Wednesday, September 25, 2013

डरलाग्दो सिंहसित युवतीको मस्ती


देख्दै डरलाग्दो, एक क्विन्टल भन्दा पनि बढि तौलको, झम्टेला की भन्ने जस्तो । सेतो खैरो रंगको सिंहलाई देख्दा जो कोहीको पनि आङै सिरिंग हुन्छ । तर ३१ वर्षकी एक युवती भने त्यो सिंहसँगै हेलमेल गरिरहन्छिन् । उसलाई अँगालो हाल्छिन्, अँगालो हाल्न दिन्छिन् । डेढ वर्ष उमेरको त्यो टिम्बा नामको सिंह एन्नेल स्नेम्यानका लागि साँच्चीकै साथी जस्तै भएको छ ।


दक्षिण अपि|mकाको वाटरवर्ग क्षेत्रमा युवती र उनको सिंहबीचको दोस्ती देख्दा जो कोहीपनि अचम्ममा पर्छन् । गएको वसन्त ऋतुमा सानो डमरुलाई घरमा ल्याएर पालेकी एन्नेलले त्यसको नाम टिम्बा राखिन् । अहिले त्यो डमरु बडेमाको सिंह बनिसकेकेा छ । एन्नेल र टिम्बाको असाधारण जोडी अहिले धेरैका लागि आश्चर्यको विषय बनिरहेको छ ।
lion2
गेष्ट हाउस संचालन गरेकी एन्नेलले केवल यो टिम्बा मात्र पालेकी छैनिन् । उनले धेरै बिराला, चिताको डमरु, पाँचवटा सिंह तथा चितुवा समेत पालेकी छिन् ।
टिम्बाले दिनको ४ किलो मासु खान्छ र त्यसलाई पाल्नु निकै महंगो छ । तर ती जनावर प्रेमी महिलाले ठूलै खर्च गरिरहेकी छिन् । त्यो हिंश्रक जिवले कुनैदिन आक्रमण पनि गर्न सक्छ तर उनलाई त्यसकेा कुनै परवाह छैन । एन्नेलको जिवनमा टिम्बा यति नजिक भैसकेको छ की ऊ एन्नेलको ओछ्यानमा समेत सँगै सुत्छ कहिलेकाहीँ ।
lion3 lion4 lion5 lion6 lion7 lion8 lion9
- See more at: http://www.onlinekhabar.com/2013/09/119551/#sthash.xnJdQBIV.Cf39HPdO.dpuf

Saturday, September 21, 2013

दिल्लीमा यसरी भेटिए नेपाली चेली


कमजोर अनि पुराना खाट, त्यसमाथि फोहर र थोत्रो तन्ना…..छरपस्टरुपमा फालिएका अस्थाई साधन (कन्डम) का खोलहरु । भित्तामा लामखुट्टे र उडुस मारेरबनाइएको रातो कालो टाटेपाटे धर्का । कोठाहरु पनि खाटकै आकारका एकदमै साघुँरा ।

तर,निस्सासिएका ती अध्यारा अनि डरलाग्दा कोठाहरुमा दुनियाँभरिमा पाइने मोजमस्तीका साथै बिलासिका चिज़बस्तुहरु चाहिएको समयमै आइपुग्छन् । तर, हावा भने कहिले पुग्दैन। यी अँध्यारा मैला कोठाहरुले थुप्रै यौनपिपाशुहरुको मनलाई तृप्त गर्ने गर्दछन् ।

भारतको राजधानी नयाँ दिल्लीस्थित पहाडगंजको कोठी नं ६४, जहाँ सैयौंको संख्यामा कलिला नेपाली चेलीहरुलाई बन्दी बनाएर नर्कको जीवन बाँच्न बाध्य पारिएको छ। दैनिकरुपमा एक जनाले ५० देखि ६० यौनपिपासुहरुको मन शान्त पार्नु उनीहरूको दैनिकी बनेको छ ।ती कोठरीहरुमा यौनचाहना मेटाउन चाहनेहरुमा भारतीय, बिदेशी गोरा लगायत नेपालीहरु पनि पर्दछन् । साँझ परेपछि पहाडगंजको सडकमा यसैका लागि भनेर ठुलो भिड देख्न सकिन्छ ।बिशेष गरी बेलुका ५ बजेदेखि राति १२ बजेसम्म हजारौ संख्यामा यौन पिपासुहरुको आवत जावत हुने यस सडकलाइ जीपी रोडका नामले सजिलैसँग चिन्न सकिन्छ। केही दिन अगाडि मलगायत दुइजना नेपालीहरू वास्तविकता के रहेछ भनेर जीपी रोडतर्फ लाग्यौं ।

समय साँझ ७ बजेको थियो । हामी खोज्दा खोज्दै जीपी रोडमा रिक्साबाट झर्नेवितिकै एउटा भर्खरको उमेरले लगभग १७ बर्षको युवा हुनुपर्छ, ले सोध्यो ६४ कहाँ पडता है ? हामीलाई पनि थाहा थिएन । त्यो यूवा हतार हतारमा अगाडि बढ्यो । लाग्यो, यसका पछि पछि जाऔं भनेर हामीले पनि उसलाई पिछा गर्न थाल्यौं ।मन थामी नसक्नू भयो । खुट्टा काँपिरहेका थिए। यो जीपी रोडको माहौल देखेर मनमा धेरै तर्कनाहरु उछाल खेल्न थाले । फेरि एउटा बंगालीले पनि सोध्यो, भाइ ६४ कहां है ? हामी पनि त त्यही ६४ खोज्दै हिडेका थियौं । अगाडिको केटा त्यो भिडबाट हराइसक्यो । अब यही सरदारलाई पिछा गर्ने भनेर उसको पछिपछि लाग्यौं ।दिल्लीको त्यो चरम गर्मी उसै पनि खप्न गाह्रो । पसीनाले भिजेर निथु्रक्क हामी जीपी रोडमा अगाडि हिँड्दै गर्दा त कहाँ ६४ ? त्यहाँ त ठुलो बजार नै    रहेछ । मलाई त्यतिबेला ठमेल र रत्नपार्क अनि दरबार मार्गको सम्झना आयो । काठमाण्डौको रात्री जीवन र यौन व्यवसायीहरु कोही बाटोमै त कोही होटेल, रेष्टुराँ अनि कोही ठूल्ठूला स्टार होटेलमा पनि हुने गरेका परिदृश्य दिमागमा फल्यासआउट भए ।

जीपी रोडको बाटोमा पिछा गर्दै जाँदा २० मीटरजति पछि त्यो पञ्जाबी र उसका साथीहरु एउटा सानो गल्लीमा पसेको देखें, उनीहरुभित्र गइसकेपछि हामी त्यहाँ अडियौं । त्यहीँ अगाडि खुद्रके सामान बेच्ने साहुलाई सोध्यौँ । भाइ साहेब ६४ कहाँ है ? अबे सामने नही देखरा है ? कान्छी है कान्छी । तुम्हारे गाउँके है, सब, अच्छी अच्छी माल मिलती है । जाओ उधर । त्यो साहुको कुरा सुनेर म त पागल झै भएँ । दिमाग चक्कराउन थाल्यो, खुट्टा काँप्न थाले । धर्ति चिरिएर भासिएको जस्तो लाग्यो । पुरै आकाशमै माथि आएर थिचे झै भयो । मनमा आगो बल्यो । हामीलाई यति साह्रो हेपेर बोल्यो कि मैले उसको कुरा सुन्नै सकेको थिएन । तेरे गाऊँ के लड्किया भन्दै छ, म बर्बराउन थालंेछु । मलाई साथीले आवेशमा नआउन अनुरोध गरेपछि सम्हालिएँ…….। लामो सुस्केरा हाल्दै, पछी पो थाहा भयो म एउटा नेपालीले महान भारतको राजधानी दिल्लीमा, त्यो पनि जीपी रोडमा छु भनेर । पछि आफूलाई सम्हाल्दै त्यही पसलमा १ बोटल पानी किनेर खाएँ । साथीले ल ल फर्किउ भन्दै थिए तर पछि मैले उल्टै सम्झाएँ । हामी यहाँ आउनुको मुख्य कारण बताएर सम्झाएँ ।

तीनैजना बिस्तारै भर्याङ. चढ्दै थियौं । खुट्टाको मासु नै पल्टिएला झै लाग्दैछ । मुटुको ढुकढुकी एक मिनेटमै १७१ पुगिसक्यो । डर, भय, त्रास सबै कुरालाई मनमै थाती राखेर एक सुरमा भित्र पस्यांै । एक तलामाथि के पुगेका थियौं त्यहाँ त २ जना दिल्ली पुलिसका जवान डिउटी मै खटिएका रहेछन् । मैले साथीहरुलाई भनें भाग, भाग । अब हामीलाई पनि थुन्ने भयो, तीनैजना कुदेर १ कि मी टाढा पुग्यौ । धन्य हो, भगवान पशुपति बचाइस् भन्दै पहाडगञ्ज डेरासम्म आइपुग्यौं ।

दोस्रो साताको प्रयास

फेरि अर्को साता मलगायत साथीहरु त्यही ठाउँमा गयौं । वास्तविकता देखेर मात्र हुँदैन, बुझ्नुपर्छ भन्दै रु १२ सय भारु तिरेर ४ सयका दरले तीनजनाले त्यहीँ बस्ने पूर्व तयारीका साथ रातभर त्यहीँ बस्ने भनेर गयौं ।त्यहाँ जसले जुन केटी रोजे पनि हुँदो रहेछ । तर सबै जना पाचांैतलाको माथिल्लो छतमा सँगै सगोलमा बस्नु पर्ने । करीब २ सयजना ग्राहकसँगै थिए । २० जना जति नेपाली युवाहरु पनि त्यहीँ देखिन्थे । रक्सीको गन्ध, चूरोटको धूवाँ बस्न लायक नै छैन । उकुस मुकुस, दिल्लीको गर्मी । एउटी १३ बर्ष जतिकी बहिनीसँग बसेर सयौं जनाको बीचमा कुरा गर्न पनि कस्तो गाह्रो ।

नुवाकोट घर बताउने ती बहिनी नाम परिवर्तीत (सविना…) चुरोट किन्न पैसा छ दाइ भन्दै म र साथी संग ३०/३० मिनेटको हाराहारीमा २० मागिन् । सविनालाई सोध्यौं बहिनीको नाम के हो? घर कता हो? कसरी आइपुग्यौ? यस अँध्यारो कोठीमा कसले पुर्यायो ? आदि इत्यादि । चुरोट तान्दै नसुकेका ती ओठमा लिपीस्टिक, गाजल लगाएर चूल्ठो बाटेर चिटिक्क सविनालाई न घरको चिन्ता छ, न समाजको । केवल चिन्ता छ त पैसा कमाउने । रात छिप्पिँदै जाँदैछ, करीब मध्यरात भएको छेउ मै रहेको रेलवे स्टेशनको रेलको आवाजले संकेत गर्दैर्छ । त्यहाँ कसैलाई कसैको डर छैन । निर्धक्क छन् सबै ।

एकै छिनमा पानी पर्‍यो । छतको माथि टहराझै त्रिपालले छाएको छ । पानी तर्तर् गर्दैछ । हाम्रो कुराले गतिलिन छोडिसक्यो । त्यतिकै बसेँ । एकछिनमै जुन लाग्यो । म त अब रिसाउँछु बोल्दै बोल्दिँन, रुने मान्छेसंग दिल खोल्दैन..पानी परेपछिको आकाश खुले झै…. यो गीत मेरो मुखबाट अनायासै आयो, सविना हेरेकी हेर्यै भई र बोल्न थाली-

‘दाइहरु रिसाउनु भएको हैन ? किन र ? जवाफ फर्काउँछिन् । दाइले गाएको गीत र मौसम ठ्याक्कै मेल खायो । ‘दाइ मलाई त कलिलै उमेरमा यहाँ ल्याइपुर्‍यायो। ल्याउने मान्छे पनि चिन्दैन । मेरो घरको मान्छेलाई पनि थाहा छैन । म पनि बिर्सिसकें, कस्तो छ मेरो गाउँ ?……तर दाइ हामो्र गाउँमा पनि यस्तै पानी पर्छ । हाम्रो गाउँमा पनि यस्तै जून लाग्छ । हामी घाँस काट्न मेला जाने गथ्र्यौ, अरु मलाई केही थाहा छैन । …..लामो सास फेर्दै भन्छिन् गाउँ जाने मन त थियो, जाने कसरी ? यो ठाउँबाट बाहिर निस्कनै दिँदैनन् ।’

दुःख कतिको हुन्छ त…..? प्रश्न गर्न नपाउँदै, ‘तपाई त मेरै दाइजस्तै लाग्यो, बाच्न दिनु न, हामी नेपाल फर्किन्छौं भन्न थालिन् । माइती नेपालको नाम पनि थाहा रहेछ सविनालाई । भन्दै थिइन्- नेपाल गयो भने त घर जान नपाए पनि त्यही संस्थामा बस्ने थियौं ।

विहानको ४ बज्न थाल्यो । सविना भन्दै थिइन्-दाइ सहयोग गरिदिनूहोस् है । हामी पनि हुन्छ भन्दै बाहिर निस्क्यांै । तर, के नै गर्न सक्थ्यौं र हामीले…. । देशमा यतिका महिलाहरुको हकहितका लागि लड्ने भन्दै अधिकार खोज्ने ३३ प्रतिशत महिला सभासददेखि महिला अधिकारवादी संस्थाहरुले सविनाजस्ता हजारौं नेपाली चेलीहरुको रोदन कहिले सुन्न सक्लान् ? दिनानुदिन चेलीहरुलाई भारतका मुख्य शहरहरुमा वेश्यावृति गर्न वाध्य पार्ने ती दलालहरुलाई न प्रहरीले केही गर्न सकेका छन् न सामाजिक सञ्जालहरुले नै । महिला मन्त्रालयको काम यसभित्र पर्छ कि पर्दैन ? नेपाली राजदुतावास भारतमा के गर्दैछ ? भन्ने प्रश्नको जवाफमा त्यहाँ बस्ने नेपालीहरुले ट्रेनको टिकेट काट्ने काम बाहेक एउटा झिँगा मार्न नसकेको गुनासो गर्छन् ।

जय हो । नेपालको कानुन दैवले जानुन्……।

Wednesday, September 18, 2013

भाइकाजी तिवारीले सर्वोत्कृष्ट निजामती पुरस्कार पाउँदा उनकै आदेशले घर भत्केर बेहाल भएकी लाजिम्पाटकी लक्ष्मी तुलाधर भक्कानिंदै थिइन् ।

सरकारले यो वर्षको निजामती सेवा दिवसमा पुरस्कृत गरेका ४१ जना निजामती कर्मचारीमा पनि सर्वोत्कृष्ट ठहरिए, भाइकाजी तिवारी ।

२१ भदौको मन्त्रिपरिषद् बैठकले सर्वोत्कृष्ट मानेका उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त छन् । दुई वर्षदेखि शुरू भएको राजधानीको सडक विस्तारका लागि उनी चर्चित छन् ।
सडक विस्तारले राजधानीका साँघुरा सडक चौडा बनाएपछि ट्राफिक जामको समस्या केही घटेको छ । तर, यसको अर्को पाटो, राज्यले जसरी पनि सडक विस्तार गर्दा कतिपयलाई ‘दैव लागे’ जस्तो भयो । तिनैमध्येकी काठमाडौं लाजिम्पाटकी ५३ वर्षीया लक्ष्मी तुलाधर अहिले तिवारीले सर्वात्कृष्ट पुरस्कार पाउँदा भग्नावशेष बनेको घरको कुनामा असह्य पीडाबोध महसूस गर्दै बसेकी छन् । उनी भन्छिन्, “हामीलाई घरभित्र जिउँदै पुरेको भए अझ् ठूलो सम्मान पाउँथे होलान् ।”
उजाडिएको भविष्य
१५ असार बिहानको सात बज्दा लक्ष्मीले घर बाहिर हल्लीखल्ली सुनिन् । छोराहरू ओछ्यानमै रहेकाले के भएको भनी बाहिर निस्केर हेर्दा उनले ठूलो डोजर आफ्नो घरतिर सोझ्एिको देखिन् । केहीबेरमै डोजरले उनको तीनतले घर भत्काउन थाल्यो, जसलाई उनी र परिवारका सदस्यको हारगुहारले रोक्न सकेन । घरले पुर्ला भनेर ज्यान जोगाउन लाग्दा घरका धेरै सामान बाहिर निकाल्न पनि भ्याएनन्, उनीहरूले ।
डोजर लगाएर भत्काइएको घर अगाडि उभिएकी लक्ष्मी
डोजर लगाउनेहरूले नै घरका कैयौं सामानहरू ट्रकमा हालेर लगे भने कैयौं सामान पुरिए । त्यसरी लगिएको सामान अझै फिर्ता नपाएको लक्ष्मी बताउँछिन् । केहीबेरमै सात वटा पसल सहित १४ कोठे सो घर ओत मात्र लाग्न मिल्ने सानो कुना छाडेर सबै भत्कियो । अहिले उनीहरू त्यही कुनामा गुजारा चलाउँदैछन् । तीन दशकअघि बिहे गरेर यो घरमा भित्रिएकी लक्ष्मी २०५१ मा ललितकला क्याम्पसमा काम गर्ने पतिको मृत्यु भएपछि घरको मूली बनेकी थिइन् ।
आम्दानीको अरू स्रोत नभए पनि घरभाडाले गुजारा चलेको थियो । पतिको मृत्यु हुँदा गर्भमा रहेको कान्छो छोरो मञ्जिलरत्न (१८) ले यो वर्ष एसएलसी उत्तीर्ण गरेका छन् । तर, उनलाई कसरी पढाउने भन्ने चिन्ता लक्ष्मीलाई थपिएको छ । माइलो छोरा सञ्जीलरत्न (२७) तीन सातादेखि बिरामी परेका छन् । घर भत्किएपछि दुवै छोराको मानसिक स्थिति पहिले जस्तो नहुँदा उनको चिन्ता अरू बढेको छ ।
बीआईटी (ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी) पढेर पनि उत्तीर्ण नभएका विवाहित जेठो छोरा अञ्जिलरत्न (३०) घर भत्केपछि पत्नी बिरामी भएकाले ससुराली बस्न थालेका छन् । विगत र वर्तमान तुलना गर्दा भक्कानिने लक्ष्मी बहिनीको सहयोगले जेनतेन गुजारा चलाएको बताउँछिन् ।
घर भत्किंदा बिजुली र खानेपानीको लाइन काटिएको र शौचालय पनि भत्केको छ । सडकबाट भत्केको ठाउँ हुँदै छिर्ने धूलोको मुस्लो रोक्न पुराना काठको छेकबारले सकेको छैन ।
निर्दयी राज्य
सडक विस्तारले आफ्नो घर भत्किने भएपछि लक्ष्मी पनि अरू जसरी नै महानगरपालिका, सडक विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । बासको अर्को व्यवस्था भएपछि आफैं घर भत्काउने उनको वचन अनुसार ती कार्यालयका प्रमुखहरूले पनि ‘अर्को व्यवस्था नभएसम्म नहटाउने’ आश्वासन दिएका थिए । त्यस अनुसार, कामदार खटाएर ईंटा र काठ जोगाउँदै उनले घर भत्काउन पनि थालिन् । तर, १५ असारमा ‘माथिको आदेश’ भन्दै ईंटा निकाल्न पनि समय नदिई उनको घरमा डोजर चल्यो ।
भत्काउनुअघि लक्ष्मीको घर
त्यसअघि उनी काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापित र जिल्ला आयुक्त भाइकाजी तिवारीकोमा पनि पुगेकी थिइन् । चार पुस्ता बसेको सो घर अहिले कान्छी छोरी अनितासँग बस्ने उनकी ८० वर्षीया सासू अष्टकुमारीको नाममा थियो । तर, स्थापित र तिवारीले भने अनुसार लालपुर्जा लैजान खोजी गर्दा मात्र उनलाई सासूको कान्छी छोरीले घर बेचिसकेको थाहा भयो । त्यसपछि स्थापितले सुझाए अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको र अहिले पनि मुद्दा चलिरहेको उनी बताउँछिन् ।
लक्ष्मीको घर भत्केपछि ११५ जना टोलवासीले ‘लक्ष्मी सुकुम्बासी नभएर लाजिम्पाटकै स्थायी बासिन्दा भएको’ व्यहोरा लेखी हस्ताक्षर गरिदिए । जसलाई बोकेर उनी सबै सरकारी कार्यालय पुगेकी छिन् । त्यो कागजात लिएर पुगेकी उनलाई तिवारीले भत्काउने निर्णय माथिबाट भएकाले ‘माथि’ नै जान भने । लक्ष्मी भन्छिन्, “पुग्नुपर्ने सबै ठाउँ पुगे पनि कतैबाट न्याय पाइनँ ।”
काठमाडौं उपत्यकाको चक्रपथमा केन्द्रबाट ३१–३१ मीटर, अरनिको राजमार्ग र त्रिभुवन राजपथमा २४–२४ मीटर, चक्रपथ भित्र र बाहिरका मुख्य सडकमा ११–११ मीटर, शाखा सडकमा ७–७ मीटर र उपशाखा सडकमा ५.५–५.५ मीटर छाड्नुपर्ने नियम अनुसार सरकारले सडक भत्काएको हो । जसको, शिकार १०० वर्षअघि बनेको लक्ष्मीको घर पनि भयो ।

Thursday, September 5, 2013

तलब नदिदा एवीसी टेलिभिजनका कर्मचारीद्धारा आत्महत्या

काठमाडौ, २० भदौ । नेपालका अधिकांश नीजि क्षेत्रका टेलिभिजन कार्यरत पत्रकार र कर्मचारीहरुले तलब विना काम गरिरहनु परेको घट्ना नौलो होईन ।


एक एक वर्षदेखि तलब नपाएर पत्रकारहरु यो क्षेत्रबाटै पलायन हुनु परेको, तलब माग्दा जागिर गुमाउनु परेको र मालिकबाट अपमानित र कुटाईसमेत खानु परेको घटना पनि नौलो रहेन ।
बजार र आवश्यकताको लेखाजोखा नगरी च्याउसरी टेलिभिजन खुल्दा लामो समयदेखि यस्तो समस्या नेपाली पत्रकारिता क्षेत्रमा विद्यमान रहेको यथार्थ तथ्य हाम्रो सामू छर्लङ छ ।
तर विडम्बना नै भन्नु पर्छ आमसञ्चारमाध्यममा काम गरेर लामो समयदेखि तलब नपाएर अन्ततः आत्महत्या नै गर्नु परेको अवस्था नेपाली सञ्चार क्षेत्रकै लागि लाजमर्दो अवस्था हो ।
एवीसी टेलिभिजनमा प्राविधिक पदमा कार्यरत कर्मचारी सञ्जिव आचार्यको मृत्यू बरणको घटनाले त्यस्तो अवस्था उत्पन्न भएको छ ।
उनका आफन्त र सोही टेलिभिजनमा कार्यरत कर्मचारीहरुले रिपोर्टर्स नेपाल डटकमलाई दिएको जानकारी अनुसार विगत ६–७ महिनादेखि सो टेलिभिजनबाट तलब नपाएको र सोही कारण अन्ततः हिजो यूएन पार्कको एक रुखमा झुण्डिएर आत्महत्या गरेको आरोप सहितको जानकारी दिए ।
उनका साथीहरुका अनुसार विगत लामो समयदेखि आचार्यले तलबको माग गर्दै आएका थिए । तर ब्यवस्थापनले तलब नदिएपछि उनले साथीहरुसँग सय पचास रुपैया मागेर आफ्नो जीवन चलाउँदै आएका थिए । भने पेट्रोल हाल्ने पैसा नभएर लामो समयदेखि मृतक आचार्यले मोटरसाईकल समेत थन्काएका थिए ।
तलब नदिईरहेकै अवस्थामा केही समय अघि सो टेलिभिजनका कर्मचारीहरुले तलब बढाउन र बक्यौता दिन आन्दोलन समेत गरेका थिए । त्यसबेला सो टेलिभिजनका हर्ताकर्ता रहेका शुभशंकर कडेलले आन्दोलनमा रहेका अन्य कर्मचारीको पाँच हजारको दरले बढाई दिएको र आचार्यको नबढाएपछि उनी फ्रस्टेसनमा रहेको उनका साथीहरुले बताएका छन । सोही क्रममा उनले आत्महत्या गरेको उनीहरुको दावी छ ।
लामो समयदेखि तलब नपाएर पनि काम गरिरहनु परेका कर्मचारीहरुले शुभशंकर कडेलसँग नजिक हुनेहरुले समयमै तलब पाए पनि अन्यले भने लामो समयदेखि तलब नपाएर कठिन जिवन गुजार्नु परेको गुनासो समेत गरेका छन् ।

Sunday, September 1, 2013

रेखा थापा पर्साबाट चुनावमा उठ्ने

एकीकृत माओवादीमा प्रवेश गरेकी अभिनेत्री रेखा थापालाई पर्साबाट संविधान सभा निर्वाचनमा चुनाव लड्न प्रस्ताव आएको छ। भोजपुरा राज्य समितिको बैठकमा अभिनेत्री थापालाई पर्साको कुनै पनि क्षेत्रबाट निर्वाचनमा उम्मेद्वार बनाउनुपर्ने माग अधिकांश सदस्यले गरेको भोजपुरा राज्य समिति संयोजक प्रभु साहले बताए।

 
बैठकमा थापालाई पर्सा क्षेत्र नं १ बाट उम्मेद्वार बनाउन माग गरिएको बताइएको छ। बैठकमा थापालाई उम्मेद्वार बनाउन माग गरेपछि बैठकबाटै थापासँग एमाओवादी नेताहरुले फोन सम्पर्क गरेका थिए। अभिनेत्री थापाले प्रस्ताव आफूलाई स्विकार भएको बताएकी थिइन्। 'थापाले स्विकार गरेपछि, आन्तरिकरुपमा टिकट दिने सहमति भयो,' बैठकमा सहभागी एमाओवादीका एक नेताले नागरिकन्युजसँग भने। 

यता अभिनेत्री थापाले आफूलाई मोरङ १ र पर्सा, वीरगञ्ज क्षेत्रबाट चुनाव लड्ने प्रस्ताव आएको नागरिकन्युज सँग बताइन्। उनले भनिन् 'पार्टीका साथीहरुले प्रस्ताव गर्नुभएको छ, पार्टीकै निर्देशनअनुसार निर्वाचनमा उम्मेद्वार बन्छु।' उनले आफूले टिकट पाएमा अत्याधिक बहुमतले जित्नेअसमेत दाबी गरिन्। उनले पार्टीको सिफारिस अनुसार मोरङ वा पर्सा को कुनै क्षेत्रबाट निर्वाचनमा उम्मेद्वारी दिने बताइन्।

बैठकले एमालेबाट एमाओवादी प्रवेश गरेकी उर्मिला अर्याललाई पनि पर्साकै कुनै क्षेत्रबाट संविधान सभाको निर्वाचनमा टिकट दिने सहमति गरेको छ।

रंगशाला छिर्न खोज्दा ३ जना घाइते

काठमाडौं, भदौ १५ (नागरिक)– बंगलादेशविरुद्ध नेपाली राष्ट्रिय टोलीको फुटबल हेर्न चोर बाटोवाट रंगशाला छिर्न खोज्ने तीन पर्खाल र रुख ढलेर घाइते भएका छन् ।काठमाडौं— आठौं साफ च्याम्पियनसिपको उदघाटन खेल हेर्न उत्तरपट्टीको सेना गेटबाट छिर्न खोज्नेलाई पर्खाल भत्किएर तथा रुख ढलेर थिचेको प्रहरीले जानकारी दिएको छ ।

रंगशाला छिर्न खोज्ने हजारौंको भिड लागेका बेला पर्खालको डिल भत्किएको थियो । पर्खाल भत्किएर इटाले टाउकोमा लाग्दा पाँच वर्षका एक वालक गम्भिर घाइते भएका थिए भने रुख डलेर च्याप्दा अन्य दुई सामान्य घाइते भएका थिए । घाइतेहरुलाई तत्काल उपचारार्थ वीर अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । खेल सुरु हुनुभन्दा आधा घन्टाअघि साँझ ६ बजे घटना भएको थियो।
खेल सुरु हुनुभन्दा घन्टौं अघिदेखि त्रिपुरेश्वर क्षेत्रमा रंगशाला छिर्न खोज्ने दर्शकको चहलपहल भइसकेको थियो । बिहान ११ बजेदेखि सबै टिकट विक्रि काउन्टरमा लामो लाइन सुरु भइसकेको थियो । खेल हुन एक घन्टा बाकी रहँदा नै रंगशाला पूरा भरिएको भन्दै मुलगेटका सुरक्षाकर्मीले टिकट भएकालाई समेत प्रवेशमा रोक लगाएपछि केहीवेर नारावाजी भएको थियो ।

प्रहरीले सुरक्षा व्यवस्थाको जिम्मा लिदै टिकट भएकालाई छिराएपछि माहोल शान्त भएको थियो ।

प्रतियोगिताको स्थानीय आयोजक अखिल नेपाल फुटबल संघले नेपाली टोलीको सफलतासँगै खेलदौरान कुनै दुर्घटना नहोस भन्ने कामनाका साथ रंगशालामा संकल्प पूजाका साथ पञ्चबलि गरेको थियो ।

शनिवारको खेलको सुरक्षामा महानगरिय प्रहरी आयुक्त कार्यालयले एक हजार बढी प्रहरी परिचालन गरेको थियो । खेलाडी, मुल गेट, र दर्शकदिर्घाको सुरक्षामा प्रहरी खटिएको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमूख डिएसपी उमेश जोशीले जानकारी गराए । प्रहरीसँगै गरुड सेक्युरिटिजका सुरक्षाकर्मीहरु रंगशालामा परिचालन भएका थिए ।

प्रतियोगिता अवधीभर विभिन्न देशका खेलाडी बसेका होटल र उनीहरुको आवतजावतका लागी समेत प्रहरी खटाइएको आयुक्त कार्यालयले जानकारी दिएको छ ।

होटल पेरिमिटलको सबै सुरक्षालाई प्रहरी खटाइएको छ । प्रतियोगिताका लागि आएका सबै टोलीका खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीलाई चौविसै घन्टा प्रहरीको स्कर्टिङ उपलब्ध गराइएको छ ।

दशरथ रंगशालाको सुरक्षाका लागिमात्र १ हजार सुरक्षाकर्मी खटाइएको छ भने विभिन्न टोलीका लागि खटाइएकासहित साफ च्याम्पियनसिपलाई नेपाल प्रहरीले १ हजार ५ सय प्रहरी परिचालन गरेको महानगरीय प्रहरी घटना सहायता कार्यदलबाट डिएसपीको कमान्डमा सुरक्षा टोली परिचालन गरिएको आयुक्त कार्यालयका एक अधिकारीले जानकारी गराए ।

नृत्य नै मेरो ब्वाइफ्रेन्ड हो




'वास्तवमा मलाई फरक अन्तर्वार्ता दिन मन थियो,' पार्वती राईको सुरिलो आवाज गुञ्जियो, 'आज त्यो रहर पूरा हुने भयो।' नयाँ बानेश्वरस्थित एउटा क्याफेको कुनामा उनी आफ्नो संघर्ष, सफलता र जीवनको भित्री पाटो खोतल्न आतुर थिइन्।

'आज घडी लगाउन छुटाएछु।' आफ्नै हाततिर नजर लगाउँदै पार्वतीले मुख खोलिन्, 'प्रायः म ठूलो साइजको घडी लगाउन मन पराउँछु।' विशेष गरी दोहोरी र तीज गीतको म्युजिक भिडियोकी 'हट् केक' राई गगल्सकी सौखिन हुन्। कतै निस्कँदा उनका आँखाहरू गाजलले सजिएका हुन्छन्, ओठहरू लिपिस्टकले पोतिएका हुन्छन्। कोठामा ८/१० वटा गगल्स छन्। बजारमा नयाँ आइटमको गहना आयो कि उनलाई किन्न मन लागिहाल्छ। सुनभन्दा चाँदीका गहनाप्रति उनको मन बढी लोभिन्छ। उनी घर बाहिर निस्कँदा इयर रिङ लगाउन छुटाउँदिनन्। सबैभन्दा बढी मनपरेको गहना भएर होला घरमा इयर रिङकै संख्या बढी छ, तर कति छ, उनलाई ठ्याक्कै सम्झना छैन। थरीथरीका औंठी त्यस्तै १५/२० वटा भएको अनुमान गर्छिन्। त्यसबाहेक आफ्नै कमाइले किनेको सुनको सिक्री, एकजोर चाँदीको बाला र नेकलेस छ।

'कमाएको पैसा सपिङ र मेकअपमै त जान्छ।' कफीको चुस्कीमा पार्वतीका गुलाबी ओठहरू चलमलाए, 'तर म बचत पनि गर्छु।' एकपटक सपिङ गर्न जाँदा २०/३० हजार रुपैयाँ खर्च हुने उनले बताइन्। टि-सर्ट, पाइन्ट र वानपिस लगाउन सबैभन्दा सजिलो लाग्छ। लेहंगा र झुमरमा उनको मन बसेको छ। दौडधूपको दैनिकी हुनाले सारी-कुर्ता लगाउन उनलाई अप्ठ्यारो लाग्छ। सुरु-सुरुमा थाइकट मन परे पनि यतिबेला भने रहर फेरिएको छ। उनी अहिले लामो केश पाल्न रुचाउँछिन्। रातो मेहन्दीले हाइलाइट गरिएको उनको लामो केश कुमको अगाडि पट्टी छाडेको खुब सुहाएको देखिन्थ्यो।

पार्वतीलाई तीन वर्षअघि म्युजिक भिडियोमा नाच्ने अवसर जुर्‍यो। राजु गुरुङ र मुना थापा मगरले स्वर भरेको हेर्छौं ओठ टोकी गीतमा उनको पहिलो प्रस्तुतिले आमदर्शकको मन जित्यो, त्यसैबाट उनको पहिचान बन्यो। यतिबेला हरेक दर्शकको मुखमा झुन्डिने प्रायःजसो लोकदोहोरी तथा तीज गीतका म्युजिक भिडियोमा पार्वतीलाई नै देख्न पाइन्छ। पार्वतीको विचारमा एउटा राम्रो म्युजिक भिडियो बन्नुमा मुख्यतया निर्देशकको हात हुन्छ र त्यसपछि कलाकारको अभिनय आउँछ। हात, मुद्रा र हरेक स्टेपमा स्पष्टता भएकै कारण आफू अरूभन्दा भिन्न देखिएको उनी बताउँछिन्।

पार्वतीलाई कहिलेकाहीँ छिटो दौडिएँ कि जस्तो पनि लाग्छ। उनले दिनमा कम्तीमा एउटा बढीमा तीनवटा म्युजिक भिडियोमा काम गर्न भ्याएकि छिन्। दुई वर्षअघि १ लाख ६० हजार रुपैयाँ खर्चेर किनेको स्कुटरले उनको जीवन सहज बनाएको छ। एकाबिहानै जोरपाटीस्थित निवासमा उनलाई लिन सुटिङको गाडी आइपुग्छ। सुटिङ स्पटमा चना, चिउरा र अण्डाबाट सुरु हुने दैनिकीले अबेर साँझ मात्र विश्राम पाउँछ। कुनै दिन त राति अबेरसम्म सुटिङमै व्यस्त भइन्छ। राई समय र मागअनुसार चल्न सिपालु छिन्। त्यही व्यस्तताले ब्युँझिने र सुत्ने दैनिकी एकै प्रकारको छैन। कामअनुसार फेरबदल भैरहन्छ। उनलाई जतिबेला पनि काममा व्यस्त भैरहन मन लाग्छ। 'काम भएन भने त बहुलाउँछु होला,' जोसिँदै राईले सुनाइन्, 'घरमा एकछिन पनि बस्न सक्दिनँ।' पार्वती फुर्सदमा घर सफा गरेर वा फेसबुक चलाएर बस्छिन्। उनलाई बढीजसो त काममै डुबिरहन मन लाग्छ। प्रतिस्पर्धाको जमाना छ। भीड ठूलो छ। यद्यपि यसो भन्दैमा उनी कत्ति पनि डराएकी छैनन्। कडा परिश्रम गर्दै सधैं पहिलो हुन पाए हुन्थ्यो भन्ने उनलाई लागिरहन्छ।

'आफूलाई दोहोरी म्युजिक भिडियोकी हट् केकजस्तो लाग्छ।' मुसुक्क मुस्कुराउँदै पार्वतीले सुनाइन्, 'सबैले खान खोज्छन् नि।' नृत्यले नै उनलाई कोरिया, हङकङ, कतार अनि मलेसिया पुर्‍यायो। स्वदेश र विदेशमा पार्वतीले कैयौं त्यस्ता दर्शक भेटिन् जसले उनले अभिनय गरेका म्युजिक भिडियो मोबाइलमा डाउनलोड गरेर राखेका थिए। 'तपाईंको नाच हेरेपछि हामीलाई पनि नाचौं-नाचौं लाग्छ, ऊर्जा मिल्छ, अरू हेर्नै मन लाग्दैन।' भन्दै दर्शकहरूले प्रेम दर्शाएपछि उनमा बिछट्टै आनन्दको अनुभूति हुन्छ। उनको सफलताप्रति परिवार तथा उनको समुदायले पनि गौरव गरेको छ। उनका बुबा भक्तबहादुर, 'मेरो छोरी जस्तो राम्री कोही छैन।' भन्दै फुक्र्याइदिनुहुन्छ। फुर्कन्छिन् पनि उनी तर काममा भने पटक्कै सम्झौता गर्दिनन्।  दुनियाँले उनको तृत्यको प्रशंसा गर्छ। उनी आफैंलाई भने भयंकर राम्री मान्दिनन्। ठिक्ककै छु जस्तो लाग्छ तर 'नृत्य' भने भगवान्ले आफूलाई दिएको उपहार हो भन्ने कुरामा उनलाई कुनै शंका छैन। आफ्नो नृत्यमा अझ त्यस्तो चुम्बकीय शक्ति मिसाउन मन छ, जसलाई हेरेर सारा दुनियाँ भुलोस्। उनी एक्लै हुँदा गीत बजाएर कोठाको ऐना हेर्दै नाचिरहन्छिन्। नाच्दा-नाच्दै आफैंमा हराउँछिन्। खुट्टा दुखे पनि त्यसको कुनै अनुभूति नहुँदो रहेछ। यसरी एक्लै नाच्दा बेग्लै प्रकारको आनन्द मिल्छ। नयाँ पोज र स्टेप पनि सिकिने रहेछ। पार्वतीलाई चौबीसै घन्टा नाच्दा पनि थाक्दिन जस्तो लाग्छ। आफ्नो रगत-रगत र नशा-नशामा नृत्य नै बगेझैं लाग्छ। साँच्चिकै शिवको 'पार्वती नै हुँ कि' भन्ने पार्वती नृत्यका लागि जुनसुकै चिज पनि त्याग्न तयार छिन्। जुन दिन नाच्न छाडिन्छ, त्यो दिन संसार नै छाड्छु कि जस्तो लाग्छ। कहिलेकाहीं पूर्वजन्ममा इन्द्रको दरबारमा नाच्ने अप्सरा नै थिएँ कि झैं पनि लाग्छ।

उदयपुरको लेखानीमा जन्मिएकी, काठमाडौंको जोरपाटीमा हुर्किएकी पार्वती स्कुल, कलेजमा 'हिरोइन' भन्दा कम थिइनन्। नृत्य प्रतियोगिता हुँदा उनले हरेक पटक बेस्ट डान्सरको उपाधि हात पारिन्। टेलिभिजनमा हिरो-हिरोइन नाचेको हेर्दै त्यस्तै गर्न खोज्थिन्। सारंगा श्रेष्ठको नृत्य, करिश्मा मानन्धरको अभिनय एवं रेखा थापाको निडरपन उनलाई खुब मनपर्छ। मामाघर र आफन्तहरूको घर पुग्दा खुब नाच्थिन्। सबैले उनको कानमा पैसा सिउरिदिन्थे। त्यसपछि त उनी अझ उत्साहित हुँदै नाच्न थाल्थिन्। अतिरिक्त क्रियाकलापमा सक्रिय पार्वती अरुणिमा उमाविको गल्र्स हाउसकी क्याप्टेन थिइन्। कराँतेको ब्ल्याक बेल्ट हात पारेकी राई सुरु-सुरुमा त केटा जस्तै थिइन्। टोलका कतिपय केटालाई कुटेको अनुभव पनि सुनाइन् उनले। केटाहरूसँग स्वभाव मिलेकाले परिवारमा उनलाई जेठा छोरा पनि भनिन्थ्यो। जे गरे पनि इज्जतिलो काम रोज्नुपर्छ र पहिलो नै हुनुुपर्छ भन्दै बुबाले हौस्याएपछि उनमा जोस थपिन्थ्यो। त्यो बेला चर्चित हिरोइन बन्छु जस्तो लाग्थ्यो। बिस्तारै-बिस्तारै थालेको अभ्यासले यतिबेला पूर्णता पाउने क्रममा छ। राईले कौडा, मारुनी, घाटु, सालैजो, टप्पा, साकेला, धिमालजस्ता सांस्कृतिक नृत्यहरूसँगै साल्सा, बिबोइङजस्ता आधुनिक नृत्य पनि सिकिसकेकी छिन्। आफ्नो पेसालाई समाजले हेर्ने दृष्टिकोण फेर्नुपर्ने धारणा छ उनको। अरू पेसा जस्तै यसलाई पनि सम्मान र इज्जत गरिदिए हुन्थ्यो भन्ने लाग्छ।

पार्वतीले तीजमा व्रत बस्न थालेको धेरै भैसक्यो। एकपटक पानी पनि नखाई व्रत बस्दा उनी ज्वरोले थलिइन्। अचेल उनी पानी र फलफूल खाएर व्रत बस्ने गरेकी छिन्। पार्वती व्रत बस्दा पढे लेखेको, राम्रो, माया गर्ने, केयर गर्ने वर पाउँ भन्ने कामना गर्छिन्। उनलाई बानी, बेहोरा, आचरण राम्रो भएका पुरुष मनपर्छन्। हरेक मंगलबार गणेश मन्दिर जाने, पूजा गर्ने बानी छ उनको। पार्वती बिहीबार माछा, मासु खादिनन्। धर्मकर्म, पूजापाठप्रति अगाध आस्था छ। उनले यो प्रेरणा आमा मिथिलाबाट पाएकी हुन्। यसै वर्ष लोकदोहोरी प्रतिष्ठानबाट दोहोरी बेस्ट नायिकाबाट सम्मानित भएकी पार्वती सधैं खुसी रहन चाहन्छिन्। दुःखलाई जहाँ छ त्यही छोडिदिन्छिन्। जिस्किने, नलजाउने र फरासिलो स्वभाव छ उनको। मुडअनुसार गीत सुन्न मन लागे पनि शान्त वातावरणमा भने बाँसुरीको धुनमा मन रमाउँछ। साथीभाइ जम्मा भएका बेला उनीहरूलाई गाउन लगाएर आफूलाई नाचिहाल्न हतार हुन्छ। नेपाल टेलिभिजनले आयोजना गरेको छमछमी कार्यक्रममा उत्कृष्ट पाँचभित्र पर्न सफल भए पनि पहिलो नहुँदा उनलाई एकदम नरमाइलो लागेको थियो। 'म त्यो बेला खुब रोएँ।' पार्वती केही भावुक देखिइन्, 'त्यसले मलाई डिप्रेस पनि बनायो।'

पार्वतीलाई कुकिङमा खुब रुचि छ। रेसिपी हेरेर घरमा कतिपय परिकार आफैं बनाउँछिन्। आलुका परिकार, माछा, मासु, पुलाउ, खिर, सेलरोटी, चाउमिन, साँधेको सुकुटीजस्ता परिकार मीठो बनाउने पार्वतीको एकताका नारायणटारमा होटल पनि थियो। आमालाई सघाउने क्रममा उनले सबै परिकार बनाउन सिकिन्। घरमा सबैले तिमीले बनाएको मीठो हुन्छ भन्दै फुक्र्याउँछन्। घरमा पाहुनाहरू पुग्दा उनी नै विभिन्न परिकार बनाउन तम्सिन्छिन्। साथीभाइहरूसमेत उनको हातको मीठो खाजा खान उनको घरमा पुग्छन्। पार्वती आफैंलाई भने दूध, फलफूल, दही, मोही, घिउका साथै अनार र स्याउको जुस मनपर्छ। रेस्टुराँ छिर्दा मेनुमा मःम नै उनको रोजाइमा पर्छ। पहिले-पहिले त तोङवा र झ्वाँइखट्टे खाने बानी थियो।

पार्वतीलाई प्रेम प्रस्तावभन्दा विवाहका प्रस्ताव बढी आउँछन्। अहिलेसम्म कसैसँग प्रेम नगरेको र डेटिङ नगएको बताउने राई सकभर ढिलो विवाह गर्ने सोचमा छिन्। अहिले त काममै समर्पित हुने चाहना छ। कतै अल्झेर, बाँधिएर कामको गती रोक्न चाहन्नन् उनी। पार्वतीले आफ्नो कामलाई नै ब्वाइफ्रेन्ड मान्छिन्। कहिलेकाहीँ विवाहित जोडीहरूले झगडा गरेको देख्दा, मनमुटाव भएको देख्दा विवाह नै नगरौं कि जस्तो पनि लाग्छ। बुबासँग भने ठूलो पार्टी प्यालेसमा विवाह गराइदिनु भनेर ठट्टा गर्छिन्। भोजमा मात्र ५-७ लाख रुपैयाँ सिध्याइदिन्छु भन्न पनि पछि पर्दिनन्। जोरपाटीका व्यापारीकी छोरी पार्वतीलाई धेरैले लाहुरेकी छोरी मान्छन्, होइन भनेर अरूलाई आश्वस्त तुल्याउन खोज्छिन् उनी। आफ्नो नाक, मुस्कान, दाँत तथा चिउडो उनलाई मनपर्ने अंग हुन्। उनी जति रिस उठे पनि हरपल मुस्कुराइरहन्छिन्। सुटिङ स्पटमा कहिलेकाहीं ढिलो पुग्दा जब उनी मुसुक्क मुस्कुराउँछिन्, निर्देशकहरूको रिस त्यतिकै सेलाउँछ। त्यतिबेला उनलाई लाग्छ- मुस्कानले पत्थरलाई पनि पगाल्न सक्छ।

पार्वतीको अनुभबले भन्छ, जीवनमा रिस्क लिने हो भने सफलता मिल्छ। 'नत्र त नयाँ कुरा गर्नै सकिँदैन।' नङमा रातो नेल पोलिस पोतिएका औंलाहरूले कफिको कप उठाउँदै राइले भनिन्, 'मान्छेको जीवन त्यत्ति सजिलै कहाँ पाइएको हो र ?' बेलाबेला आफ्नै जीवन उनलाई सपना जस्तो लाग्छ। एउटा कुरा सोच्दा अर्कै भैदिन्छ। एकातिर जान खोज्दा अर्कैतिर पुगिन्छ। जहाँ पुगे पनि हार नखाने बानी छ उनको। 'संघर्ष जारी राखे अवश्यै जित हुन्छ।' यसोभन्दा उनको मुहार उज्यालो देखियो। त्यति बेलासम्म कफीको चौथो कप रित्तिइसकेको थियो।

तपाईंको स्वभाव कस्तो छ ?

मिलनसार, हँसिलो, फरासिलो।

ब्वाइफ्रेन्ड छ ?

मेरो काम नै मेरो ब्वाइफ्रेन्ड हो।

कसैसँग चक्कर चलेको छैन ?

आफ्नो कामबाहेक कसैसँग छैन।

विवाह कहिले गर्ने ?

विवाहितहरूले झगडा गरेको देख्दा नगरौं कि जस्तो लाग्छ।

आफ्नो कुन अंग मनपर्छ ?

चिउँडो।

पुरुषको कुन अंग मनपर्छ ?

अंगभन्दा पनि व्यक्तित्व मनपर्छ।

व्रत बस्नुहुन्छ ?

बस्छु।

केका लागि ?

माया गर्ने, राम्रो बर पाऊँ भनेर।

पहिलो पारिश्रमिक

२० हजार -सोल्टी क्यासिनोले आयोजना गरेको नृत्यमा दोस्रो भएबापत)।

निरन्तर चौबीसै घण्टा के गर्न सक्नुहुन्छ ?

नाच्न।

नाच्न छोडेको दिन ?

यो संसार त्याग्छु होला।

झोलामा कुन सामान छुट्दैन ?

पर्स, मोबाइल र चार्जर।

पर्समा कति पैसा बोक्नुहुन्छ ?

२-३ हजार।

ज्योतिषलाई हात हेराउनुहुन्छ ?

कहिलेकाहीँ।

केमा रुचि छ ?

खाना पकाउन।

सपना देख्नुहुन्छ ?

देख्छु, हिरोसँग फिल्म खेलेको, नाचेको, कुनै बेला भूतले लखेटेको।

मनपर्ने ग्याजेट

सामसुङ ग्यालेक्सी एसफोर।

मनपर्ने कलाकार

सारंगा, करिश्मा तथा रेखा।

लक्ष्य

नृत्यसम्बन्धी स्कुल खोल्ने।