Thursday, December 12, 2013

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौ, मंसिर २७ - मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमलाई रु एक अर्ब ६५ करोड ऋण उपलब्ध गराउने निर्णय गरेको छ ।


यसअनुसार कर्मचारी सञ्चयकोषबाट लिइने रु ८५ करोड र नागरिक लगानी कोषबाट लिइने रु ८० करोड ऋणमा नेपाल सरकार जमानत बस्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले मेलम्ची खानेपानी आपूर्ति आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने रु दुई अर्ब ४२ करोड सहायतासम्बन्धी सम्झौताको वार्ता अघि बढाउन सहरी विकास मन्त्रालयलाई जिम्मा दिएको छ ।
बैठकले गोरखापत्र संस्थानको अध्यक्ष पद सम्हाल्ने जिम्मा अर्को व्यवस्था नभएसम्मका लागि सूचना तथा सञ्चार मन्त्रालयका सचिवलाई दिएको छ ।
त्यसैगरी, काभ्रेको धुलिखेलमा सञ्चालन हुने ट्रमा सेन्टरका लागि दिइएको सो स्थानको १६ रोपनी जग्गा काठमाडौँ विश्वविद्यालयलाई ३० वर्षका लागि भाडामा दिने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
त्यसैगरी आगामी २०१४ फेब्रुअरी १४ मा अमेरिकामा हुने क्षमता वृद्धि कार्यशालामा सहभागी हुन राष्ट्रिय अनुसन्धान विभागका निर्देशक गणेश थापालाई पठाइने भएको छ ।
बैठकले मेक्सिको र बेल्जियमका लागि अवैतनिक दूतको म्याद थप गरेको छ । यस्तै नेपाली सेनाका प्राविधिक सेनानी गेहेन्द्र लाललाई महासेनानीमा बढुवा गरिएको छ ।
बैठकले शिक्षा विभागमा रहेको एक हजार ७५ स्रोत व्यक्तिको दरबन्दीलाई कटौती गरी एक हजार ५५ कायम गरेको छ । त्यस्तै क्यासिनोसम्बन्धी नियमावलीको स्वीकृति दिने र श्रम तथा वैदेशिक रोजगार विभागको काठमाडौँ कार्यालय स्थापना गर्ने निर्णय भएको प्रवक्ता पौडेलले जानकारी दिए ।
- See more at: http://www.ekantipur.com/np/2070/8/27/full-story/380639.html#sthash.oLwyAWgd.ZZYAY1pN.dpuf