जोसिँदै राईले सुनाइन्, 'घरमा एकछिन पनि बस्न सक्दिनँ।' पार्वती फुर्सदमा घर सफा गरेर वा फेसबुक चलाएर बस्छिन्। उनलाई बढीजसो त काममै डुबिरहन मन लाग्छ। प्रतिस्पर्धाको जमाना छ। भीड ठूलो छ। यद्यपि यसो भन्दैमा उनी कत्ति पनि डराएकी छैनन्। कडा परिश्रम गर्दै सधैं पहिलो हुन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ।

'आफूलाई दोहोरी म्युजिक भिडियोकी हट् केकजस्तो लाग्छ।' मुसुक्क मुस्कुराउँदै पार्वतीले सुनाइन्, 'सबैले खान खोज्छन् नि।' नृत्यले नै उनलाई कोरिया, हङकङ, कतार अनि मलेसिया पुर्‍यायो। स्वदेश र विदेशमा पार्वतीले कैयौं त्यस्ता दर्शक भेटिन् जसले उनले अभिनय गरेका म्युजिक भिडियो मोबाइलमा डाउनलोड गरेर राखेका थिए। 'तपाईंको नाच हेरेपछि हामीलाई पनि नाचौं-नाचौं लाग्छ, ऊर्जा मिल्छ, अरू हेर्नै मन लाग्दैन।' भन्दै दर्शकहरूले प्रेम दर्शाएपछि उनमा बिछट्टै आनन्दको अनुभूति हुन्छ। उनको सफलताप्रति परिवार तथा उनको समुदायले पनि गौरव गरेको छ। उनका बुबा भक्तबहादुर, 'मेरो छोरी जस्तो राम्री कोही छैन।' भन्दै फुक्र्याइदिनुहुन्छ। फुर्कन्छिन् पनि उनी तर काममा भने पटक्कै सम्झौता गर्दिनन्।  दुनियाँले उनको तृत्यको प्रशंसा गर्छ। उनी आफैंलाई भने भयंकर राम्री मान्दिनन्। ठिक्ककै छु जस्तो लाग्छ तर 'नृत्य' भने भगवान्ले आफूलाई दिएको उपहार हो भन्ने कुरामा उनलाई कुनै शंका छैन। आफ्नो नृत्यमा अझ त्यस्तो चुम्बकीय शक्ति मिसाउन मन छ, जसलाई हेरेर सारा दुनियाँ भुलोस्। उनी एक्लै हुँदा गीत बजाएर कोठाको ऐना हेर्दै नाचिरहन्छिन्। नाच्दा-नाच्दै आफैंमा हराउँछिन्। खुट्टा दुखे पनि त्यसको कुनै अनुभूति नहुँदो रहेछ। यसरी एक्लै नाच्दा बेग्लै प्रकारको आनन्द मिल्छ। नयाँ पोज र स्टेप पनि सिकिने रहेछ। पार्वतीलाई चौबीसै घन्टा नाच्दा पनि थाक्दिन जस्तो लाग्छ। आफ्नो रगत-रगत र नशा-नशामा नृत्य नै बगेझैं लाग्छ। साँच्चिकै शिवको 'पार्वती नै हुँ कि' भन्ने पार्वती नृत्यका लागि जुनसुकै चिज पनि त्याग्न तयार छिन्। जुन दिन नाच्न छाडिन्छ, त्यो दिन संसार नै छाड्छु कि जस्तो लाग्छ। कहिलेकाहीं पूर्वजन्ममा इन्द्रको दरबारमा नाच्ने अप्सरा नै थिएँ कि झैं पनि लाग्छ।

उदयपुरको लेखानीमा जन्मिएकी, काठमाडौंको जोरपाटीमा हुर्किएकी पार्वती स्कुल, कलेजमा 'हिरोइन' भन्दा कम थिइनन्। नृत्य प्रतियोगिता हुँदा उनले हरेक पटक बेस्ट डान्सरको उपाधि हात पारिन्। टेलिभिजनमा हिरो-हिरोइन नाचेको हेर्दै त्यस्तै गर्न खोज्थिन्। सारंगा श्रेष्ठको नृत्य, करिश्मा मानन्धरको अभिनय एवं रेखा थापाको निडरपन उनलाई खुब मनपर्छ। मामाघर र आफन्तहरूको घर पुग्दा खुब नाच्थिन्। सबैले उनको कानमा पैसा सिउरिदिन्थे। त्यसपछि त उनी अझ उत्साहित हुँदै नाच्न थाल्थिन्। अतिरिक्त क्रियाकलापमा सक्रिय पार्वती अरुणिमा उमाविको गल्र्स हाउसकी क्याप्टेन थिइन्। कराँतेको ब्ल्याक बेल्ट हात पारेकी राई सुरु-सुरुमा त केटा जस्तै थिइन्। टोलका कतिपय केटालाई कुटेको अनुभव पनि सुनाइन् उनले। केटाहरूसँग स्वभाव मिलेकाले परिवारमा उनलाई जेठा छोरा पनि भनिन्थ्यो। जे गरे पनि इज्जतिलो काम रोज्नुपर्छ र पहिलो नै हुनुुपर्छ भन्दै बुबाले हौस्याएपछि उनमा जोस थपिन्थ्यो। त्यो बेला चर्चित हिरोइन बन्छु जस्तो लाग्थ्यो। बिस्तारै-बिस्तारै थालेको अभ्यासले यतिबेला पूर्णता पाउने क्रममा छ। राईले कौडा, मारुनी, घाटु, सालैजो, टप्पा, साकेला, धिमालजस्ता सांस्कृतिक नृत्यहरूसँगै साल्सा, बिबोइङजस्ता आधुनिक नृत्य पनि सिकिसकेकी छिन्। आफ्नो पेसालाई समाजले हेर्ने दृष्टिकोण फेर्नुपर्ने धारणा छ उनको। अरू पेसा जस्तै यसलाई पनि सम्मान र इज्जत गरिदिए हुन्थ्यो भन्ने लाग्छ।

पार्वतीले तीजमा व्रत बस्न थालेको धेरै भैसक्यो। एकपटक पानी पनि नखाई व्रत बस्दा उनी ज्वरोले थलिइन्। अचेल उनी पानी र फलफूल खाएर व्रत बस्ने गरेकी छिन्। पार्वती व्रत बस्दा पढे लेखेको, राम्रो, माया गर्ने, केयर गर्ने वर पाउँ भन्ने कामना गर्छिन्। उनलाई बानी, बेहोरा, आचरण राम्रो भएका पुरुष मनपर्छन्। हरेक मंगलबार गणेश मन्दिर जाने, पूजा गर्ने बानी छ उनको। पार्वती बिहीबार माछा, मासु खादिनन्। धर्मकर्म, पूजापाठप्रति अगाध आस्था छ। उनले यो प्रेरणा आमा मिथिलाबाट पाएकी हुन्। यसै वर्ष लोकदोहोरी प्रतिष्ठानबाट दोहोरी बेस्ट नायिकाबाट सम्मानित भएकी पार्वती सधैं खुसी रहन चाहन्छिन्। दुःखलाई जहाँ छ त्यही छोडिदिन्छिन्। जिस्किने, नलजाउने र फरासिलो स्वभाव छ उनको। मुडअनुसार गीत सुन्न मन लागे पनि शान्त वातावरणमा भने बाँसुरीको धुनमा मन रमाउँछ। साथीभाइ जम्मा भएका बेला उनीहरूलाई गाउन लगाएर आफूलाई नाचिहाल्न हतार हुन्छ। नेपाल टेलिभिजनले आयोजना गरेको छमछमी कार्यक्रममा उत्कृष्ट पाँचभित्र पर्न सफल भए पनि पहिलो नहुँदा उनलाई एकदम नरमाइलो लागेको थियो। 'म त्यो बेला खुब रोएँ।' पार्वती केही भावुक देखिइन्, 'त्यसले मलाई डिप्रेस पनि बनायो।'

