Sunday, August 11, 2013

आज नागपञ्चमी

२७

साउन, काठमाण्डौ । आज श्रावण शुक्ल पञ्चमी । हिन्दु धर्मावलम्बीहरूले घरका मूलढोकामा नाग टाँसेर नागको पूजाआजा गरी नागपञ्चमी मनाउँदैछ । नागलाई पानी र वर्षाका देवता, जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन छ । नागपूजा विशेषतः षष्ठीयुक्त पञ्चमी तिथि मा गरिन्छ । नागको पूजा गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको छ ।

नागपूजाको प्रचलन वैदिककाल अघिदेखि चल्दैआएको विश्वास गरिन्छ । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्वास रहेको छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ ।

नागपञ्चमीको अबसरमा काठमाडौको नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौ दह, ललितपुर धापाखेलको नाग दह, भक्तपुरको सिद्धपोखरी, पनौतीलगायत अधिराज्यका विभिन्न नाग दहमा मेला लाग्ने गर्दछ ।