Friday, July 26, 2013

बोल्न-सुन्नै नसक्नेलाई सामूहिक बलात्कार

बुटवल, श्रावण १० -
जन्मजात बोल्न र सुन्न नसक्ने एक महिलामाथि उनकै भतिजोसहितका ३ युवाले सामूहिक बलात्कार गरेका छन् । बलात्कारले युवती घाइते भएकी छन् ।

रूपन्देही, पश्चिम अमुवाकी २८ वषर्ीया महिलामा आफ्नै घरमा बलात्कृत भएकी हुन् । भतिजा १८ वषर्ीय वसन्त रेग्मीसहितका स्थानीय ३ युवाले गत शनिबार साँझ योजनाबद्ध ढंगले बलात्कार गरेका थिए । सासू र दुई छोराछोरीसहित बस्ने ती महिलासँग त्यस साँझ घरमा नाबालक छोरामात्र थिए ।

शारीरिक अक्षमताको फाइदा उठाउँदै बलात्कारको योजना पनि वसन्तले नै बनाएका थिए । उनले साथीहरू सागर सुनार र प्रेम विकलाई बोलाएर बलात्कारमा सहभागी गराएका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार शनिबार साँझको खानापछि ८ बजेतिर महिलाकी सासू धान रोप्ने खेताला खोज्न छिमेकीको घर गएकी थिइन् । पटक-पटक बलात्कारको योजना बनाए पनि सफल नभएका वसन्तले शनिबार साँझदेखि नै उनको घरमा चियो गरेका थिए ।

बोल्न-सुन्न नसक्ने ती महिला बाहिर निस्कन खोजेपछि वसन्तले पैसा दिएर विरोध नगर्न इसारा गरेका थिए । त्यो पनि नमानेपछि उनले दुई जना युवालाई कोठामा बोलाएका थिए । त्यसपछि तीनै जना युवाले समातेर महिलामाथि जबरजस्ती गरेका थिए । राति करिब साढे १० बजेतिर सासू घर आइपुग्दा महिला रगताम्मे भएर रुँदै बसिरहेकी थिइन् ।

सासूले बुहारीको न्यायका लागि छिमेकी गुहारे पनि केही आफन्तले उनीहरूलाई घरको घटना घरमै मिलाउन सल्लाह दिएका थिए । पीडितकी भाउजू र सासूले त्यसो नगर्ने अड्डी लिएका थिए । केही महिलाको सहयोगमा आइतबार बिहान छिमेकीसँग हारगुहार गर्दै पीडित महिलालाई अमुवा प्रहरी चौकीमा पुर्‍याइएको थियो । त्यसपछि छपिया प्रहरी हँुदै साँझ जिल्ला प्रहरी कार्यालय भैरहवा लगिएको हो । जिल्ला प्रहरी कार्यालयमै घटना दर्ता गरिएको हो । घटना विवरण महिलाका भाउजू र सासूले प्रहरीलाई बताएका हुन् । पीडित महिला बोल्न र सुन्न नसक्ने भए पनि लेख्न सक्छिन् ।

पीडित महिला हाल माइती नेपाल रूपन्देहीको संरक्षणमा छिन् । माइती नेपालकै पहलमा महिलाले बलात्कारमा संलग्न तीनै जनाविरुद्ध उजुरी दर्ता गराएको माइती नेपाल रूपन्देहीकी प्रमुख प्रभा खनालले बताइन्् । पीडितको उजुरीअनुसार प्रहरीले बलात्कारमा संलग्न तीनै जनालाई पक्राउ गरेकोे छ ।

आवेशमा आएर बलात्कार गरेको भन्दै अभियुक्तहरूले गल्ती स्वीकारेका छन् । प्रहरी नायब उपरीक्षक पोषराज पोखरेलले अभियुक्तमाथि सामूहिक करणीको महलअन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान गरिरहेको बताए ।

पीडित महिलाका पति पनि कान सुन्न सक्दैनन् । हाल उनी रोजगारका लागि भारत गएका छन् ।

0 comments: