Friday, July 19, 2013

पुरा भएन ट्रयाक खोल्ने काम



दैलेख, ३१ असार ।
   मध्यपहाडी राजमार्गको पहिलो चरणको ट्रयाक खोल्ने कार्य यसवर्ष पनि अधुरै रहेको छ । स्थानीयबासीको अवरोधका कारण दैलेख र जाजरकोट खण्डमा लक्ष्य अनुसार काम हुन नसकेको हो ।
    आ–आफ्नो पायक पर्ने स्थानबाट सडक लैजान, बढी मुआब्जा माग गर्नु र आवश्यक स्ट्रक्चर नहुँदा बस्ती धराप परेको भन्दै स्थानीयबासी ले राजमार्गको कामलाई ठप्प पारेका हुन् । प्रशासनले सर्वपक्षीय सहमतिबाट राजमार्गको कामलाई अघि बढाउन प्रयास गरेपनि त्यसले अझैं सार्थकता पाउन सकेको छैन् ।
    निर्माण कम्पनीका अनुसार जाजरकोटको दशेरा गाविसमा तीन किलोमिटर ट्रयाक खोल्न बाँकी छभने दैलेखको नारायण नगरपालिका अन्तर्गत सदरमुकाम खण्डमा कताबाट लैजाने भन्ने अन्यौल कायमै छ । पहाडी क्षेत्रको विकासको मेरुदण्ड मानिने यो राजमार्गको दैलेख खण्डले सुरुदेखि नै अवरोध झेल्दै आएको छ । त्यस्तै, राजमार्ग आयोजना अन्तर्गतको राकम मेगासिटीमा पनि स्थानीयको अवरोध कायमै छ ।          जिल्लाको पूर्वी भेक मन्घर र मेहेल्तोली गाविसबासी बीचको लडार्इंले झण्डै एक वर्ष ट्रयाक खोल्ने कार्य पूरै प्रभावित भएको थियो । जिल्ला अदालतको आदेशपछि त्यस खण्डमा ट्रयाक खोलिएको थियो । सदरमुकामबाट जारकोट जोड्न कहाँबाट लैजाने विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न सकेको छैन् । सदरमुकाम बीचबाट लैजाँदा मुआब्जाको बढी समस्या छ । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले किमुगाउँबासीले सहमति जनाएकाले अब समस्या बजारको मात्र रहेको बताए ।
    समयमै वर्षा सुरु भएकाले पनि राजमार्गको कार्य प्रभावित हुन पुगेको हो । कतिपय ठाउँमा राजमार्ग आसपासका घरहरु पहिरोको खतरामा परेका छन् । ती स्थानमा नाली, होमपाइप, ग्याबिनजस्ता स्ट्रक्चर प्रयोग नगरिंदा पहिरो र भू–क्षयको समस्या देखिएको निर्माण जिम्मा पाएको अनक रोड एण्ड ब्रिज कविर जे.भि. प्रा.लि.का ठेकेदार गोरेबहादुर तामाङले बताए । उनका अनुसार कन्सल्टेन्सीले सर्भे गर्दा स्ट्रक्चरको आवश्यकता औंल्याउन नसक्दा होमपाइप, ग्याबिन पर्खालको व्यवस्था नगरिएको निर्माण कम्पनीको भनाइ छ ।
    बर्षाका कारण काम भैरहेको स्थानमा डिजेल लैजान नसक्दा दैलेखको बेस्तडा बजारमा ३६ ड्रम डिजेल अलपत्र परेको छ भने सुर्खेत र जाजरकोटको सीमानामा रहेको भेरी नदीमा पानीको बहाब बढेपछि फेरी बगाउँदा राजमार्गको ग्याविन जाली निर्माण स्थलमा पुगाउन नसक्दा भेरी नदीको किनारमा थन्काइएको छ ।
    ‘थुप्रै स्थानमा स्ट्रक्चरको आवश्यकता रहेछ’ अनक रोड एण्ड ब्रिज कविर जेभी प्रा.लि.का प्रमुख गोरेबहादुर तामाङले भने । ‘सडक आसपासका बासिन्दा होमपाइप, नाली र ग्याबिन चाहियो भनेर अवरोध सिर्जना गर्दछन् ।’ दैलेखका खण्डमा अवरोध भएपछि जाजरकोटमा उपकरण, इन्धन जस्ता अत्यावश्कीय सामाग्री पुर्‍याउन नसकिएको जानकारी गराए । अवरोध हटेर स्ट्रक्चरका सामान उपलब्ध भएमा ३ महिनामै ट्रयाक खोलिने निर्माण कम्पनीका ठेकेदार गोरेबहादुर तामाङले बताए । 
 

निर्दयी आमाले त्यागिन्, सह्दयीले लगिन्

सुर्खेत, ३१ असार ।
     ९ महिनासम्म गर्भमा हुर्काएर जन्माएको सन्तान आँखै अगाडि पराईलाई कसले देला ? अझ छोरालाई कसैले दिन्छ र ? पक्कैपनि दिदैंन ।  तर सोमवार मप क्षेत्रीय अस्पतालमा भने यस्तै दृश्य देखियो । छोरा जन्माएको करिव ३२ घन्टापछि आमाकै अगाडिबाट अर्को आमाले काखमा लिएर गइन् ।
    दैलेखकी ती किशोरी आमाले नयाँ आमा (जर्बुटा—१ सुर्खेतका तुलसा बुढा) लाई छोरा दिने बेला लुगाले राम्ररी बेरिन् । अनुहारमा कुनै पीडा नदेखाइकन सुर्खेत जिल्ला बालअधिकार अधिकृत रमा भण्डारीलाई दिइन् र उनले नयाँ आमा तुलसा र बाबु नैनेलाई छोरा दिइन् । आफैले जन्माएको छोरा आँखै अगाडिबाट पराई महिलाले लिँदासमेत ती किशोरी आमाको आँखाबाट न आँशु आयो, न मुखबाट कुनै शव्द नै । खाली हेरिमात्र रहिन् । नयाँ आमा तुलसा यति खुशी थिइन् कि काखमा छोरा समातेर एम्बुलेन्सतिर हान्निइन्  । अन्य महिलाले ‘खै हेरौं’ भन्दासमेत उनले हेर्न दिइनन् ।
    डडेल्धुरा घर बताउने केटाको प्रेममा फसेपछि भएको शारीरिक सम्पर्कबाट गत शुक्रवार ती किशोरीले मप क्षेत्रीय अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । केटाले स्वीकार नगरेको र गर्भपतन गर्ने अवधिपनि काटिएकोले उनी बच्चा जन्माउन बाध्य भइन् तर समाजको अगाडि उनले बच्चा हुर्काउन नसक्ने भएपछि परित्याग गर्ने चाहना राखिन् ।
    उनको चाहनालाई जिल्ला बाल कल्याण समितिका पदाधिकारीले थाहा पाएपछि बालअधिकार अधिकृत रमा भण्डारीले धर्मपुत्र राख्न चाहनेहरुका लागि भन्दै समितिमा सम्पर्क राख्न आग्रह गरिन् ।  जस अनुसार जर्बुटा गाविस वडा नं.१ का नैने बुढा र तुलसा बुढाले उक्त बच्चालाई धर्मपुत्र बनाउन चाहना राखे । अधिकृत भण्डारीले पनि कानुनी प्रक्रिया पूरा गरी अस्पतालमै सोमवार दिउँसो करिव २ बजे उनीलाई बच्चा हस्तान्तरण गरिन् ।
    बालकलाई उनीहरुले धूपबत्ती र अविरले घरमा स्वागत गरेका छन् । आफ्नो सन्तान नभएका उनीहरुले विहे गरेको २६ बर्षपछि धर्मसन्तान पाउन पाएकोमा खुशी छन् ।
    जिल्ला बाल कल्याण समिति सुर्खेतले बालबालिका ऐन २०४८ र सो सम्बन्धि नियमावली २०५१ अनुसार किशोरी ले कानुनी रुपमा शिशुको परित्याग गर्नसक्ने र कानुनी प्रावधान अनुसार उक्त शिशु धर्मपुत्रको रुपमा माग भै आएका व्यक्तिलाई दिने प्रावधान छ । सोही प्रावधान अनुरुप बुढा दम्पत्तीले शिशु पाएका हुन् । ३ किलोग्राम भएको शिशुको अवस्था सामान्य छ ।
    बच्चालाई धर्मपुत्रको रुपमा लिनका लागि करिव एक दर्जन व्यक्तिहरु सम्पर्कमा आएका थिए । काठमाडौं, नुवाकोट, सर्लाही लगायतका जिल्लाबाट सम्पर्कमा आएको जानकारी भण्डारीले दिइन् तर बृद्धअवस्था मा पुग्न लागेको बुढा दम्पत्तिको चाहनालाई ध्यानमा राखेर उनीहरुलाई प्रक्रिया अनुसार धर्मपुत्रको रुपमा बच्चा दिइएको उनको भनाइ छ । 

तनहुँ, असार २२ -
पोखराबाट मुग्लिङतर्फ आउँदै गरेको बस शनिबार दमौली बजारनजिकै मादी नदीमा खस्दा ११ यात्रुको मृत्यु भएको छ । अन्य दस जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा एक बालक, चार महिला र छ जना पुरुष छन् ।

मृत्यु हुनेमध्ये ६ वषर्ीय आयुष थापा, करिब २१ वषर्ीया मुना थापा र व्यास-१ भादगाउँकी ४० वषर्ीया टीकामाया थापाको सनाखत भएको छ भने अन्यको खुलासा हुन सकेको छैन ।

सबै शव नदीमा डुबेको बसभित्रबाट निकालिएको हो । घाइते हुनेमा व्यास-११ की विष्णुमाया थापा, थर्पु-४ का २४ वषर्ीय सुमन श्रेष्ठ, बसका चालक आबु-५ का २१ वषर्ीय वसन्त थापा, स्याङ्जा-६ का २४ वषर्ीय सुरेश श्रेष्ठ, भानु-५ की २० वषर्ीया पवित्रा सापकोटा, सिन्धुपाल्चोककी १८ वषर्ीया सञ्जना श्रेष्ठ, खोटाङका ६७ वषर्ीय गंगाराम श्रेष्ठ, चितवनकी ३० वषर्ीया स्मृति ढकाल, मनपाङ-५ का ४५ वषर्ीय केशबहादुर थापा र नवलपरासीका ५६ वषर्ीय पदमबहादुर कामी रहेका छन् ।

तीव्र गतिमा रहेको बस ३ सय ७० मिटर लामो पुलको बीचतिर आइपुग्दा हिँड्दै गरेका केही बालबालिकालाई जोगाउने क्रममा करिब २५ मिटर तल रहेको नदीमा बस खस्न पुगेको हो ।

पुलछेउकी प्रत्यक्षदर्शी १५ वषर्ीया सुमित्रा अच्छामीले हेर्दाहेर्दर्ै पुलको रेलिङ भाँचेर बस नदीमा खसेको बताइन् । 'बसभित्रका यात्रु चिच्याइरहेको सुनंे,' सुमित्राले भनिन्, 'यसो हेर्दै थिएँ, बस नदीमा खस्यो ।' बस पुलको दक्षिणीतर्फबाट खसेको थियो ।

ना४ख ४६८४ नम्बरको बस खसेलगत्तै करिब ३ सय मिटर टाढा रहेको नेपाली सेनाको केबलजंग गुल्मका सेना, प्रहरी र स्थानीय उद्धारमा जुटेका थिए । बस नदीको बीचभागमा खसेकाले उद्धारमा कठिनाइ भएको प्रहरी उपरीक्षक देवबहादुर बोहराले बताए । बोहरासहित गुल्मपति राजाराम बस्नेतसहित सयभन्दा बढी सुरक्षाकर्मी र सदरमुकाम दमौलीवासी उद्धारमा खटिएका थिए । क्षेत्रीय प्रहरी कार्यालयका अनुसार पश्चिम क्षेत्रीय प्रहरी गणबाट २५ जनाको स्पेसल रेस्क्यु टिमसमेत घटनास्थल पठाइएको छ । प्रहरीले घटनाको कारण थाहा हुन नसकेको जनाएको छ ।

बसका चालक र सहचालक घाइते छन् । सात घाइतेको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ भने अन्य तीन जनाको दमौलीका विभिन्न अस्पतालमा । घाइतेको अवस्था गम्भीर रहेकाले घटनाबारे थप विवरण आउन सकेको छैन । बसमा कति यात्रु थिए भन्नेसमेत खुल्न सकेको छैन । दुर्घटनाग्रस्त बस फेला पार्न ७० मिटर नदीको बहाव तर्नुपर्ने भएकाले डोरीको सहयोगले घाइतेको उद्धार गरिएको थियो । बसको आधाभन्दा बढी भाग नदीमा डुबेको छ । घटनास्थल दमौली बजारबाट करिब ५ सय मिटर पश्चिममा पर्छ ।