पार्वतीलाई कुकिङमा खुब रुचि छ। रेसिपी हेरेर घरमा कतिपय परिकार आफैं बनाउँछिन्। आलुका परिकार, माछा, मासु, पुलाउ, खिर, सेलरोटी, चाउमिन, साँधेको सुकुटीजस्ता परिकार मीठो बनाउने पार्वतीको एकताका नारायणटारमा होटल पनि थियो। आमालाई सघाउने क्रममा उनले सबै परिकार बनाउन सिकिन्। घरमा सबैले तिमीले बनाएको मीठो हुन्छ भन्दै फुक्र्याउँछन्। घरमा पाहुनाहरू पुग्दा उनी नै विभिन्न परिकार बनाउन तम्सिन्छिन्। साथीभाइहरूसमेत उनको हातको मीठो खाजा खान उनको घरमा पुग्छन्। पार्वती आफैंलाई भने दूध, फलफूल, दही, मोही, घिउका साथै अनार र स्याउको जुस मनपर्छ। रेस्टुराँ छिर्दा मेनुमा मःम नै उनको रोजाइमा पर्छ। पहिले-पहिले त तोङवा र झ्वाँइखट्टे खाने बानी थियो।

पार्वतीलाई प्रेम प्रस्तावभन्दा विवाहका प्रस्ताव बढी आउँछन्। अहिलेसम्म कसैसँग प्रेम नगरेको र डेटिङ नगएको बताउने राई सकभर ढिलो विवाह गर्ने सोचमा छिन्। अहिले त काममै समर्पित हुने चाहना छ। कतै अल्झेर, बाँधिएर कामको गती रोक्न चाहन्नन् उनी। पार्वतीले आफ्नो कामलाई नै ब्वाइफ्रेन्ड मान्छिन्। कहिलेकाहीँ विवाहित जोडीहरूले झगडा गरेको देख्दा, मनमुटाव भएको देख्दा विवाह नै नगरौं कि जस्तो पनि लाग्छ। बुबासँग भने ठूलो पार्टी प्यालेसमा विवाह गराइदिनु भनेर ठट्टा गर्छिन्। भोजमा मात्र ५-७ लाख रुपैयाँ सिध्याइदिन्छु भन्न पनि पछि पर्दिनन्। जोरपाटीका व्यापारीकी छोरी पार्वतीलाई धेरैले लाहुरेकी छोरी मान्छन्, होइन भनेर अरूलाई आश्वस्त तुल्याउन खोज्छिन् उनी। आफ्नो नाक, मुस्कान, दाँत तथा चिउडो उनलाई मनपर्ने अंग हुन्। उनी जति रिस उठे पनि हरपल मुस्कुराइरहन्छिन्। सुटिङ स्पटमा कहिलेकाहीं ढिलो पुग्दा जब उनी मुसुक्क मुस्कुराउँछिन्, निर्देशकहरूको रिस त्यतिकै सेलाउँछ। त्यतिबेला उनलाई लाग्छ- मुस्कानले पत्थरलाई पनि पगाल्न सक्छ।

पार्वतीको अनुभबले भन्छ, जीवनमा रिस्क लिने हो भने सफलता मिल्छ। 'नत्र त नयाँ कुरा गर्नै सकिँदैन।' नङमा रातो नेल पोलिस पोतिएका औंलाहरूले कफिको कप उठाउँदै राइले भनिन्, 'मान्छेको जीवन त्यत्ति सजिलै कहाँ पाइएको हो र ?' बेलाबेला आफ्नै जीवन उनलाई सपना जस्तो लाग्छ। एउटा कुरा सोच्दा अर्कै भैदिन्छ। एकातिर जान खोज्दा अर्कैतिर पुगिन्छ। जहाँ पुगे पनि हार नखाने बानी छ उनको। 'संघर्ष जारी राखे अवश्यै जित हुन्छ।' यसोभन्दा उनको मुहार उज्यालो देखियो। त्यति बेलासम्म कफीको चौथो कप रित्तिइसकेको थियो।

तपाईंको स्वभाव कस्तो छ ?

मिलनसार, हँसिलो, फरासिलो।

ब्वाइफ्रेन्ड छ ?

मेरो काम नै मेरो ब्वाइफ्रेन्ड हो।

कसैसँग चक्कर चलेको छैन ?

आफ्नो कामबाहेक कसैसँग छैन।

विवाह कहिले गर्ने ?

विवाहितहरूले झगडा गरेको देख्दा नगरौं कि जस्तो लाग्छ।

आफ्नो कुन अंग मनपर्छ ?

चिउँडो।

पुरुषको कुन अंग मनपर्छ ?

अंगभन्दा पनि व्यक्तित्व मनपर्छ।

व्रत बस्नुहुन्छ ?

बस्छु।

केका लागि ?

माया गर्ने, राम्रो बर पाऊँ भनेर।

पहिलो पारिश्रमिक

२० हजार -सोल्टी क्यासिनोले आयोजना गरेको नृत्यमा दोस्रो भएबापत)।

निरन्तर चौबीसै घण्टा के गर्न सक्नुहुन्छ ?

नाच्न।

नाच्न छोडेको दिन ?

यो संसार त्याग्छु होला।

झोलामा कुन सामान छुट्दैन ?

पर्स, मोबाइल र चार्जर।

पर्समा कति पैसा बोक्नुहुन्छ ?

२-३ हजार।

ज्योतिषलाई हात हेराउनुहुन्छ ?

कहिलेकाहीँ।

केमा रुचि छ ?

खाना पकाउन।

सपना देख्नुहुन्छ ?

