Monday, January 27, 2014

स्वास्थ्यमा एन्टिअक्सिडेन्टको महत्त्व

शरीर स्वस्थ राख्न पोषिला खाद्य वस्तुको उपभोगलाई जोड दिइन्छ ।

  पोषिला खाद्य वस्तुले शरीरको समग्र स्वास्थ्यमा योगदान गर्छन् तर सबैको प्रभाव एकनाशको हुँदैन र शरीरको अवस्था हेरेर त्यस्ता खाद्य वस्तु रोज्नुपर्ने हुन्छ तापनि एन्टिअक्सिडेन्टमा पाइने पोषिला वस्तु सर्वथा आवश्यक छ ।
पोषणको कुरा आउँदा एन्टिअक्सिडेन्टको चर्चा अचेल बढी हुने गर्छ किनभने मधुमेहदेखि क्यान्सरसम्मका घातक विकार यसले रोक्ने सिद्ध भइसकेको छ ।  हाम्रो शरीरमा उत्पन्न हुने घातक अवस्था अक्सिडेटिव स्ट्रेसको प्रभाव निस्तेज पार्न एन्टिअक्सिडेन्टको महìवपूर्ण योगदान रहन्छ ।
हामीले दैनिक खाने गरेका फलपूmल र तरकारीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ तर बजारका तयारी खाद्य वस्तुमा एन्टिअक्सिडेन्ट हुँदैन ।  खाद्य वस्तुका अन्य पोषक तìवसँग एन्टिअक्सिडेन्टको फलदायी संयोजन हुने भएकाले पोषकविद्हरू प्राकृतिक खाद्य वस्तुबाट सक्दो एन्टिअक्सिडेन्ट प्राप्त गर्नुपर्ने सुझाव दिन्छन् ।
हार्वर्ड मेडिकल स्कुल अफ फेमिली हेल्थ गाइडमा उल्लेख भए अनुसार बिहानको चिया वा कफीमा एन्टिअक्सिडेन्ट छ भने तपार्इंलाई मुटुको रोगबाट बच्न मद्दत पुग्न सक्छ ।  सन् २०१२, अक्टोवरमा इन्टरनेसनल जर्नल अफ वायोकेमेस्ट्री एन्ड सेल बायोलोजीमा प्रकाशित एक अनुसन्धानको विवरणमा कफी र चियामा पाइने एन्टिअक्सिडेन्ट पोलिफेनोलले बोसोको अक्सिडेसन रोक्छ ।  बोसोमा अक्सिडेसन उत्पन्न भएर शरीरमा चौतर्फी इन्फ्लामेसनका कारणले मुटुको रोग र मुधमेहले समात्ने खतरा बढ्छ ।
सन् २०१२, सेप्टेम्बरमा जर्नल अफ मेडिसिनल फुडमा प्रकाशित अनुसन्धानको विवरणमा उल्लेख भए अनुसार खाद्य वस्तुमा एन्टिअक्सिडेन्टहरूको संयोजनले हामीलाई अधिक फाइदा पुग्छ ।
यसैगरी, खाद्य वस्तुमा हुने एन्टिअक्सिडेन्टहरू भिटामिन ए, सी र ई तथा पोलिफेनोल्स र सेलेनियमलगायतका केही खनिजले फ्रिरेडिकललाई तह लगाएर प्रतिरक्षा प्रणालीलाई सबल बनाउँछन् ।  अमेरिकाको पेन स्टेट विश्वविद्यालयका अनुसार शरीरको सामान्य आन्तरिक प्रक्रियाबाट उत्पन्न हुने सहउत्पादन (बाइप्रोडक्ट) वा वातावरणबाट शरीरमा प्रवेश गर्ने खतरनाक यौगिक हुन् फ्रिरेडिकल ।  हानिकारक फ्रिरेडिकललाई निस्तेज पारेर एन्टिअक्सिडेन्टले केही प्रकारका क्यान्सरलाई रोक्न मद्दत पु¥याउँछ र एचआईभी सङ्क्रमणको व्यवस्थापनमा प्रतिरक्षा प्रणालीलाई सहयोग गर्छ ।  सन् २०१२, अक्टोवरको कार्सियोजेनेसिस जर्नलमा एन्टिअक्सिडेन्ट भिटामिन ‘सी’ले स्तन क्यान्सर रोक्न सहयोग गर्ने एक महìवपूर्ण एन्जाइमलाई सक्रिय बनाउने उल्लेख गरिएको थियो ।
यसैगरी, एन्टिअक्सिडेन्ट भिटामिन ‘ई’ र ‘सी’ भएका खाद्य वस्तु अधिक खाने गरेमा छाला चाउरिने क्रम सुस्त भएर बुढ्यौली ढिलो आउँछ, सन् २००८ को एज जर्नलमा उल्लेख गरिएको छ ।  यी एन्टिअक्सिडेन्टले स्मरण शक्ति ह्रास हुन पनि दिँदैनन् ।  एजेन्सी

