Tuesday, July 23, 2013

बाबुको हत्यापछि छोराछोरीको विचल्ली



दैलेख, २९ असार ।
भाइद्वारा हत्या गरिएका कुसापानी–८ का बालाराम आर्चायका बालबालिका विचल्लीमा परेका छन् । बाबुको हत्यापछि ती बालबालिका विचल्लीमा परेका हुन् । जग्गा किनवेच र लिनेदेन सम्बन्धी विवाद हुँदा कान्छा बाबुको छोरा पूर्णप्रसाद आर्चायले धारिलो हतियार प्रयोग गरी उनको हत्या गरेका थिए ।
बाबुको हत्यापछि बालबालिकाले राम्रो संग खानेकुरा नपाएको मृतककी पत्नी मानकुमारी आर्चायले रुदैं भनिन्, ‘अब हामीलाई कसले सहयोग गर्छ, केटाकेटी नाना छन् । म एक्लो महिलाले के गरुँ, खेतबारी बाँझै छ ।’ आफन्त कोही नभएपछि मृतकका १३ वर्षीय छोरा चक्रपाणि आर्चायले बाबुको काजकिरिया गरेको स्थानीयबासी शिवप्रसाद आचार्यले बताए । मृतकका २ छोरा १ छोरी छन् । जेठो छोरा महादेव मावि पानीपोखरा कक्षा–७ मा अध्ययनरत छन् ।
आर्थिक अवस्था कमजोर भएका आचार्य परिवारको लागि स्थानीयबासीले १७ हजार पैसा संकलन गरी पोष्टमार्टम र काजकिरियाको लागि सहयोग गरेको स्थानीयबासी झमलाल पौड्याले बताए । ‘काजकिरिया र पोष्टमार्टमको लागि गाउँलेले सहयोग गरे । छोराछोरीलाई कसरी पढाउने हो भन्ने चिन्ता लागेको छ,’ मानकुमारीले बताइन् ।
धारिलो हतियार प्रयोग गरी दाजुको हत्या गर्ने अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । प्रहरीले अभियुक्तसंगै हत्यामा प्रयोग भएका सामग्री समेत ल्याएको छ । अभियुक्तको बयान अनुसार रिसको आवेगमा आइ आफूले हँसिया नै प्रयोग गरी हत्या स्वीकारेको प्रहरी नायब उपरीक्षक प्रज्ज्वल महर्जनले बताए । दाइको हत्या गरी फरार रहेका अभियुक्तलाई प्रहरीले घटना लगतै पक्राउ गरेको थियो ।

0 comments: