Saturday, July 27, 2013

प्रहरी निगरानीमा प्लस टुका विद्यार्थी

श्रावण ११ -

विद्यालय पोसाकमा होटल, रेस्टुरेन्ट, व्यापारिक मल, पार्क, डिस्को, सिनेमा हल जाने विद्यार्थीमाथि अब प्रहरीले निगरानी थालेको छ । उपत्यकाका ३ जिल्ला र काभ्रेमा पनि निगरानी थालिएको हो । उच्च माध्यमिक शिक्षा परिषद्ले त्यसका लागि प्रहरीसित सहकार्य गर्ने निर्णय गरेको छ



अनुगमनका निम्ति पहिलो चरणमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्ने निर्णय गरेको अनुगमन समितिका सदस्य तथा नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिए । 'युनिर्फममै एक्लै वा जोडाजोडी बाँधिएर हिंडेको वा सार्वजनिक स्थलमा अश्लीलता प्रदर्शन गरेको पाइएमा प्रहरी प्रशासनले नियन्त्रणमा लिनसक्ने निर्णय भएको छ,' भण्डारीले कान्तिपुरसित भने, 'नियन्त्रणमा लिएपछि सम्बन्धित छात्रछात्राका अभिभावकलाई बोलाएर जिम्मा लगाउनुपर्नेछ ।'

प्रहरीको फेला परेकालाई पहिलोपटक सचेत गराएर अभिभावकलाई जिम्मा लगाउने र दोस्रोपटक फेला परे जरिवाना गरिनेछ । तेस्रोपटक पनि फेला परेका विद्यालयले विद्यार्थीलाई कारबाही गर्न सक्नेछ । परिषद्ले उच्च माध्यमिक विद्यालय संघ -हिसान), अभिभावक संघलगायतको अनुरोधमा गत वर्ष आचारसंहिता निर्माण गरेको हो । माध्यमिक तथा उच्च माध्यमिक तह कक्षा ११ र १२ मा पढ्दै गरेका विद्यार्थीलाई लक्षित आचारसंहिता कार्यान्वयन कडाइसाथ गरिने परिषद्ले जनाएको छ ।

आचारसंहिताले 'थ्रीएमबी' अर्थात् मिनिस्कर्ट, मोबाइल र मोटरसाइकलमाथि विशेष निगरानी राख्ने भनेको छ । जसअनुसार छात्राले स्कर्ट लगाएमा घुँडा दुई इन्ची छोपिने हुनुपर्ने, छात्रछात्राले चुच पाइन्ट लगाउन नपाउने, कम्मरमा मिलेको हुनुपर्ने भनेको छ । त्यसैगरी छात्रछात्राले युनिर्फममा मोटरसाइकल चलाउन नपाउने, मोबाइल कलेज हातामा प्रयोग गर्न नपाउने उल्लेख छ ।

विद्यालय सञ्चालकले पनि यसलाई सकारात्मक रूपमा लिएका छन् । सञ्चालकहरू आफैंले भने उक्त संहिता पालना गरेका छैनन् । प्लस टुका विद्यार्थी अहिले पनि मोटरसाइकल लिएर विद्यालय जाने गरेका छन् । सञ्चालकहरूले त्यसमा कुनै रोक लगाएका छैनन् । सरकारले लाइसेन्स दिएको व्यक्तिलाई मोटरसाइकल चलाउन नदिने कुरा कानुनतः नमिल्ने भन्दै उनीहरू पन्छिन्छन् । हिसानका एक पदाधिकारीका अनुसार बढ्दो प्रतिस्पर्धाबीच विद्यार्थी घट्ने डरले उच्चमावि आचारसंहिता कार्यान्वयनमा कम चासो दिइरहेका छन् । परिषद्ले भने संहिता कडाइसाथ कार्यान्वयन गर्ने जनाएको छ ।

0 comments: