३ फागनु, काठमाडौं । पुरानो सिनामंगल सेतो घर नजिकै विशेष प्रकृतिको विशेष स्कूल तथा पुनस्र्थापना केन्द्र छ । जहाँ भेटिन्छिन् बौद्धिक अपाङ्गता तथा ‘अटिजम’ भएका बावाबालिका स्यहार्दै गरेकी एक युवती । समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गर्दै गरेकी सविता उप्रेती अपाङ्गता भएका ३४ जना बालवालिकाहरुको स्याहारसुसार मात्र गर्दिनन्, उनी शिक्षिका, विद्यालय सञ्चालिका र बालबालिकाकी खास अभिभावक पनि हुन् ।
‘लाऊँ लाऊँ खाऊँ खाउँ’ को २६ वर्षे भर्भराउँदो जवानीमा शारीरिक रुपमा अशक्त, मानसिक हिसावले अस्वभाविक, सघन बौद्धिक अपाङ्गता भएका बालबालिका स्याहार्दै उनको दिन बित्छ । तर उनको अनुहारमा किञ्चित झन्झट, दुःख र निराशाका रेखा भेटिँदैनन्, बरु खुसी र हँसिली देखिन्छिन् । समाजमा हेयभावले हेरिएका, परिवारको उपेक्षाको पात्र बनेका, अभागी कर्म भएका भनिने र पारिवारिक ममता नपाएर दुःखदायी जीवन व्यतित गरिरहेका निर्दोष र निष्कपट बालबालिका सम्हाल्न र तिनको असली अभिभावकत्व निभाउन पाएकोमा उनी दङ्ग छिन् ।
पाँच वर्ष अघि राष्ट्रिय अपाङ्ग कोषको जागिर खाँदै पढ्दै गर्दा जीवनका लक्ष्य अनेक थिए । अचानक एकदिन फोहरको डङ्गुरमा फालिएको पुस्तकमा अक्षर चिन्ने कोशिस गरिरहेको अवोध बालक देखेर उनी अचम्मित मात्र भईनन् जीवनलाई तीनै बौद्धिक अपाङ्गता भएका बालवालिका प्रति समर्पित गर्ने निर्णय पनि गरिन् ।
उनीहरुकै लागि ‘केही गर्ने’ र योगदान दिने सोच बनाएर जीवनको बाटो बदलेकी उनले कष्टकर र पट्यारलाग्दो काममा किन लागिन् र बौद्धिक अपाङ्गताको क्षेत्रमै केही गर्ने सोच कसरी राखिन् त ? ‘समाजमा आफ्नो भूमिका खोज्ने होइन देखाउने हो, शारीरिक अपाङ्गता भएकाले त जीवनमा धेरै गर्न सक्छन् भने हामी सवलाङ्गहरुले किन सक्दैनौँ ?’ उनी निर्धक्क भन्छिन् ।
‘मानिस जन्मँदा सबै उस्तै प्रकृतिले जन्मने हो, भगवानले सवैलाई सबै चिज बराबर दिएकै छन्, तर आफुसँग भएको क्षमतालाई फरकरुमा उपयोग गर्नुपर्छ, यो क्षेत्रमा लाग्न पाएकोमा गर्वको अनुभूति हुन्छ ।’ उनी मुस्कुराउँदै बताउँछिन् ।
आफुलाई राम्रो र उत्कृष्ट देखाउँदै समाजमा अब्बल सावित गर्न सम्पत्ति कमाउने होडबाजी चलेको छ । पैसा कमाउन जेसुकै गर्न पछि नपर्ने आजको समाजमा जागिर छाडेर समाजसेवामा होमिने विरलै मानिस भेटिएलान् तर उनी पारिवारकोसमेत माया नपाई साङ्लोमा बाँधिएर कैदीजस्तो अमानवीय र कष्टकर जीवन बाँचिरहेका बालबालिकालाई जीवनको रङ्ग देखाँउदै बाँच्ने ढङ्ग सिकाउने र सङ्घर्षको पाइला चाल्न ‘ताते’ गराउँछिन् । तिनको जीवनको सहारा बनेकी छन् ।
मनकारी हातहरुले दिएको ‘मुठ्ठी चामल’ सरहको सहयोग जम्मा गरेर ‘शीत उभाउँदै घैला भर्दै’ तथा कहिल्यै सहकारीबाटसमेत ऋण काढेर विशेष बालाबालिकाको स्याहारमा रातोदिन मरिमेट्दैछिन् उनी । दुई वर्षअघि डिभी परेर अमेरिका जान पाएको अवसरसमेत लत्याएर तिनै बालबालिकाको अनुहारमा आफ्नो समृद्ध भविष्य खोज्दैछिन् उनी । आफ्नो उद्देश्यमा दृढनिश्चयी सविता सबैका लागि उदाहरणीय बन्दैछिन् ।
