कमजोर अनि पुराना खाट, त्यसमाथि फोहर र थोत्रो तन्ना…..छरपस्टरुपमा फालिएका
अस्थाई साधन (कन्डम) का खोलहरु । भित्तामा लामखुट्टे र उडुस मारेरबनाइएको
रातो कालो टाटेपाटे धर्का । कोठाहरु पनि खाटकै आकारका एकदमै साघुँरा ।
तर,निस्सासिएका ती अध्यारा अनि डरलाग्दा कोठाहरुमा दुनियाँभरिमा पाइने
मोजमस्तीका साथै बिलासिका चिज़बस्तुहरु चाहिएको समयमै आइपुग्छन् । तर, हावा
भने कहिले पुग्दैन। यी अँध्यारा मैला कोठाहरुले थुप्रै यौनपिपाशुहरुको
मनलाई तृप्त गर्ने गर्दछन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित पहाडगंजको कोठी नं ६४, जहाँ सैयौंको
संख्यामा कलिला नेपाली चेलीहरुलाई बन्दी बनाएर नर्कको जीवन बाँच्न बाध्य
पारिएको छ। दैनिकरुपमा एक जनाले ५० देखि ६० यौनपिपासुहरुको मन शान्त पार्नु
उनीहरूको दैनिकी बनेको छ ।ती कोठरीहरुमा यौनचाहना मेटाउन चाहनेहरुमा
भारतीय, बिदेशी गोरा लगायत नेपालीहरु पनि पर्दछन् । साँझ परेपछि पहाडगंजको
सडकमा यसैका लागि भनेर ठुलो भिड देख्न सकिन्छ ।बिशेष गरी बेलुका ५ बजेदेखि
राति १२ बजेसम्म हजारौ संख्यामा यौन पिपासुहरुको आवत जावत हुने यस सडकलाइ
जीपी रोडका नामले सजिलैसँग चिन्न सकिन्छ। केही दिन अगाडि मलगायत दुइजना
नेपालीहरू वास्तविकता के रहेछ भनेर जीपी रोडतर्फ लाग्यौं ।
समय साँझ ७ बजेको थियो । हामी खोज्दा खोज्दै जीपी रोडमा रिक्साबाट
झर्नेवितिकै एउटा भर्खरको उमेरले लगभग १७ बर्षको युवा हुनुपर्छ, ले सोध्यो
६४ कहाँ पडता है ? हामीलाई पनि थाहा थिएन । त्यो यूवा हतार हतारमा अगाडि
बढ्यो । लाग्यो, यसका पछि पछि जाऔं भनेर हामीले पनि उसलाई पिछा गर्न
थाल्यौं ।मन थामी नसक्नू भयो । खुट्टा काँपिरहेका थिए। यो जीपी रोडको माहौल
देखेर मनमा धेरै तर्कनाहरु उछाल खेल्न थाले । फेरि एउटा बंगालीले पनि
सोध्यो, भाइ ६४ कहां है ? हामी पनि त त्यही ६४ खोज्दै हिडेका थियौं ।
अगाडिको केटा त्यो भिडबाट हराइसक्यो । अब यही सरदारलाई पिछा गर्ने भनेर
उसको पछिपछि लाग्यौं ।दिल्लीको त्यो चरम गर्मी उसै पनि खप्न गाह्रो ।
पसीनाले भिजेर निथु्रक्क हामी जीपी रोडमा अगाडि हिँड्दै गर्दा त कहाँ ६४ ?
त्यहाँ त ठुलो बजार नै रहेछ । मलाई त्यतिबेला ठमेल र रत्नपार्क अनि
दरबार मार्गको सम्झना आयो । काठमाण्डौको रात्री जीवन र यौन व्यवसायीहरु
कोही बाटोमै त कोही होटेल, रेष्टुराँ अनि कोही ठूल्ठूला स्टार होटेलमा पनि
हुने गरेका परिदृश्य दिमागमा फल्यासआउट भए ।
जीपी रोडको बाटोमा पिछा गर्दै जाँदा २० मीटरजति पछि त्यो पञ्जाबी र उसका
साथीहरु एउटा सानो गल्लीमा पसेको देखें, उनीहरुभित्र गइसकेपछि हामी त्यहाँ
अडियौं । त्यहीँ अगाडि खुद्रके सामान बेच्ने साहुलाई सोध्यौँ । भाइ साहेब
६४ कहाँ है ? अबे सामने नही देखरा है ? कान्छी है कान्छी । तुम्हारे गाउँके
है, सब, अच्छी अच्छी माल मिलती है । जाओ उधर । त्यो साहुको कुरा सुनेर म त
पागल झै भएँ । दिमाग चक्कराउन थाल्यो, खुट्टा काँप्न थाले । धर्ति चिरिएर
भासिएको जस्तो लाग्यो । पुरै आकाशमै माथि आएर थिचे झै भयो । मनमा आगो बल्यो
। हामीलाई यति साह्रो हेपेर बोल्यो कि मैले उसको कुरा सुन्नै सकेको थिएन ।
तेरे गाऊँ के लड्किया भन्दै छ, म बर्बराउन थालंेछु । मलाई साथीले आवेशमा
नआउन अनुरोध गरेपछि सम्हालिएँ…….। लामो सुस्केरा हाल्दै, पछी पो थाहा भयो म
एउटा नेपालीले महान भारतको राजधानी दिल्लीमा, त्यो पनि जीपी रोडमा छु भनेर
। पछि आफूलाई सम्हाल्दै त्यही पसलमा १ बोटल पानी किनेर खाएँ । साथीले ल ल
फर्किउ भन्दै थिए तर पछि मैले उल्टै सम्झाएँ । हामी यहाँ आउनुको मुख्य कारण
बताएर सम्झाएँ ।
तीनैजना बिस्तारै भर्याङ. चढ्दै थियौं । खुट्टाको मासु नै पल्टिएला झै
लाग्दैछ । मुटुको ढुकढुकी एक मिनेटमै १७१ पुगिसक्यो । डर, भय, त्रास सबै
कुरालाई मनमै थाती राखेर एक सुरमा भित्र पस्यांै । एक तलामाथि के पुगेका
थियौं त्यहाँ त २ जना दिल्ली पुलिसका जवान डिउटी मै खटिएका रहेछन् । मैले
साथीहरुलाई भनें भाग, भाग । अब हामीलाई पनि थुन्ने भयो, तीनैजना कुदेर १ कि
मी टाढा पुग्यौ । धन्य हो, भगवान पशुपति बचाइस् भन्दै पहाडगञ्ज डेरासम्म
आइपुग्यौं ।
दोस्रो साताको प्रयास
फेरि अर्को साता मलगायत साथीहरु त्यही ठाउँमा गयौं । वास्तविकता देखेर
मात्र हुँदैन, बुझ्नुपर्छ भन्दै रु १२ सय भारु तिरेर ४ सयका दरले तीनजनाले
त्यहीँ बस्ने पूर्व तयारीका साथ रातभर त्यहीँ बस्ने भनेर गयौं ।त्यहाँ जसले
जुन केटी रोजे पनि हुँदो रहेछ । तर सबै जना पाचांैतलाको माथिल्लो छतमा
सँगै सगोलमा बस्नु पर्ने । करीब २ सयजना ग्राहकसँगै थिए । २० जना जति
नेपाली युवाहरु पनि त्यहीँ देखिन्थे । रक्सीको गन्ध, चूरोटको धूवाँ बस्न
लायक नै छैन । उकुस मुकुस, दिल्लीको गर्मी । एउटी १३ बर्ष जतिकी बहिनीसँग
बसेर सयौं जनाको बीचमा कुरा गर्न पनि कस्तो गाह्रो ।
नुवाकोट घर बताउने ती बहिनी नाम परिवर्तीत (सविना…) चुरोट किन्न पैसा छ दाइ
भन्दै म र साथी संग ३०/३० मिनेटको हाराहारीमा २० मागिन् । सविनालाई
सोध्यौं बहिनीको नाम के हो? घर कता हो? कसरी आइपुग्यौ? यस अँध्यारो कोठीमा
कसले पुर्यायो ? आदि इत्यादि । चुरोट तान्दै नसुकेका ती ओठमा लिपीस्टिक,
गाजल लगाएर चूल्ठो बाटेर चिटिक्क सविनालाई न घरको चिन्ता छ, न समाजको ।
केवल चिन्ता छ त पैसा कमाउने । रात छिप्पिँदै जाँदैछ, करीब मध्यरात भएको
छेउ मै रहेको रेलवे स्टेशनको रेलको आवाजले संकेत गर्दैर्छ । त्यहाँ कसैलाई
कसैको डर छैन । निर्धक्क छन् सबै ।
एकै छिनमा पानी पर्यो । छतको माथि टहराझै त्रिपालले छाएको छ । पानी तर्तर्
गर्दैछ । हाम्रो कुराले गतिलिन छोडिसक्यो । त्यतिकै बसेँ । एकछिनमै जुन
लाग्यो । म त अब रिसाउँछु बोल्दै बोल्दिँन, रुने मान्छेसंग दिल
खोल्दैन..पानी परेपछिको आकाश खुले झै…. यो गीत मेरो मुखबाट अनायासै आयो,
सविना हेरेकी हेर्यै भई र बोल्न थाली-
‘दाइहरु रिसाउनु भएको हैन ? किन र ? जवाफ फर्काउँछिन् । दाइले गाएको गीत र
मौसम ठ्याक्कै मेल खायो । ‘दाइ मलाई त कलिलै उमेरमा यहाँ ल्याइपुर्यायो।
ल्याउने मान्छे पनि चिन्दैन । मेरो घरको मान्छेलाई पनि थाहा छैन । म पनि
बिर्सिसकें, कस्तो छ मेरो गाउँ ?……तर दाइ हामो्र गाउँमा पनि यस्तै पानी
पर्छ । हाम्रो गाउँमा पनि यस्तै जून लाग्छ । हामी घाँस काट्न मेला जाने
गथ्र्यौ, अरु मलाई केही थाहा छैन । …..लामो सास फेर्दै भन्छिन् गाउँ जाने
मन त थियो, जाने कसरी ? यो ठाउँबाट बाहिर निस्कनै दिँदैनन् ।’
दुःख कतिको हुन्छ त…..? प्रश्न गर्न नपाउँदै, ‘तपाई त मेरै दाइजस्तै
लाग्यो, बाच्न दिनु न, हामी नेपाल फर्किन्छौं भन्न थालिन् । माइती नेपालको
नाम पनि थाहा रहेछ सविनालाई । भन्दै थिइन्- नेपाल गयो भने त घर जान नपाए
पनि त्यही संस्थामा बस्ने थियौं ।
विहानको ४ बज्न थाल्यो । सविना भन्दै थिइन्-दाइ सहयोग गरिदिनूहोस् है ।
हामी पनि हुन्छ भन्दै बाहिर निस्क्यांै । तर, के नै गर्न सक्थ्यौं र
हामीले…. ।
देशमा यतिका महिलाहरुको हकहितका लागि लड्ने भन्दै अधिकार खोज्ने ३३ प्रतिशत
महिला सभासददेखि महिला अधिकारवादी संस्थाहरुले सविनाजस्ता हजारौं नेपाली
चेलीहरुको रोदन कहिले सुन्न सक्लान् ? दिनानुदिन चेलीहरुलाई भारतका मुख्य
शहरहरुमा वेश्यावृति गर्न वाध्य पार्ने ती दलालहरुलाई न प्रहरीले केही गर्न
सकेका छन् न सामाजिक सञ्जालहरुले नै । महिला मन्त्रालयको काम यसभित्र पर्छ
कि पर्दैन ? नेपाली राजदुतावास भारतमा के गर्दैछ ? भन्ने प्रश्नको जवाफमा
त्यहाँ बस्ने नेपालीहरुले ट्रेनको टिकेट काट्ने काम बाहेक एउटा झिँगा मार्न
नसकेको गुनासो गर्छन् ।
जय हो । नेपालको कानुन दैवले जानुन्……।