Friday, July 26, 2013

नेपालको प्रतिद्वन्द्वी बंगलादेश

काठमाडौ, श्रावण १० -
नेपालले साफ यू-१६ च्याम्पियनसिप फुटबलको सेमिफाइनल बंगलादेशविरुद्ध खेल्ने भएको छ । समूह 'बी' को अन्तिम खेलमा बिहीबार भारतले बंगलादेशलाई २-० ले हरायो । त्यसैले नेपाल र बंगलादेश सेमिफाइनलमा आमनेसामने हुने भएका हुन् ।

पहिलो संस्करणको उपविजेता भारतसँग हारेपछि बंगलादेश तीन देश सहभागी समूह 'बी' मा ३ अंकसहित उपविजेता भयो । दुई जित र एक बराबरी नतिजा निकाल्दै नेपाल समूह 'ए' मा उपविजेता भएको थियो । दुवै खेल जित्दै ६ अंक बनाएको भारत समूह 'बी' विजेता बन्यो । उसले सेमिफाइनलमा समूह 'ए' को उपविजेता अफगानिस्तानको सामना गर्नेछ ।

नेपाल र बंगलादेश साफ यू-१६ का परिचित प्रतिद्वन्द्वी हुन् । यी दुई पहिलो साफमा दुईपल्ट भिडेका थिए । दशरथ रंगशालामा भएको समूह चरणको भेटमा यी दुईले गोलरहित नतिजा निकालेका थिए । तेस्रो स्थानका निम्ति भएको प्रतिस्पर्धामा नेपाल २-१ ले विजयी भएको थियो । यसपल्ट फाइनल प्रवेशका निम्ति नेपालविरुद्ध कडा संघर्ष गर्ने बंगलादेशका डच प्रशिक्षक रेने कोस्टरले बताए ।

नेपालविरुद्ध बंगलादेशको प्रतिस्पर्धा शनिबार दशरथ रंगशालामा हुनेछ । दोस्रो सेमिफाइनलमा भारत र अफगानिस्तान आइतबार आर्मी मैदान, लगनखेलमा भिड्नेछन् । बंगलादेशविरुद्ध लगनखेलमा प्राप्त भारतको जितमा वेदेश्वर सिंह र कृष्ण पण्डितले गोल गरे । सिंहले ४३ औं मिनेटमा गोलको खाता खोलेका थिए । पण्डितले इन्ज्युरी टाइममा गोल गर्दै भारतको जित निश्चित गरे ।

0 comments: