Wednesday, September 18, 2013

भाइकाजी तिवारीले सर्वोत्कृष्ट निजामती पुरस्कार पाउँदा उनकै आदेशले घर भत्केर बेहाल भएकी लाजिम्पाटकी लक्ष्मी तुलाधर भक्कानिंदै थिइन् ।

सरकारले यो वर्षको निजामती सेवा दिवसमा पुरस्कृत गरेका ४१ जना निजामती कर्मचारीमा पनि सर्वोत्कृष्ट ठहरिए, भाइकाजी तिवारी ।

२१ भदौको मन्त्रिपरिषद् बैठकले सर्वोत्कृष्ट मानेका उनी अहिले काठमाडौं उपत्यका विकास प्राधिकरणको काठमाडौं जिल्ला आयुक्त छन् । दुई वर्षदेखि शुरू भएको राजधानीको सडक विस्तारका लागि उनी चर्चित छन् ।
सडक विस्तारले राजधानीका साँघुरा सडक चौडा बनाएपछि ट्राफिक जामको समस्या केही घटेको छ । तर, यसको अर्को पाटो, राज्यले जसरी पनि सडक विस्तार गर्दा कतिपयलाई ‘दैव लागे’ जस्तो भयो । तिनैमध्येकी काठमाडौं लाजिम्पाटकी ५३ वर्षीया लक्ष्मी तुलाधर अहिले तिवारीले सर्वात्कृष्ट पुरस्कार पाउँदा भग्नावशेष बनेको घरको कुनामा असह्य पीडाबोध महसूस गर्दै बसेकी छन् । उनी भन्छिन्, “हामीलाई घरभित्र जिउँदै पुरेको भए अझ् ठूलो सम्मान पाउँथे होलान् ।”
उजाडिएको भविष्य
१५ असार बिहानको सात बज्दा लक्ष्मीले घर बाहिर हल्लीखल्ली सुनिन् । छोराहरू ओछ्यानमै रहेकाले के भएको भनी बाहिर निस्केर हेर्दा उनले ठूलो डोजर आफ्नो घरतिर सोझ्एिको देखिन् । केहीबेरमै डोजरले उनको तीनतले घर भत्काउन थाल्यो, जसलाई उनी र परिवारका सदस्यको हारगुहारले रोक्न सकेन । घरले पुर्ला भनेर ज्यान जोगाउन लाग्दा घरका धेरै सामान बाहिर निकाल्न पनि भ्याएनन्, उनीहरूले ।
डोजर लगाएर भत्काइएको घर अगाडि उभिएकी लक्ष्मी
डोजर लगाउनेहरूले नै घरका कैयौं सामानहरू ट्रकमा हालेर लगे भने कैयौं सामान पुरिए । त्यसरी लगिएको सामान अझै फिर्ता नपाएको लक्ष्मी बताउँछिन् । केहीबेरमै सात वटा पसल सहित १४ कोठे सो घर ओत मात्र लाग्न मिल्ने सानो कुना छाडेर सबै भत्कियो । अहिले उनीहरू त्यही कुनामा गुजारा चलाउँदैछन् । तीन दशकअघि बिहे गरेर यो घरमा भित्रिएकी लक्ष्मी २०५१ मा ललितकला क्याम्पसमा काम गर्ने पतिको मृत्यु भएपछि घरको मूली बनेकी थिइन् ।
आम्दानीको अरू स्रोत नभए पनि घरभाडाले गुजारा चलेको थियो । पतिको मृत्यु हुँदा गर्भमा रहेको कान्छो छोरो मञ्जिलरत्न (१८) ले यो वर्ष एसएलसी उत्तीर्ण गरेका छन् । तर, उनलाई कसरी पढाउने भन्ने चिन्ता लक्ष्मीलाई थपिएको छ । माइलो छोरा सञ्जीलरत्न (२७) तीन सातादेखि बिरामी परेका छन् । घर भत्किएपछि दुवै छोराको मानसिक स्थिति पहिले जस्तो नहुँदा उनको चिन्ता अरू बढेको छ ।
बीआईटी (ब्याचलर्स इन इन्फर्मेशन टेक्नोलोजी) पढेर पनि उत्तीर्ण नभएका विवाहित जेठो छोरा अञ्जिलरत्न (३०) घर भत्केपछि पत्नी बिरामी भएकाले ससुराली बस्न थालेका छन् । विगत र वर्तमान तुलना गर्दा भक्कानिने लक्ष्मी बहिनीको सहयोगले जेनतेन गुजारा चलाएको बताउँछिन् ।
घर भत्किंदा बिजुली र खानेपानीको लाइन काटिएको र शौचालय पनि भत्केको छ । सडकबाट भत्केको ठाउँ हुँदै छिर्ने धूलोको मुस्लो रोक्न पुराना काठको छेकबारले सकेको छैन ।
निर्दयी राज्य
सडक विस्तारले आफ्नो घर भत्किने भएपछि लक्ष्मी पनि अरू जसरी नै महानगरपालिका, सडक विभाग र काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेकी थिइन् । बासको अर्को व्यवस्था भएपछि आफैं घर भत्काउने उनको वचन अनुसार ती कार्यालयका प्रमुखहरूले पनि ‘अर्को व्यवस्था नभएसम्म नहटाउने’ आश्वासन दिएका थिए । त्यस अनुसार, कामदार खटाएर ईंटा र काठ जोगाउँदै उनले घर भत्काउन पनि थालिन् । तर, १५ असारमा ‘माथिको आदेश’ भन्दै ईंटा निकाल्न पनि समय नदिई उनको घरमा डोजर चल्यो ।
भत्काउनुअघि लक्ष्मीको घर
त्यसअघि उनी काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त केशव स्थापित र जिल्ला आयुक्त भाइकाजी तिवारीकोमा पनि पुगेकी थिइन् । चार पुस्ता बसेको सो घर अहिले कान्छी छोरी अनितासँग बस्ने उनकी ८० वर्षीया सासू अष्टकुमारीको नाममा थियो । तर, स्थापित र तिवारीले भने अनुसार लालपुर्जा लैजान खोजी गर्दा मात्र उनलाई सासूको कान्छी छोरीले घर बेचिसकेको थाहा भयो । त्यसपछि स्थापितले सुझाए अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको र अहिले पनि मुद्दा चलिरहेको उनी बताउँछिन् ।
लक्ष्मीको घर भत्केपछि ११५ जना टोलवासीले ‘लक्ष्मी सुकुम्बासी नभएर लाजिम्पाटकै स्थायी बासिन्दा भएको’ व्यहोरा लेखी हस्ताक्षर गरिदिए । जसलाई बोकेर उनी सबै सरकारी कार्यालय पुगेकी छिन् । त्यो कागजात लिएर पुगेकी उनलाई तिवारीले भत्काउने निर्णय माथिबाट भएकाले ‘माथि’ नै जान भने । लक्ष्मी भन्छिन्, “पुग्नुपर्ने सबै ठाउँ पुगे पनि कतैबाट न्याय पाइनँ ।”
काठमाडौं उपत्यकाको चक्रपथमा केन्द्रबाट ३१–३१ मीटर, अरनिको राजमार्ग र त्रिभुवन राजपथमा २४–२४ मीटर, चक्रपथ भित्र र बाहिरका मुख्य सडकमा ११–११ मीटर, शाखा सडकमा ७–७ मीटर र उपशाखा सडकमा ५.५–५.५ मीटर छाड्नुपर्ने नियम अनुसार सरकारले सडक भत्काएको हो । जसको, शिकार १०० वर्षअघि बनेको लक्ष्मीको घर पनि भयो ।

0 comments: