Saturday, November 30, 2013

पोखरामा गीता गुञ्जन


कास्की, मंसिर १४ -
हँसिलो मुद्रामा साहित्यकार गीता त्रिपाठी स्टेजमा चढिन् । पोखरा उद्योग वाणिज्य संघको अमृत कक्षमा बसेका साहित्य पारखीहरूले ताली बजाएर स्वागत गरे

। एकल कविता वाचनको लहर चलिरहेको तालनगरीमा शुक्रबार उनी पनि कविता तथा गीतको पोको बोकेर काठमाडौंदेखि आएकी थिइन् । एड इन्टरटेनमेन्ट हाउसले गरेको सशुल्क एकल वाचन उनले आमाको महिमा गाइएको कविताबाट सुरु गरिन् ।

'आमा तिमी कति महान् छौ' शीर्षक कविता सुनाउँदा सुरुमै साहित्यपारखीहरू एकाग्र भए । कविताको विषय प्रस्ट्याउँदै उनी मिठासपूर्ण शैलीमा कविता सुनाउँदै थिइन् । साहित्यकार सरुभक्त, लोकगायिका हरिदेवी कोइराला, कवयित्री सरस्वती प्रतीक्षा लगायत साहित्यकार उनका कविताका खाँटी श्रोता बनेका थिए ।

श्रोताहरूलाई भिन्न स्वाद दिन बीचमा गीताले लयबद्ध गीति कवितासमेत पस्कँदै गइन् । गीति कवितामा श्रोता चाख अझ बढी देखिन्थ्यो । श्रोताहरूलाई अझ उत्साही बनाउन उनले यस्तो प्रेमभाव झल्कने गीत सुनाइन्- हृदयको एउटा टुक्रा यहीं खसाएछ कसले यहाँ सुगन्धको बास बसाएछ...

पहिलो पटक एकल कविता वाचनमा सहभागी भएकी गीताले साहित्य कला र संगीतको उर्वर भूमि पोखरामा कविता सुनाउन पाउँदा आफू निकै गौरवान्वित बनेको बताइन् । उनले नारी संवेदना, सामाजिक कुरीति, राष्ट्रिय अस्मिता, राजनीतिक विसंगति लगायतका विषयका कवितामार्फत एकल वाचनलाई श्रवणयोग्य तुल्याइन् ।

सरुभक्तले गीताका कविता सुन्ने आफ्नो अभिलाषा पूरा भएको बताए । 'साँच्ची नै उनका कवितामा उत्कृष्टताको छनक पाइन्छ,' उनले भने, 'वाचनमा पनि त्यतिकै प्रखरता रहेछ ।'

निबन्धकार तथा समालोचकका रूपमा समेत ख्याति कमाएकी गीतालाई सुन्न नयाँ-पुराना सबै छिमलका साहित्यकार/साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता थियो । उनका श्रीमान् यादवसमेत मन्द मुस्कानसाथ श्रोतादीर्घामा जमेका थिए ।

दुई घन्टा चलेको एकल वाचनमा गीताले ४० भन्दा बढी कविता तथा गीत सुनाइन् । वाचनमा उनलाई सरस्वती प्रतीक्षा तथा रूपीन्द्र प्रभावीले पनि साथ दिए । आयोजक संस्थाका अनुज कुलुङले गीताको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।

दुई दशकदेखि नेपाली वाङ्मय क्षेत्रमा सक्रिय गीताका 'थुँगा वनफूलका' गीत संग्रह, 'एक्लै एक्लै' र 'सारांश' गीति एल्बम, 'नृशंस पर्खालहरू' कविता संग्रह, 'दृष्टि विचरण' र 'कृति विश्लेषण ः प्रायोगिक आयाम' समालोचना तथा 'म एक्लो र उदास उस्तै' निबन्ध संग्रह निक्लेका छन् । विभिन्न पुरस्कार र सम्मानसमेत पाइसकेकी उनले कार्यक्रमपछि भनिन्, 'पोखरा साँच्चिकै साहित्यको उर्वर थलो रहेछ ।'