लोडसेडिङका कारण पानी वितरणमा समस्या– केयुकेएल

काठमाडौ, माघ १३ गते । सुख्खा मौसमका कारण खानेपानीका मुहान सुक्दै गएपछि उपत्यकामा खानेपानी वितरण घटेकाले राजधानीवासी खानेपानीको अभावका कारण आक्रान्त बनेका छन् ।

दैनिक १२ घण्टे लोडसेडिङ र सुख्खा मौसमका कारण उपत्यकामा खानेपानीको अभाव झन् जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
उपत्यकावासीलाई खानेपानी वितरण गर्ने जिम्मेवारी पाएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले यो मौसममा राजधानीवासीको मागको २५ देखि २८ प्रतिशतभन्दा बढी पानी आपूर्ति गर्न नसक्दा खानेपानीको अभाव झन् जटिल बन्दै भएको हो ।
केयुकेएलले उपत्यकावासीका लागि दैनिक ३५ देखि ४० करोड लिटर पानीको माग भएकोमा हाल १० करोड लिटर मात्र पानी उत्पादन गरी वितरण गर्दै आएको छ भने वर्खामा १३ देखि १५ करोड लिटरसम्म पानी आपूर्ति गर्दै आएको छ ।
कुलेश्वर हाइट निवासी लिला सुवेदीको अनुभवमा वर्खायाममा चार÷पाँच दिन बिराएर धमिलो भए पनि घरको धारामा पानी आउँथ्यो तर अहिले त कतिबेला धारामा पानी आउँछ भन्ने नै थाहा हुदैन ।
उहाँ भन्नुहुन्छ “वरपरका छिमेकीहरू आठ÷दश दिन विराएर राति पानी आउँछ त भन्छन् तर कुन दिन आउँछ मलाई त त्यो पनि थाहा छैन ,मंसिर पुसदेखि नै ट्याकरकै पानीका भरमा बाँच्ने हो, धारामा पानी नआए पनि विल चाहीं महिना नपुग्दै आउँछ ।”
यस्तै बल्खुस्थित कुमारी क्लब निवासी विदुर अमात्यलाई घरको धारामा पानी आएको थाहा नभए पनि उहाँको घरमा पानीको विल भने महिना पुग्ने वित्तिकै आइहाल्छ ।
धारामा पानी नआउने समस्या सुवेदी र अमात्यको मात्रै नभई अधिकांश उपत्यकावासीले यस्तै समस्या भोग्दै आएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च काठमाडौँका अध्यक्ष जगन्नाथ मिश्रले उपत्यकावासीलाई आवश्यक खानेपानी उत्पादन गरेर वितरण गर्ने जिम्मेवारी पाएको केयुकेएलले पानीको चुवावट नियन्त्रण गरी सबैतिर समुचित तरिकाले पानी वितरण नगर्दा सुख्खा मौसममा खानेपानीको समस्या वर्षेनी बढ्ने गरेको टिप्पणी गर्नुभयो ।
पाँचतारे होटल र उच्चपदस्थ व्यक्तित्व वस्ने क्षेत्रमा नियमित पानी वितरण गर्ने तर सर्वसाधारण नागरिक वसोवास गर्ने ठाउँमा १० दिनमा एक पटक पनि पानी नदिने केयुकेएलको विभेदकारी वितरण प्रणालीले गर्दा पनि उपत्यकामा पानीको समस्या झन् जटिल बन्दै गएको उहाँको भनाइ छ ।
उपत्यकामा तत्काल देखिएको खानेपानीको समस्या समाधान गर्नका लागि केयुकेएलले तत्कालिन, अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजना बनाएर अहिले संकलित पानी सबैतिर समान किसिमले वितरण गर्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
केयुकेएलका प्रवक्ता मिलनकुमार शाक्यले उपत्यकावासीको माग अनुसार खानेपानी आपूर्तिका लागि उपत्यकामा मेलम्चीको पानी आउनुको विकल्प नभएको बताउनुभयो ।
केयुकेएलले उपत्यकामा मेलम्चीको पानी नआउँदासम्मका लागि उपत्यकाका विभिन्न ठाउँमा बोरिङबाट पानी तान्ने, भएका पानीका स्रोतलाई मर्मत गर्ने र चुहावट रोक्ने काम गर्दै आएको पनि प्रवक्ता शाक्यको भनाई छ ।
केयुकेएलले जानाजान पानी वितरणमा विभेद नगरेको तर लोडसेडिङका कारण एकरूपता हुन नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो “अधिकांश ठाउँमा मोटर लगाएर मात्रै पानी तान्नुपर्ने, केही ठाउँमा लोडसेडिङका बेला पनि निरन्तर धारामा पानी आउने गरेको पाइएको छ, यसमा एकरूपता ल्याउनका लागि सक्दो पहल गरिरहेका छौं ।”
साथै प्रवक्ता शाक्यले उपत्यकामा विगतको तुलनमा पानीका मुहान सुक्दै गएको र सडक विस्तारका कारण चुहावट पनि बढेकाले यो वर्ष पानीको आपूर्ति अझै घटेको बताउनुभयो ।

भारतले हामीलाई सहयोग गर्नुपर्छ– ओली

काठमाडौं, माघ १३ गते । आफूलाई विश्व शक्तिमा स्थापित गर्ने प्रयत्न गरिरहेका नेपालका दुई छिमेकी चीन र भारतले बीचमा रहेको छिमेकी नेपालको विकासमा पनि ध्यान दिनुपर्ने विभिन्न राजनीतिक दलका नेताहरुले बताएका छन् ।
भारतको ६५ औँ गणतन्त्र दिवसको अवसरमा रिपोर्टस क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले कम्जोर नेपालले शक्तिशाली छिमेकीको चाहना पूरा गर्न नसक्ने बताएका हुन् । ‘नेपाल र भारत सम्बन्ध सम्भावना र चुनौति’ विषायक अन्तक्र्रियामा बोल्दै नेताहरुले अशान्त र अविकसित नेपालबाट छिमेकीहरुले फाईदा लिन नसक्ने बताउँदै विश्व आर्थिक शक्तिको रुपमा अघि बढेका दुई छिमेकीले नेपालको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले एउटा देशमा विकास नभए त्यसको असर अर्को देशमा पनि पर्ने धारणा व्यक्त गर्दै आर्थिक रुपमा कम्जोर नेपालको विकासमा भारतको सहयोग आवश्यक पर्ने बताउनुभयो । ‘‘हाम्रा छिमेकीहरु ब्लिया छन्, त्यो सवल पक्ष हो ।” छिमेकीहरु ठूला भए पनि दुई देशबीचको सम्बन्ध ठूलो र सानो नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘‘भारतको ‘लेजिटिमेट कन्सर्न’ (आधिकारिक चासोहरु) हामी बुझ्छौँ । हाम्रो भविश्य एउटै छ, त्यसैले भारतले हामीलाई सहयोग गर्नुपर्छ ।”
नेपाल र भारतबीचको सम्बन्धमा चुनौतिहरु घट्दै गएको उल्लेख गर्दै उहाँले अनुभव र परिवर्तित परिस्थितिले नयाँ सम्बन्धबारे सिकाउँदै लगेको बताउनुभयो । तथाकथित क्रान्तिकारिताले दुई देशबीचको सम्बन्धलाई टाढा राख्न नसक्ने बताउँदै उहाँले सीमा पारी नतमस्तक हुने र सीमा वारी आएपछि कुर्लिने मनोविज्ञानको अन्त्य हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भारतसँगको सम्बन्धबारे नेपालका राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले त्यसो भएमा १० वर्षभित्र नेपालको जलस्रोतको भरपुर उपयोेग गर्न सकिने बताउनुभयो ।
‘‘भारतसँगको सम्बन्धबारे नेपाली जनताले हामीलाई फरक फरक स्थानमा राखिदिएका छन् ।” राजनीतिक दलहरु मध्ये केहिलाई भारत नजिक र केहि टाढा भनेर विश्लेषण गरिएको संकेत गर्दै सिटौलाले भन्नुभयो ‘‘एउटा साझा सोच बनाउनुपर्छ, त्यसपछि १० वर्षभित्र नेपालको जलस्रोतको धेरै विकास गर्न सकिन्छ ।”
नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले आफ्नो पार्टीलाई भारत विरोधीको आरोप लगाईए पनि आफूहरु कहिल्यै भारत र एक अर्ब २० करोडभन्दा बढी भारतीय जनताको विरोधी नभएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत रञ्जित रायले प्रत्येक देश एक अर्कामा निर्भर रहेकोले एक अर्काको सहयोग विना अघि बढ्न नसकिने बताउनुभयो । नेपालसँग भारतको युगौँदेखि गहिरो र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दुई देशबीच केहि समस्या भए घनिभूत छलफलबाट त्यसको समाधान निकाल्नुपर्ने बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का नेता राम कार्कीले भारत आफ्नो छिमेकीसँग बढि अल्झिरहे अन्तर्राष्ट्रिय स्थान बनाउन नसक्ने सुझाब दिँदै नेपाललाई भारतको सहयोग चाहिए पनि आवश्यकताभन्दा बढी लिन नहुने बताउनुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र नेपालको सम्बन्ध कुटनीति, राजनीति र आर्थिक सम्बन्धभन्दा पर पुगेको विश्लेषण गर्दै पूरानो राष्ट्रवादको सोचले मात्र अब काम नगर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले छिमेकीहरुको सुरक्षा चासोबारे नेपाल सचेत हुनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि नेपाल सुरक्षित बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

Sunday, January 26, 2014

एउटै खुट्टाले छमछमी

नेपालगञ्जकी मीना पुन मगर एउटै खुट्टाको भरमा कुशल नृत्याङ्गना बनेकी छन्।


चार वर्षअघि नेपाल टेलिभिजनको नृत्य प्रतिभा खोज्ने कार्यक्रम ‘छमछमी’ मा सहभागी भएयता उनको नाम फैलिंदो छ। पश्चिम र सुदूरपश्चिम नेपालमा लोकप्रिय मीना भन्छिन्, “हङकङमा पनि मेरो नृत्य रुचाइयो, तर काठमाडौंमा प्रस्तुत हुन पाएकी छैन।”
दाङ, पुरन्धाराकी मीना अहिले नेपालगञ्जको रामनगरमा बस्छिन्। पैसा तिरेर नृत्य सिक्न नसक्ने आर्थिक अवस्थाकी उनले अरुले नाचेको हेरेरै यो सीप आर्जन गरेकी हुन्।
नृत्यकै लागि गत महीना हङकङ बोलाइएकी उनी तीन वर्षअघिसम्म जीवनमा केही गर्न नसकिने भयो भनेर निराश हुने गरेको बताउँछिन्। तर, उनको संघर्षले त्यो अवस्थालाई पार लगाइसकेको छ।
“मानिसहरूले मेरो कला मन पराएर हौसला दिएका छन्” मीना भन्छिन्, “जीवनलाई संघर्षबाटै अगाडि बढाउने हिम्मत पलाएको छ।”

‘जन्ती र मलामी पाइन छोडे’

केही वर्षअघिसम्म श्रीमान् विदेश जाने र श्रीमतीले घरव्यवहार चलाउने काभ्रेको महाभारत डाँडापारिका अधिकांश गाविसका महिला अचेल रोजगारका लागि विदेशिन थालेका छन् ।


काभ्रेको महाभारत डाँडापारीका गाविसका महिला मात्र नभई किशोरी र युवतीहरुसमेत उमेर बढाएर नागरिकता बनाउने र सँगै राहदानी बनाएर विदेश जान थालेका छन् । मिल्चे गाविसका मात्रै २५० महिला र १५० भन्दा धेरै पुरुष विदेशिएको गाउँ विकास समितिका सचिव भरत बस्नेतले जानकारी दिए ।
“गाउँमा मलामी र जन्ती जाने युवायुवतीहरु पनि भेटिन छाडेका छन्,” स्थानीय जङ्गबहादुर पाख्रिनले भने । उनले बढ्दो बेरोजगारी र आयस्रोतका अन्य विकल्प नहुँदा गाउँका सबैजसो युवायुवती विदेसिन बाध्य हुनु परेको बताए ।
मिल्चे गाविस–६ बाट मात्रै ६० भन्दा धेरै युवा विदेशिएका छन् । ४५८ घरधुरीमध्ये करिब ४०० घरबाट कम्तीमा एकजना विदेसिएको गाउँ विकास समितिको कार्यालयले जनाएको छ ।
डाँडापारिका बुढाखानी, वनखु, गोकुले, घर्तिछाप, साल्मेचाकल, साल्धारा, फलामेटार, महादेवटार लगायतका गाविसका प्रत्येकजसो घरका एक न एक युवा विदेशिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काभ्रेको पछिल्लो तथ्याङ्कले समेत विदेशिने व्यक्तिहरुको सङ्ख्या विगतका वर्षहरुमा भन्दा दोब्बर भएको देखाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार चालु आर्थिक वर्ष २०७०/७१ को पछिल्लो पाँच महिनामा मात्रै चार हजार ३६१ जनाले जिल्लाबाटै राहदानी लिएका छन् भने जिल्लाबाट सिफारिस लिएर सिधै परराष्ट्रबाट राहदानी लिनेको सङ्ख्या त्यतिकै सङ्ख्यामा छ ।

Saturday, January 25, 2014

बुबाको सम्झना बृद्धबृद्धालाई भोजन

पत्रकार सुशील शर्माले आफ्ना दिवंगत बुबाको सम्झनामा शनिवार प्रशान्ति बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराएका छन् ।

दिवंगत बुवा इमाखर अधिकारीको सम्झनामा शर्माले आफ्ना आमा कौशिला अधिकारीसहित सहभागी भएर भोजन गराएका हुन् । उनले पहिले ब्राह्मणलाई दान पिण्ड दिने गरिएकोमा अवदेखि माघ ४ गते बृद्धाश्रमका बृद्धबृद्धालाई भोजन गराउने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा उनलाई बृद्धाश्रमले सम्मानसमेत गरेको थियो । करिव ५० जना बृद्धबृद्धालाई भोजन गराइएको छ । भोजन कार्यक्रममा बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले दाताहरुको सहयोगले बृद्धाश्रम संचालन भएकोले यसलाई क्षेत्रीय स्तरको बनाउन आग्रह गरेका छन् ।

ए डिभिजन लिगमा मनाङलाई तीन अंकको अग्रता

११ माघ, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लिग लिडर मनाङ मस्र्याङ्दीले ३ अंकको अग्रता कायम गरेको छ ।

शनिबार भएको खेलमा संकटालाई २–० ले पराजित गरेको मनाङको ८ खेलबाट १९ अंक भएको छ । समान खेलबाट दोस्रो स्थानमा रहेको थ्रीस्टारको १६ अंक छ भने तेस्रो स्थानमा रहेको मच्छिन्द्रको १४ अंक छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटले मनाङलाई ६० मिनेट बढीसम्म रोकेको थियो । तर, ६६ औं मिनेटमा योनाले शुलभ मास्केको पासमा गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा अनिल गुरुङले शिव श्रेष्ठको पासमा गोल गर्दै मनाङको जित पक्का गरे ।
अर्को खेलमा जाउलाखेलले ब्वाइज युनियनलाई १-० गोल अन्तरले पराजित गरेको छ । उसका लागि खेलको पााचौं मिनेटमा भेट्रान खेलाडी प्रदिप महर्जनले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि ८ खेलबाट १० अंक जोडेको जाउलाखेल ११ औं स्थानमा छ र उसले रेलिगेशनको खतरा टार्दै लगेको छ । ब्वाइज युनियनको ८ खेलबाट ४ अंक छ भने पुछारमा रहेको आरसीटीको ९ खेलबाट १ अंक मात्र छ ।