देख्छु, हिरोसँग फिल्म खेलेको, नाचेको, कुनै बेला भूतले लखेटेको।

मनपर्ने ग्याजेट

सामसुङ ग्यालेक्सी एसफोर।

मनपर्ने कलाकार

सारंगा, करिश्मा तथा रेखा।

लक्ष्य

नृत्यसम्बन्धी स्कुल खोल्ने।

Saturday, August 31, 2013

गएराती भुईचालो गएको ठाउँ नजिक आज विहान फेरी अर्को भुईचालो गयो

काठमाडौं, भदौ १५ - (अपडेट) शुक्रबार राती देशका बिभिन्न ठाउँमा भूकम्पको ठूलो धक्का महसुस गरिएको छ । राति ११ बजेर ३५ मिनेट जाँदा तिब्बत केन्द्रबिन्दू भएको ६ रिक्टर स्केलको भूकम्प गएको हो ।



 
दोलखाको जिरीबाट ५५ किलोमिटर उत्तरमा पर्ने तिब्बतमा केन्द्रबिन्दु भएका भूईचालोबाट देशका धेरै ठाउँमा धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरका प्रमुख डाक्टर सोमनाथ सापकोटले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।
चिनियाँ समाचार एजेन्सी सिन्हवाले भने सिचुवान र युनान प्रान्तको सिमा क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्र बनाएर ५ दशमलव ९ रिक्टर स्केलको भुकम्प गएको जनाएको छ । अमेरिकी भुगर्भ विभागले भने भूईचालो ४ दशमलव ९ रिक्टर स्केलको भएको जनाएको छ ।

भूकम्पको धक्काले ठूलो क्षति नपुगेपनि केहीघरमा सामान्य क्षति पुगेको र भाग्ने क्रममा केही सामान्य घाईते भएका छन । भूकम्पको धक्का महसुस भए लगत्तै काठमाडौंका धेरै बासिन्दा राति घर बाहिर निस्किएका थिए ।

शुक्रबार राती भुईचालो गएको केन्द्रबिन्दु नजिकै शनिबार विहान ३ बजे पनि ५ रिक्टर स्केलको भुईचालो गएको छ । त्यस्तै बिहान ६ बजेर १३ मिनेट जाँदा चीन, भुटान र भारतीय सीमाक्षेत्रमा पर्ने जि झाङ्ग क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब १ रिक्टर स्केलको भुईचालो गएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन ।

Wednesday, August 28, 2013

माई बडी माई राइट्स


विश्वव्यापी रूपमा बलियो नाराका रूपमा अघि बढेको माई बडी माई राइट्सको अवधारणा नेपालको सन्दर्भमा पनि लागू हुने क्रममा छ।

समग्र जनमानसका लागि माई बडी माई राइट्सको अवधारणा उत्तिकै र समान हिसाबले लागू गरिनुपर्ने भए पनि महिलाको हकमा यस किसिमको अधिकार बढी मात्रामा प्रयोगमा आउनुपर्ने जानकारहरू बताउँछन्। महिलामा रहेको प्रजनन् क्षमतासँग प्रत्यक्ष सरोकार राख्ने यो विषयले शारीरिक अधिकारमा निहित समग्र कुरालाई समेट्छ। यसले हामी र हाम्रो भन्दा पनि म र मेरो भन्ने बुझाउँछ अर्थात् मलाई के मन पर्छ वा पर्दैन ? मैले चाहेको के हो ? खोज्न बाध्य तुल्याउँछ। १०३ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर एमनेस्टी इन्टरनेसनललगायत ६० वटा अधिकारवादी संस्थाले निकालेको वर्ष २०६९ को र्‍यालीको मूल नारा माई बडी माई राइट्स नै थियो। यो विषयले नेपालमा पनि विस्तारै -शिक्षित वर्गबीच) आफ्नो पक्षमा वातावरण सिर्जना गर्दैछ। 


माई बडी

मेरो शरीर...माई बडीको नेपाली शब्द हो। यसले शरीरभित्र निहित सम्पूर्ण अंगका लागि आवश्यकता दर्शाउँछ। मन, इच्छा, चाहना, भावना र आवश्यकता यी सारा चीज यही शरीरभित्र निहित छन्। जीवनपर्यन्त आवश्यक पर्ने चाहना, भावना, इच्छा आकांक्षालगायत, जिउने आधार तयार पार्ने संयन्त्र शरीरका लागि नितान्त नभई नहुने कुरा हुन्। माई बडीको सिद्धान्तले सर्वप्रथम त आफूलाई माया गर्न सिकाउँछ भने आफ्नो शारीरिक हिफाजतका लागि सचेत गराउँछ। माई बडी अवधारणाका पक्षपातीहरू सर्वप्रथम आफ्नो हित एवं अधिकारका बारेमा सधैं सचेत रहन्छन्।

माई राइट्स

माई राइट्स अर्थात् मेरो अधिकार। यसले स्वअस्तित्व र स्वनिर्णयको अधिकारका सम्बन्धमा प्रस्ट्याउँछ। यसको शाब्दिक अर्थ स्वनिर्णय नै हो जसले अधिकारलाई स्वतः अघि सार्छ। मेरा वरिपरिका हाम्रा भनिने जति पनि चीज छन् यो ती सबैभन्दा अघि अर्थात् अग्रपंक्तिमा रहन्छ। माई राइट्सको अवधारणालाई स्वीकार गर्नेहरू आफ्नो इच्छा, आकांक्षा, चाहना र भावनालाई मार्दैनन्। उनीहरू सधैं आफू र आफ्नो अधिकारप्रति सजग रहन्छन्। यसले व्यक्तिलाई म भएर बाँच्न सिकाउँछ। आफूमा भएका जति पनि कुरा छन् तिनलाई सर्वपि्रय मान्नेहरू नै यो सिद्धान्तका पक्षधर हुन्। उनीहरू आफ्नो हकका लागि हरदम तयार रहन्छन्। एउटा व्यक्ति विभिन्न भूमिकामा बाँधिए पनि आफूलाई प्रबल तुल्याउन सधैं तत्पर रहन्छ। 

माई बडी र माई राइट्स अन्तर सम्बन्ध

मेरो शरीर मेरो अधिकार...माई बडी माई राइट्सको नेपाली संस्करण हो। यसले मेरो अर्थात् आफ्नो शरीरमाथिको अधिकार मात्र ममा अर्थात् आफैंमा निहित हुनुपर्छ भन्ने कुरा जनाउँछ। संसारका प्रायः मुलुकका नागरिक यो अधिकारप्रति सचेत छन् तर नेपालमा भने माई बडी माई राइट्स इन्जोय गर्ने महिलाको संख्या कमै देखिन्छ। विशेषतः यो सिद्धान्त महिलाको प्रजनन्सँग प्रत्यक्ष रूपमा जोडिएर आउँछ। बच्चा कहिले जन्माउने, कति जन्माउने वा कति समयको अन्तरालमा जन्माउने, अनिच्छित गर्भ रहेको अवस्थामा राख्ने वा नराख्ने, महिनावारी बार्ने कि नबार्ने आदिका साथै शारीरिक सम्पर्कको विषयमा पनि यसले सरोकार राख्छ। नचाहँदा नचाहँदै पनि भू्रण हत्या गर्नुपर्ने, छोरा जन्माउन अन्य दर्जनौं सन्तान जन्माउनुपर्ने, अनिश्चित शारीरिक सम्पर्कमा सरिक हुनुपर्ने आदि नेपाली नारीका बाध्यता छन्। त्यस्तो अवस्थामा माई बडी माई राइट्सको अवधारणा गौण रहन्छ। कतिपय आधुनिक नेपाली नारीले मौलिक हकभित्र समेटिएको प्रजनन् अधिकार तथा  वैवाहिक बलात्कारका मुद्दालाई बुझेका छन् उनीहरू माई बडी माई राइट्सलाई राम्रोसँग प्रयोग गरिरहेका पनि छन्। यो सिद्धान्तको प्रयोगले महिलालाई स्वतन्त्र रूपमा सशक्त बनाउँछ जसले उनीहरूको वृत्ति विकासका साथै आफू हुनुमा गर्वानुभूति गराउँछ। यस किसिमको अधिकार उपभोग गर्ने महिला शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुका साथै उनीहरूको करियर विकास पनि दु्रत गतिमा भएको पाइन्छ।

सरिता ज्ञवाली, व्यवस्थापक, सदर चिडियाखाना

माई बडी माई राइट्सको अवधारणा संसारका अन्य मुलुकमा दशकौंअघि मौलाएको हो तर हाम्रो देशमा यसको प्रभाव भर्खरै मात्र देखिन थालेको छ। यो अवधारणा समग्र जनमानसका लागि उत्तिकै आवश्यक देखिए पनि महिलाको हकमा यसले बढी सरोकार राख्छ किनभने प्राकृतिक रूपले नै महिलामा फरक र केही थप विशेष गुण हुने हुनाले यसको प्रभाव बढी देखिएको हो। गर्भधारण गर्न, बच्चा जन्माउन, स्तनपान गराउन महिलाले मात्र सक्छन्। मूलतः माई बडी माई राइट्सको उपयोग र प्रयोगले यी विषयसँग बढी सरोकार राख्छ। यसले आफ्नो अस्तित्व एवं शारीरिक स्वतन्त्रतामाथिको अधिकार भन्ने जनाउँछ। चाहेको समयमा गर्भधारण गर्न पाउनु, गर्भपतनका विषयमा स्वनिर्णयको प्रयोगजस्ता कुराको स्वअधिकार नै यो विषय उपभोग गर्ने आधार हुन्। तीबाहेक आफूले इच्छाएको विषय पढ्ने, जागिर खाने, सोहीअनुरूपको करियर रोज्ने, मन लागेको लगाउनेदेखि लिएर खाने कुरासँग पनि यो विषय जोडिएर आउँछ। समग्रमा भन्नुपर्दा आफूभित्रका रहर, इच्छा, चाहना र भावनालाई मर्न नदिनु नै माई बडी माई राइट्सको पूर्ण प्रयोग हो।

आस्था बिन्दु मल्ल, शोधकर्ता

मैले माई बडी माई राइट्सको पूर्ण उपभोग गरिरहेकी छु। मैले वर्ष पनि नपुगेकी छोरी नेपाल छाडेर स्वेच्छाले उच्च शिक्षाका लागि विदेश आएँ त्यो मेरो स्वनिर्णय थियो। म आज जे गर्छु, जे लगाउँछु, जस्तो काम गर्छु त्यो मेरो निर्णय हो जसमा अरू कसैको निर्णय मान्य हुँदैन। यो विचारणीय विषय तथा गम्भीर प्रश्न हो। विदेशी महिलाले यो अधिकारलाई धेरै राम्रोसँग प्रयोग गरिरहेका छन् जसका कारण उनीहरूको करियर दु्रत गतिमा विकास हुन्छ तर हामी नेपाली महिला धेरै कुरा अर्काको खुसीका लागि गरिदिन्छौं। त्यसमा हाम्रो पनि कतै कमजोरी त छैन ? हामी आफ्नै बोल्ड हुन नसकेका त होइनौं ? हो, हामी नेपाली महिला आत्मनिर्भर हुन सकेका छैनौं, अर्काको भरमा बाँच्नुपर्ने अवस्था छ। जसले हामीलाई भित्रभित्रै कमजोर बनाइरहेको छ ? अनि खै कहाँ छ हाम्रो अस्तित्व ? माई बडी माई राइट्सले पूर्णरूपमा महिलाको स्वअस्तित्व, स्वनिर्णय एवं स्वअधिकारसँग सरोकार राख्छ। नेपाली महिला यस किसिमको अधिकार प्रयोग गर्न त के यो भनेको के हो भनेर थाहा पाउने तहसम्म  पनि पुगेका छैनन्। यसको प्रयोगका लागि सर्वप्रथम त यो के हो र यसले के फाइदा पुर्‍याउँछ भन्ने जान्न-बुझ्न जरुरी छ।

जयन सुब्बा मानन्धर, फेसन कोरियोग्राफर, पत्रकार तथा सि.इ.ओ दि र्‍याम्प

आफ्नो शरीर र आफूलाई माया गर्नुपर्छ। लगाउने, आफूलाई मेन्टेन गर्ने, स्वास्थ्यको हिसाबले सबै दृष्टिकोणबाट सर्वप्रथम आफूले आफूलाई माया गर्न जान्नुपर्छ। त्यसो गर्दा चाहे कसैले स्वार्थी भनून्। महिलाले आफ्नो शरीरलाई हरेक दृष्टिकोणले प्राथमिकतामा राख्नुपर्छ। शरीर रहे नै सबै कुरा रहन्छ। अहिलेको जमानाका ५० प्रतिशत आधुनिक नारीले माई बडी माई राइट्स इन्जोय गरिरहेका छन्। अझसम्म नेपाली समाजमा प्रजनन्को विषयलाई लिएर हजारौं नारीले आफ्नो शरीरमाथिको अधिकार उपभोग गर्न सकिरहेका छैनन्  जसको कारण हो शिक्षा र चेतनाको अभाव। मेरो व्यक्तिगत विषयमा कुरा गर्नुपर्दा सचेत र शिक्षित पारिवारिक अवस्थाका कारण मेरो शरीरमाथिको अधिकार पूर्ण रूपमा प्रयोग एवं उपभोग गरिरहेकी छु। चाहे सन्तान जन्माउने कुरामा होस् वा लगाउने, खाने, हिँड्ने कुरामा नै किन नहोस् मैले कसैको दबाबमा बस्नुपरेको छैन। यदि कसैले मेरो शरीरमाथिको अधिकारमा दख्खल दिन खोज्छ भने त्यो मेरा लागि सह्य हुँदैन। पूजाबाहेक महिनावारी हुँदासमेत बार्ने चलन छैन। हाम्रो समाजमा महिला हिंसाका हजारौं घटना घटिरहेका छन्। यस्तो अवस्थामा नेपाली नारीले कसरी माई बडी माई राइट्सको उपभोग गर्न सक्लान् ? तथापि महिलाको अधिकार भन्दैमा विवाह गर्दिन, बच्चा जन्माउँदिन भन्नु पनि त्यति उचित नहोला कि ?

बोनिका कार्की, फेसन इन्स्टक्टर

मैले आफ्नो इच्छाले फेसन डिजाइनिङ पढें जुन मेरो आफ्नै निर्णय थियो तर मेरा कतिपय साथीले चाहेर पनि पढ्न सकेनन् किनभने उनीहरूका अभिभावक डाक्टर, पाइलट, इन्जिनियर बनाउन चाहन्थे। हामी आफूलाई शिक्षित सहरिया भन्छौं। हाम्रो जस्तो स्ट्याटस् र यो पुस्तासम्म आइपुग्दा त यो अवस्था छ भने आमनेपाली महिलाको स्थिति कस्तो होला ? आफूले चाहेको विषय पढेकाले आज म सफल छु। नाम, प्रतिष्ठा, इज्जत सबै थोक छ। सम्भवतः माई बडी माई राइट्स भनेको यही हो। यसको उपभोग गर्न नपाउँदा कतिपय महिला डिप्रेसनको सिकार भएका छन्। कतिपयलाई मैले त केही गर्न सक्दिन रहेछु, मैले गरेको निर्णय गलत हुने रहेछ भन्ने जस्ता निराशाले छोप्दै लान्छ। आफूले रोजेको विषय पढ्न नपाएर वा आफूले भनेको कलेज जान नपाएको आवेगमा कतिपय युवाले आत्महत्या गरेका समाचार बाहिर आउँछन्। यी माई बडी माई राइट्सको प्रयोग गर्न नपाउँदाका भयावह दुर्घटना हुन्। आफ्नो शरीरमाथि मात्र आफ्नो अधिकार हुनुपर्छ। अर्काको निर्णयमा चल्नुपर्दा त्यसले शारीरिक प्रक्रियालाई धमिल्याउँछ, रोगी बनाउँछ भने मानसिक रूपमा विक्षिप्त बनाउँछ। युवाको हकमा कुरा गर्नुपर्दा माई बडी माई राइट्सको प्रयोगबाट वञ्चित भएकै कारण आज हजारौं युवा विभिन्न दुर्घटनाको सिकार भएका छन्। यसले कुलतमा फस्ने, आत्महत्याको प्रयास गर्ने घटना पनि निम्त्याएका छन्। शिक्षा र जनचेतना जगाउन सके माई बडी माई राइट्सको प्रयोग बढ्ने थियो ।

नीता सापकोटा, बरिष्ठ कार्यक्रम निर्माता, नेपाल टेलिभिजन 

माई बडी माई राइट्स सबैका लागि जरुरी कुरा हो। नेपालको सन्दर्भमा माई बडी माई राइट्सका विषयमा चर्चा नचलेको पनि होइन तर त्यो त्यति उपलब्धिमूलक हुन सकेको छैन। यसले विशेष गरी महिलाको प्रजनन् अधिकारसँग प्रत्यक्ष सरोकार राख्छ। त्यसबाहेक यो लगाउने-खाने आदि विविध कुरासँग जोडिन्छ। यसले बालमृत्युदर तथा सुत्केरीको मृत्युदरलगायत गर्भपतन आदिमा सरोकार राख्छ। तथापि प्रजनन् स्वास्थ्यमा महिलाको निर्णयमाथि हुनुपर्छ भन्दैमा बच्चै जन्माउँदिन वा जे पायो त्यही गर्न महिलाले पनि हँुदैन। कमाउन नसक्ने अर्कामा परनिर्भर महिलाले बडी माई राइट्स त के साधारण स्वतन्त्रता पनि उपभोग गर्न नपाइरहेको स्थिति छ भने महिनाको केही सय रुपैंयाँ मात्र कमाउने महिलाले थोरै मात्रामा भए पनि माई बढी माई राइट्स इन्जोय गरिरहेका छन्। मेरो व्यक्तिगत कुरा गर्दा मैले यो विषयलाई उपभोग गरेकी छु तर टिनएजमा भने आफूले लगाउन मन लागेका कुरा परिवारको रोकछेकका कारण लगाउन नपाउँदा त्यतिबेला मैले माई बडी माई राइट् उपभोग गर्न नपाएकी रहेछु भन्ने लाग्छ। स्वनिर्णय गर्न सक्ने वातावरण बनेको खण्डमा मात्र महिलाले माई बडी माई राइट्स इन्जोय गर्न पाउँछन्। आफ्नो शरीरमाथि आफू स्वयंको हक हुनुपर्छ जसका लागि शिक्षित र चेतनशील हुनु जरुरी छ।

कला सुब्बा, आरजे तथा कोरियोग्राफर

सर्वप्रथम त आफ्नो अस्तित्वमाथि आफ्नो सम्पूर्ण अधिकार हुनुपर्छ। माई बडी माई राइट्स भनेको आफ्नो अस्तित्वमाथिको अधिकार हो। अहिलेसम्म पनि केही सहरका शिक्षित आधुनिक महिलाबाहेक अन्य नेपाली नारीले यो अधिकार उपभोग गर्न नपाइरहेको अवस्था छ जसको प्रमुख कारण हो शिक्षा, ज्ञान, सामाजिक परिवेश र चेतनाको अभाव। म को हुँ भन्ने कुराको जबसम्म पहिचान हुँदैन तबसम्म माई बडी माई राइट्स उपभोग गर्न सकिँदैन। नारीलाई माया र त्यागकी खानी, सहनशील, आधा आकाश, अबलालजस्ता बोझिला शब्दहरूको अब कुनै अर्थ छैन। नारीले अब आफूभित्रको 'म' लाई चिन्न सक्नुपर्छ। मैले आफ्नो शरीरमाथिको अधिकार पूर्णरूपमा इन्जोय गरिरहेकी छु। यसको उदाहरण हो म अझसम्म अविवाहित रहनु। घर परिवार शिक्षित भएकाले सबैमा मेरा स्वनिर्णयको अधिकार छ। मेरो शरीरको अधिकारी सर्वप्रथम त मै हुँ अरू त पदाधिकारी मात्र हुन्। घर, देशभन्दा पर पनि अर्को एउटा संसार छ त्यसका लागि पनि हामी तयार हुनुपर्छ। तसर्थ माई बडी माई राइट्स पूर्णरूपमा प्रयोग गरौं।

देविका के.सी, गायिका

मैले यो विषयलाई महिलाको यौन तथा प्रजनन् स्वास्थ्यसँग जोडेर हेरेकी छु। माई बडी माई राइट्सले महिलाको शरीरमाथिको स्वअधिकारलाई बुझाउँछ। किनभने यौन तथा प्रजनन् महिलाको प्रत्यक्ष रूपमा सरोकार राख्ने विषय हुन्। यसको अन्तर्राष्ट्रिय अवधारणा पनि यही हो भन्ने मेरो बुझाइ छ। चाहे शारीरिक सम्पर्कका कुरा हुन् वा महिलाले बच्चा जन्माउने, गर्भपतन गर्ने वा नगर्ने कुरा हुन् यी सबै विषय महिलामा निहित हुनुपर्छ। माई बडी माई राइट्सले लगाउने, खाने, आफ्नो करियर तथा व्यक्तित्व निर्माणका विषयमा समेत महत्वपूर्ण भूमिका खेल्छ। नेपाली महिलाको सन्दर्भमा कुरा गर्नुपर्दा उनीहरू माई बडी माई राइट्सको उपभोग र प्रयोगमा धेरै पछाडि छन्। देश-विदेशका महिलाको स्थिति अवलोकन गर्दा र उनीहरूका सम्बन्धमा बुझ्दा यस किसिमको अधिकार प्रयोग गर्ने कुरामा उनीहरूको अवस्था हाम्रो भन्दा हजारौं गुना अघि छ। हाम्रो देशमा पनि यसले स्थान पाउँदैछ। अब हामी नेपाली महिला पनि माई बडी माई राइट्सलाई पूर्णरूपमा प्रयोग गर्न तयार हुनुपर्छ। जसका लागि महिला स्वयं शिक्षित, सचेत, आत्मनिर्भर तथा स्वावलम्बी हुनु जरुरी छ। 

एलिजा गिरी, मोडल तथा मिडिया पर्सनालिटी

यो विषयलाई मैले महिलाको इच्छानुसार समग्र कुराको प्रयोग गर्न पाउनुपर्ने अधिकारका रूपमा बुझेकी छु। एउटा व्यक्तिका लागि आफ्नो शरीरभन्दा ठूलो केही हुँदैन। शरीर रहे नै सबै थोक रहन्छ भन्ने उक्तिलाई चरितार्थ गर्ने यो विषयले महिलाको स्वास्थ्य अधिकारलगायत स्वनिर्णय र स्वअस्तित्वमाथिको सम्पूर्ण अधिकारमा भूमिका खेल्छ। नचाहे पनि वर्षैपिच्छे सन्तान जन्माउनुपर्ने, छोरा जन्माउनुपर्ने, अनिच्छित गर्भधारण भए गर्भपतन गर्न नपाउने, आफूले चाहेको लगाउन, खान वा अर्काको छनोटमा करियर रोज्नुपर्ने बाध्यता अझै पनि विद्यमान नेपाली समाजमा माई बडी माई राइट्सको प्रयोग सहज छैन र पनि कतिपय पढेलेखेका सचेत महिलाहरू यसको प्रयोगमा अघि सरिसकेका छन्। अझ छोरीका लागि त पढ्ने विषयसमेत बुवा वा दाजुभाइले छानिदिने हाम्रो समाजमा माई बडी माई राइट्सको पूर्ण प्रयोग गौण नै छ। यो विषयको पूर्ण प्रयोगका लागि महिला शिक्षित एव आत्मनिर्भर हुनु जरुरी छ। सञ्चार माध्यममार्फत यस्ता विषयमा चेतना फैलाउनुपर्छ भने सरकारले पनि यस विषयमा गम्भीर चासो राखी नीति निर्माणमा जोड दिनुपर्छ

काखी गन्हाउने समस्याबाट जोगिने उपाय

गर्मी महिनामा काखीमा पसिना आउने समस्या हुने तथा खुला लुगा लगाइने हुँदा काखी सफा गर्नु अति आवश्यक छ। काखी सफा गर्दा पहिले रौं हटाउनुपर्छ। त्यसका लागि गुणस्तरीय वार्म वा हेयर रिमुभर छान्नुपर्छ ताकि रौं निकाल्दा समस्या नआओस्।

त्यसपछि काखीका रौंलाई राम्रोसँग वाक्सिङ र रिमुभ गर्न सकिन्छ। राम्रोसँग वाक्सिङ वा रिमुभ गरेपछि चिसो पानीले पुछ्नुपर्छ अनि आइसको टुक्रा कपासमा बेरेर केही मिनेट काखीमा दल्नुपर्छ, त्यसो गर्दा संवेदनशील छाला पनि रातो हुन पाउँदैन। त्यसपछि काखीको कालो भागमा चन्दन पाउडर, बेसार र फिटकिरीको धूलोमा रोज वाटर राखी पेस्ट बनाएर लगाई १० मिनेटपछि चिसो पानीले सफा गर्नुपर्छ। त्यसपछि फिटकिरीको डल्लोलाई पानीमा भिजाएर राख्ने र फेरि प्याक लगाए सफा गरेको भागमा दल्नुपर्छ। अन्त्यमा ल्याक्ट्रोक्यालामाइन लोसन लगाई पसिनासम्बन्धी समस्याबाट धेरै हदसम्म जोगिन सकिन्छ।


केशमा कुनै वस्तु अल्झियो वा टाँसियो भने 

१. चुइगम टाँसियो भने के गर्ने ? 

केशमा चुइगम टाँसियो भने सबैभन्दा पहिले केशमा बदामको तेलले मसाज गर्ने  र केशको टुप्पोदेखि ब्रसले कोर्दै लाने। त्यसो गर्दा चुइगम सजिलैसित निस्कन्छ। त्यसपछि टाँसिएको भागमा हेयर सुपर वा कन्डिसनर लगाउनुपर्छ। 

२. सुपर ग्लु टाँसियो भने ? 

यसलाई पनि तेल लगाएर विस्तारै मसाज गर्दै निकाल्न सकिन्छ। 

३. रंग टाँसियो भने ? 

केशमा रंग लाग्यो भने पेन्ट थिनर केशमा राखेर जुन भागमा रंग लागेको हो त्यसलाई मात्र लिएर पुछ्ने अनि स्याम्पुले सफा गर्ने। 

केशमा प्लास्टिकको हेयर ब्रस अड्किएको खण्डमा केश नकाटी ब्रसको टुप्पोलाई नेल कटरको सहायताले काट्नुपर्छ र चुच्चो काइँयोको सहायताले विस्तारै निकाल्नुपर्छ।

-अनिता खड्का रायमाझी, कलंकी ब्युटिपार्लर एण्ड ट्रेनिङ सेन्टर , कलंकी मन्दिर



नङको स्वास्थ्य

सुन्दर नङले नारी सौन्दर्य वृद्धि गर्छ। त्यसैले पनि धेरैजसो महिला नङ राम्रो बनाउन लालायित हुन्छन्। नङ राम्रो, सुन्दर र सही बनावटको देखियो भने हात पनि राम्रो र सेक्सी देखिन्छ। त्यसैले नङको रेखदेखमा विशेष ध्यान दिनु आवश्यक छ। नङ एक प्रकारको कडा प्रोटिन -केराटिन) ले बनेको हुन्छ। नङ गर्मी मौसम र गर्मी ठाउँमा चाँडो बढ्छ। नङको स्वास्थ्य खानपान, मौसम, काम तथा हेरचाहमा भर पर्ने हुनाले यी कुरामा विचार पुर्‍याउनु बुद्धिमानी हुन्छ। निम्न कुरामा विचार पुर्‍याउन सके स्वस्थ एवं सुन्दर नङको चाहना अवश्य पूरा हुन्छ। 

- सन्तुलित आहार खाने।

- समय-समयमा बफिङ, 

- टि्रमिङ गरिरहने।

- धूम्रपान नगर्ने। 

- नङ नटोक्ने।

- नङले मासु छोड्ने कुनाहरू फाइलिङ नगर्ने, यसले नङलाई  कमजोर बनाउँछ र नङ चोइटिने समस्या आउन सक्छ।

- सरसफाइको काम गर्दा रबर ग्लोभ्स लगाउने। यसो गर्दा केमिकलयुक्त सामानले नङ पातलो बनाइदिने तथा अन्य कुरामा ठोक्किएर भाँचिने समस्या हुन पाउँदैन। 

- समय-समयमा मेनिक्योर गराइरहने।

- प्रशस्त पानी पिउने।

- प्रोटिन एवं भिटामिनयुक्त खाना प्रशस्त खाने।

अनिता राजभण्डारी, इन्काज् मेहन्दी एण्ड नेल आर्ट, ट्रेनिङ सेन्टर, जमलचोक, एम. आई. विल्डिङ



युथ गहना टे्रन्ड

- युवतीहरूलाई लामो झुम्का निकै सुहाउँछ। लामो झुम्का लगाएर उनीहरू कुनै पनि पार्टीको केन्द्र बिन्दु बन्न सक्छन्। 

- टिनएजर्सहरूले पार्टीका लागि सुनको ककटेल औंठी लगाउन सक्छन् जुन अचेल फेसनमा छ। 

- पहिले फूल, पात एवं जनावरका आकृतिका गहना मन पराइन्थ्यो तर हिजोआज विभिन्न ज्यामितीय आकारका सुनका गहना मन पराइन थालेको छ। 

- युवतीहरूका लागि सुनमा रुबी तथा एमरल्डजस्ता रत्न जडित गहना उपयोगी हुन्छन्। यसको प्रयोग औंठी तथा झुम्कामा गरिन्छ। 

- जरकन भएका गहना पनि अहिले फेसनमा छन्। 

- रोडियम पालिस गरिएका गहना पि्रय छन्। विशेषगरी औंठीमा रोडियमको कारिगरी आकर्षक देखिन्छ। 

पाभेल उदास, चिफ एडमिनिस्टे्रटिभ अफिसर,बराह ज्वेलर्स 

टिनएज डाइट


अंग्रेजीमा एउटा भनाइ छ-(Apple a day keeps doctor away) अर्थात् प्रतिदिन एउटा स्याउ सेवन गरे रोगबाट टाढा रहन सकिन्छ। त्यसैले विशेषज्ञहरू खानाको सूचीमा स्याउलाई छुटाउँदैनन्। १४ वर्षमुनिका बालबालिकालाई स्याउ अनिवार्य गर्नुपर्ने राय विज्ञहरूको छ।

यद्यपि सधै एउटै प्रकारको फल खाँदा बालबालिकाहरू खानाप्रति त्यति रुचि देखाउँदैनन्। यसबाट बच्न बेलाबेलामा फल परिवर्तन गर्नुपर्छ। विशेषगरी फललाई चाट, सलाद आदिमा परिवर्तन गर्नुपर्छ। फल, एन्टीअक्साइड र खनिजको भरपर्दो स्रोत हो। यसले स्मरण शक्तिमा पनि लाभ पुर्‍याउँछ। सुन्तला, मौसम, कागती, भोगटे, अमला आदि रेसायुक्त फलले स्मरण शक्तिका साथै रोग प्रतिरोधक क्षमता बढाउन मद्दत गर्छन्। स्याउको साटो केरा, स्ट्रबेरी, हरियो तरकारी आदि पनि टिनएजरहरूका लागि महत्वपूर्ण पौष्टिक तत्व हुन्। 


ड्राइफ्रुट्स 

स्मरण शक्तिका लागि ड्राइफ्रुट्सको प्रयोग वैदिककालदेखि नै गरिँदै आएको पाइन्छ। सन्तुलित आहार सबैका लागि आवश्यक हुन्छ। यद्यपि परीक्षाको समयमा ड्राइफ्रुट्सको महत्व बढी हुन्छ। यसले शारीरिक एवं मानसिक तनाव कम गर्छ। किशोरावस्थामा पोषकतत्वको सेवनले शारीरिक क्षमताको वृद्धिका साथै स्मरण शक्तिलाई तीव्र गर्न र सबै कुरामा सामञ्जस्य बनाउन मद्दत गर्छ। ड्राइफ्रुट्सले मस्तिष्कलाई सक्रिय तुल्याउनुका साथै स्नायुतन्त्रलाई पनि क्रियाशील बनाउँछ। मस्तिष्कको ७० प्रतिशत भाग अम्लीय तत्वबाट बनेको हुन्छ। यसले मस्तिष्कको कोषिकाको विकासमा मद्दत पुर्‍याउँछ। यस्तो तत्वको निर्माण पौष्टिक तत्वबाट मात्र सिर्जना हुन्छ। बदाम र काजु ड्राइफुट्सका केही उदाहरण हुन्। यसमा सोडियम, मेग्नेसियम तथा भिटामिन ई हुन्छ। यसले तनाव भगाई निद्रा पनि लगाउँछ। 

पानी र जुस 

पानी र जुस जति धेरै प्रयोग गर्‍यो त्यति राम्रो हुन्छ। शरीरमा ७० प्रतिशत भाग पानीले भरिएको हुन्छ। पानीले नर्वस सिस्टमलाई सक्रिय राख्न मद्दत पुर्‍याउँछ। 

हरियो तरकारी र सलाद 

हरियो तरकारी स्वास्थ्यका लागि सबैभन्दा बढी लाभदायक मानिन्छ। हरियो तरकारीले शक्ति प्रदान गर्छ। हरियो तरकारी र फलमा बढी मात्रामा एन्टीअक्साइड हुन्छ। यसबाट शरीरका लागि आवश्यक सोडियम, भिटामिन तथा खनिज प्राप्त हुन्छ। हरियो तरकारीको रंगले त्यसमा पाइने खनिज र भिटामिनको संकेत गर्छ। हरियो तरकारीको रंग जति गाढा हुन्छ त्यसमा त्यति नै बढी पोषकतत्व एवं एन्टीअक्साइड पाइन्छ। फलस्वरूप गाढा हरियो तरकारी स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ। किशोरावस्थामा गाजर, मुला, काँक्रा, टमाटर, गोभी, हरियो-रातो खुर्सानी, ब्रोकाउली, पालुङ्गो आदि प्रतिदिन खानुपर्छ। हरियो सागपातमा आइरनको मात्रा प्रशस्त हुन्छ। यसले एलर्जी रोक्नुका साथै अध्ययनमा ध्यान केन्दि्रत गर्न सहयोग पुर्‍याउँछ। किशोर-किशोरीहरूलाई हरियो तरिकारीप्रति रुचि नहुने भएकाले बोइल गरेको र मध्यम आँचमा पकाएको तरकारी वा करी दिन सकिन्छ। यसबाहेक रस -साउथ इन्डियन सुप) का रूपमा तरकारी ख्वाउन सकिन्छ। थोरै तेलमा बनाइएका परौंठा पनि उत्तम मानिन्छ। 

प्रोटिन 

दूध र दूधबाट बनेका चीज, बटर, मख्खन आदि प्रोटिनका मुख्य स्रोत हुन्। त्यसबाहेक अण्डा एवं टुसा पलाएका गेडागुडी, हरियो सागपात, ड्राइफ्रुट्स, सोयाबिन, माछा एवं कुखुराको मासुमा प्रोटिनका साथै एमिनो एसिडको उपयुक्त मात्रा पाइन्छ। प्रोटिनका अतिरिक्त यी खानाबाट भिटामिन बी-१५, बी-५ तथा बी-१२ पनि प्राप्त हुन्छ। मस्तिष्कलाई सक्रिय बनाउन प्रोटिनयुक्त भोजनको महत्वपूर्ण भूमिका हुन्छ। टिनएज डाइटमा कार्बोहाइड्रेट, प्रोटिन, सन्तुलित मात्रामा हुनुपर्छ। प्रोटिनका साथै कार्बोहाइड्रेट बढी हुनुहुँदैन। उदाहरणका लागि एउटा रोटी, एउटा अण्डा र एक गिलास दूध, कुनै एउटा मौसमी फलले सन्तुलित आहारलाई पूर्णता प्रदान गर्छ। खानामा रेसायुक्त पदार्थ समावेश गर्नु जरुरी छ।

दशकपछि गुन्जियो हङकङ पोखरा


हिउँ त हैन, फापरेको डंगुर माया भयो अमिलो अंगुर हङकङ पोखरा निर्मोही आफ्नो को छ र... 'इट्स टाइम टु से— हङकङ-पोखरा' भन्दै जब विवेक श्रेष्ठले गलो खोले, हुटिङले हलै गुन्जियो ।

सँगसँगै सुरु भो नाचगान । सुन्दर नगरी पोखरालाई समुद्रपारिको सहरसँग जोडिदिएको यो गीत दशकपछि पनि कन्दरा ब्यान्डको पहिचानै बनेको छ । साहित्यकार सरुभक्तद्वारा रचित उक्त गीत सुनेर भीड मच्चिनुको कारण त्यति मात्र पनि थिएन ।


'बाह्र वर्षमा खोलो पनि र्फकन्छ' भन्ने उखानझैं करिब उति नै समयपछि सहारा साँझले हङकङेली दर्शक र विवेकको पुनर्मिलन गराइदिएको थियो । 'धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई...,' सन् २००० पछि पहिलोपटक यहाँ आएका विवेकले यही स्वदेशगानबाट कन्सर्टको सुरुआत गरे । राष्ट्रप्रेमले ओतप्रोत उक्त गीत धेरैअघि गोपाल योञ्जनले गाएका थिए । आइतबार राति विवेकले पुनः तिनै शब्द दोहोर्‍याउँदा अहिले पनि यो उक्तिकै सान्दर्भिक अनुभूति भयो । त्यसपछि 'जिन्दगी यो उत्सव हो...,' 'तगारोमा रुमाल राखी...', 'डाँडापारि त्यो गाउँमा...', 'लेककी हे माया...' सहित आधा दर्जनभन्दा बढी गीत लगालग प्रस्तुत गरे उनले ।

चिम सा चोयस्थित क्वाई फङ हलमा आयोजित कन्सर्टमा नेपालबाटै आएका जीवन दाहाल, काजल गुरुङ, समला राई, प्रेम परियारसिहत स्थानीय कलाकारहरूको पनि सहभागिता थियो  । किशोर उमेरका प्रेमले 'तिम्रो बोली तिम्रो सुवास...', 'मलाई यो जिन्दगीले कहाँ पुर्‍यायो...' सुनाएर धेरैको मन जिते । जीवन र काजलको दोहोरी पनि राम्रै जम्यो । 

नेपाली कलाकारका लागि पानी पँधेरो बनेको हङकङमा सांगीतिक कार्यक्रम हुनु कुनै नौलो कुरो थिएन । तर यसपटकको उद्देश्य भिन्न थियो, अर्थात् नेपाली फुटबलको विकास । सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीको सहयोगार्थ कन्सर्ट गरिएको थियो । क्लबका हङकङ अध्यक्ष दीपक गुरुङले भने, 'नेपाली फुटबल विकासमा सक्दो योगदान पुर्‍याउने हाम्रो उद्देश्य हो ।' कन्सर्टअघि नै एकेडेमीलाई २० लाख रुपैयाँभन्दा बढी सहयोग पठाइसकेको जानकारी दिँदै उनले पोखरा-१७ दोबिल्लास्थित एकेडेमीमा क्लबले विपन्न वर्गका १४ बालकलाई निःशुल्क आवाससहित पठनपाठन, स्वास्थ्य र खेलकुदको सुविधा उपलब्ध गराएको बताए । 

Sunday, August 25, 2013

फोटो पत्रकारमाथि मुम्बईमा सामूहिक बलात्कार


मुम्वई, (एजेन्सी)भारतको मुम्बई शहरमा एक फोटो पत्रकारको सामूहिक बलात्कार भएको शुक्रबार प्रहरीले जनाएको छ।

गत डिसेम्बरमा राजधानी नयाँ दिल्लीमा एउटा बसभित्र एक युवतीमाथि भएको बलात्कार विरुद्ध राष्ट्रव्यापी विरोध प्रदर्शन हुँदा सरकारले बलात्कारसम्बन्धी प्रचलित कानुनमाथि पुनर्विचार गर्नुपरेको थियो। बिहीबार बेलुका भएको उक्त घटनालाई लिएर सोसियल समडियालगयत सबैतिरबाट व्यापक विरोध हुन थालेका छन्। महिलाहरूका लागि भारतकै सबैभन्दा सुरक्षित मानिएको मुम्बई भएको यस घटनाप्रति अधिकांश व्यक्ति स्तब्ध भएका छन्। यस सिलसिलामा हिजो एक पुरुषलाई गिरफ्तार गरिइसकेको र पहिचान भइसकेका अन्य चार जनाको २० सदस्यीय प्रहरी टोलीले खोजीकार्य जारी राखेको मुम्बई प्रहरी आयुक्त सत्यपाल सिंहले जानकारी दिएका छन्। सिंहले भने– ‘अदालतमा अभियुक्तहरूविरुद्ध सप्रमाण मुद्दा चलाउनका लागि प्रहरीले यथासम्भव कोसिस गरी सम्पूर्ण प्रमाण संकलन गर्नेछ।’ जसले गर्दा दोषीहरूलाई अधिकतम सजाय दिन सकिन्छ। हामीले सरकारलाई कानुनी प्रक्रिया छिटोछरितो ढंगले अघि बढाउने अदालतमा तिनीहरूलाई मुद्दा चलाउन अनुरोध गर्नेछौं। संसदको माथिल्लो सदनमा विपक्षी विधायकहरूले यस वर्ष यौन अपराधविरुद्ध कडा कानुन ल्याइए तापनि सरकारले महिलाहरूको सुरक्षाका लागि यथेष्ट कार्य नगरेको आरोप लगाएका छन्। करिब २० वर्ष उमेरकी ती पीडित युवतीलाई दक्षिण मुम्बईको एउटा अस्पतालमा भर्ना गरिएको छ। अस्पताल सूत्रले उनको स्थिति स्थिर रहेको जनाएको छ। पूर्व औद्योगिक क्षेत्र तथा हाल शानदार अपार्टमेन्ट, मल र बारहरू सञ्चालनमा रहेको लोअर पारेलको एउटा सुनसान कपडा कारखानामा सूर्यास्त लगै उक्त घटना घटेको थियो। प्रहरीका अनुसार कामको सिलसिलामा आफ्नो एक पुरुष सहकर्मीसँग त्यहाँ पुगेका बेला उनको सहकर्मीलाई पेटीले बाँधेर ती युवकहरूले उनीमाथि बलात्कार गरेका थिए। दक्षिणपन्थी राजनीतिक पार्टी शिव सेनाका दर्जनौं समर्थकहरूले उक्त घटनाको उजुरी लेखाइएको प्रहरी चौकीबाहिर विरोध प्रदर्शन गरेका थिए। गत डिसेम्बरको बलात्कारमा मुछिएका चार पुरुष र एक किशोरविरद्धको मुद्दा आगामी तीन साताभित्र टुंगिने अनुमान गरिएको छ।