सपना सजाउँदै समाजमा ‘ठूलो मान्छे’ बन्ने अठोटका साथ १४ चौध वर्षअघि दोलखाको नाम्दुबाट राजधानी भित्रँदै गर्दा उनीसँग सपनाका चाङ् थिए । संघर्षका दौरानमा उनले धेरैक्षेत्रमा सफलता हात पारिन् पनि । जीवनमा कहिल्यै पछाडि र्फकनु हेर्नु परेन । सदैव अघि बढी रहिन् । केही वर्ष निजी स्कूलमा अध्यापन गरिन् । राष्ट्रिय अपाङ्ग कोषमा अधिकृतको जागिर पनि खाइन् । अमेरिका जाने भिजा पनि मिल्यो । जीवनमा सम्भावनाका बाटाहरु छरपष्ट भेटिए तर उनले लक्ष्य जसलाई बनाइन र पूर्तिका लागि जोखिम उठाईन् त्यसैले सवैभन्दा बढी सन्तुष्टी मिल्यो । ‘मरेर केही लैजान नमिल्ने बताउँदै उनी भन्छिन्, ‘आफ्ना लागि त जो पनि बाँचेकै छ नि समाजका लागि केही गर्नुपर्नु पर्छ ।’
उप्रेती परिवारकी पढेलेखेकी माईली छोरी । विहावारी गरेर घर सम्हाल्नुपर्ने समयमा बौद्धिक अपांगता भएका सघन पकृतिका बच्चा सम्हाल्दै उनीहरुको जीवन सहज बनाएर आफ्नो जीवनप्रति उदाशीन देखिएकीमा आमावावु पनि दुःखी छैनन् । उल्टै आमा विहानदेखि वेलुकासम्म सँगै बसेर सघाउछिन् । आमाछोरी साथीजस्तै देखिन्छन् । दुवै जुट्छन् बालबालिका स्याहार्न । दाजुभाइले पनि साथ दिएका छन् । बाबुले पनि वेलाबखत सहयोग जुटाईदिन्छन् । दह्रो पारिवारिक साथ पाएकी छिन्, उनले ।
केही दिनअघि मात्रै उनको केन्द्रमा एकजना अटिजम भएका बालक भर्ना भएका छन् । ती बच्चालाई उनकी आमाले मरोस् भनेर भिरबाट लडाउने प्रयत्न गरिछन् । उनका काकाले उद्धार गरेर केन्द्रमा ल्याइदिएका हुन् । आमाले मार्न खोजेपछि त्यस्ता बालाबालिकाको बास्तविक संरक्षणकर्ता को हो त ? विशेष प्रकृतिका बालबालिकाहरुलाई कसले स्याहार्ने ?, तिनका पालनकर्ता को हो ? कसले हेरिदिन्छ तिनीहरुलाई ? अपाङ्गता हुनु अपराध वा पूर्वजन्मको फल नै हो त ? उनी प्रश्न गर्छिन् ।
उनीहरुलाई नयाँ जीवन दिँदै संसार चिनाउन पाएकोमा सन्तोषको श्वास फेर्छिन् । उनको गुनासो छ,अपाङ्गता भएका बालबालिकालाई परिवारलेसमेत उपेक्षा गरेकोमा र राज्यले पनि त्यस्ता केही नगरेकोमा । अपाङ्गता भएर असहज जीवन बाँच्न विवश विशेष बालबालिकाको लागि पाठ्यक्रमसमेत नभएकोमा उनी निराश छिन् ।
उनले अटिजम भएका बालबालिकाहरुलाई आवश्यक साईकोथेरापीसहितको उपचार, स्याहार र आवश्यक शिक्षाका लागि भारतबाट विशेष तालिम पनि लिएकी छिन् । उनको केन्द्रमा अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालवालिकालाई विशेष स्याहारको व्यवस्था छ । विशेष उपचार गरेपछि बालबालिकाको जीवन सहजमात्र भएको छैन, पुर्नजन्मै पाएका छन् ।
केन्द्रमा ठूला घरानियाका देखि आधारभूततहका अनाथ र अभिभावक नभएकाले पनि आश्रय पाएका छन् । उनी हालैमात्र इजरायलको जेरुसेलमा भएको विशेष शिक्षासम्बन्धी २५ दिने गोष्ठीमा सहभागी भएर आइन् । एसिया र अफिकाका विभिन्न मुलुकका विशेष बालबालिकाहरुसँग काम गरेका प्रतिनिधिसँग घुलमिल हुने र ती देशका विशेष वालबालिकाको वस्तुगत अवस्था, गतिविधि र अनुभवहरुसँग साक्षत्कार हुने अवसर पनि मिल्यो । अन्य देशको तुलनामा नेपालका बौद्धिक अपाङ्गता भएका बालबालिकालाई राज्यले गर्नुपर्ने उत्तरदायित्व बहन नगरेकोमा उनको मन कुँडिएको छ ।
उनको संस्था नेपालको एकमात्र अटिजम उपचार केन्द्र पनि हो । यस केन्द्रले बौद्धिक अपांगता भएर अमानवीय जीवन बिताइरहेका तथा परिवारको हेयको पात्र बनेका बालबालिकालाई नवजीवन प्रदान गर्दछ । विभिन्न उपचार पद्धतीमार्फत उनीहरुको जीवन थप सहज बनाउने उनको प्रयास जारी छ । बौद्धिक अपाङ्गता भएका बालबालिकाले अन्य नागरिकसरह बाँच्न पाउने अवस्थाको प्रत्याभूति गराइदिएकोमा सविता उपे्रती प्रशंसनीय मात्र छैनन् उहादरणीय पनि छिन् । स्यावास् सविता !