Thursday, January 30, 2014

दिल्ली हुँदै हङकङ हिंडेका नेपाली सेन्झेनमा अलपत्र

अवैद्य रुपमा हङकङ छिराएर काममा लगाइदिने नेपाली र भारतीय दलालको योजना अनुसार दिल्ली हुँदै चीनको सेन्झेन पुगेका तीन नेपाली दश दिनदेखि अलपत्र परेका छन्।
हङकङ बस्ने भारतीय मूलका दलालले सेन्झेनबाट चीनको विशेष प्रशासनिक क्षेत्र हङकङ प्रवेश गराउन प्रतिव्यक्ति हजार अमेरिकी डलर (एक लाख रुपैयाँ) मागेको तर त्यत्रो पैसा नभएपछि सेन्झेनमै अड्किएको पीडितले बताएका छन्।
१५ पुसमा दिल्लीबाट स्पाइसजेट चढेर दक्षिण चीनको ग्वान्झाओ उत्रिएका कास्कीका अखिल भण्डारी, बुद्धि गुरुङ र अशोक पौडेल दश दिनदेखि हङकङ नजिकको चिनियाँ शहर सेन्झेनमा अलपत्र परेका हुन्। भण्डारीका अनुसार उनीहरूलाई रमेश सुवेदी मुख्य हिस्सेदार रहेको पोखराको मेनपावर कम्पनी एसआरके ओभरसिजले हङकङ पुर्‍याई काममा लगाइदिने आश्वासनमा दिल्लीस्थित चिनियाँ दूताबासबाट एक महिनाको भिजिट भिसा लगाएर चीन उडाएको हो।
‘हङकङमा बस्ने लोरिज नाम गरेको भारतीय दलालले फोनमा प्रति व्यक्ति एक हजार अमेरिकी डलर लिएर बोर्डरमा आउनु, हङकङ छिराइदिन्छु भन्यो, तर त्यत्रो पैसा हामीसँग थिएन’, तीन जनाकै पकेट रित्तिएपछि सेन्झेनको बैँकमा खाता खोलेर नेपालबाट पैसा मगाएको बताउँदै भण्डारीले भने,’दिल्लीबाट उड्दा तीन जनाको पकेटमा जम्मा एक हजार अमेरिकी डलर थियो, दश दिन सेन्झेनको सस्तो होटलमा बसेर नुडल मात्र खाँदा पनि त्यो पैसा सकियो।’
भण्डारीका अनुसार हङकङ प्रवेश गरेपछि शरणार्थी कार्ड लिएर काम गर्न पाइन्छ, महिनाको आठ हजार हङकङ डलर (करिब एक लाख रुपैयाँ) कमाउन सकिन्छ भनेर दलालले प्रति व्यक्ति दश लाख असुलेर ल्याएका हुन्।’एसआरके ओभरसिजका रमेश सुवेदीलाई मैले वैशाखमै पासपोर्ट र चार लाख रुपैयाँ दिएको थिएँ, उसले दिल्लीबाटै चीनको भिसा हान्यो होला’, भण्डारीले फोनमा भने,’हङकङमा नेपालीलाई वर्क परमिट दिँदैन भन्ने थाहा थिएन, जसरी पनि छिराउँछौँ भनेपछि कम्पनीकै दिल्ली एजेण्ट रोशन क्षेत्रीको सहयोगमा हामी उड्यौँ।’
सन् २००५ देखि हङकङ सरकारले भिसा कडाई गरेपछि नेपालीहरू पनि दालल मार्फत् ग्वान्झाओ–सेन्झेन आएर चिनियाँ र पाकिस्तानीको सहयोगमा राती डुँगामा चढेर अवैद्य रुपमा हङकङ छिर्न थालेका थिए। नेपालमा यातना पाएको दावी गरी शरणार्थीको रुपमा हङकङ बस्ने र गैरकानुनी रुपमा काम गर्ने विदेशीलाई हङकङ सरकारले फिर्ता गर्न थालेपछि केही वर्षयता त्यसरी आउने क्रम घटेको थियो। महावाणिज्यदूत महेश दाहालका अनुसार शरणार्थी दावी गरी बस्ने १४ र नेपाल फर्के यातना पाउने दावी गरेर बस्ने १२ जना नेपाली हङकङमा रहेको जानकारी गत वर्ष हङकङ सरकारले दिएको थियो।
एसआरके ओभरसिजको यो नयाँ धन्दाले नेपालीलाई अवैद्य रुपमा हङकङ छिराउने गिरोह फेरी सक्रिय भएको र त्यसमा भारतीय मूलका व्यक्ति समेत संलग्न भएको नयाँ तथ्य खुलेको छ। चीनको बाटो भएर दर्जन बढी नेपालीलाई अवैद्य रुपमा हङकङ छिराएको पाइएको छ।
पोखराको यो कम्पनीलाई दश लाख ख्वाएर हङकङ प्रवेश गर्न सफल भएका अन्य पाँच जना नेपाली हालै हङकङ प्रहरी समक्ष आत्मसमर्पण गरी ग्वान्झाओ हुँदै काठमाडौँ फिर्ता भएका छन्। भारतीय दलालको सहयोगमा छुट्टाछुट्टै मितिमा दिल्ली–ग्वान्झाओ हुँदै सेन्झेन आएर हङकङ प्रवेश गरेका कास्कीका केशवबहादुर ढकाल, प्रेमबहादुर खत्री र प्रकाश गुरुङ तथा तनहुँका जीवन राना र खोटाङका गोपाल ढकाल १५–२० दिन हङकङको शरणार्थी शीवीरमा बसेपछि प्रहरीसमक्ष हात उठाएर नेपाल फर्केका हुन्।
‘सेन्झेनस्थित चीनको लोउ अध्यागमन पार गरेपछि हङकङ अध्यागमन पुग्ने बित्तिकै हात उठाएर नेपालमा ज्यानको खतरा भएर आएको भन्नु भनेर दलाले सिकाएको रहेछ’, पाँच जना पीडितलाई नेपाल फर्काउन सहयोग गरेका गैरआवासीय नेपाली संघ एनआरएनए चीनका अध्यक्ष सुन्दर थापाले गोपाल ढकाललाई उद्धृत गर्दै भने,’अध्यागमन अधिकारीलाई नेपालमा यातना पाएको भनेपछि एक जना भारतीय मूलको सोलिसिटर आएर बयान लिए अनि गाडीमा राखेर हङकङको शरणार्थी शीवीर पुर्‍याइयो।’
शीवीरमा सरकारी भत्ता र खानाको सुविधा सहित १५–२० दिन बिताए पनि दलालले आश्वासन दिए अनुसार सहज रुपमा बाहिर निस्केर काम गर्ने र महिनाको एक लाख कमाउने अवस्था नदेखेपछि नेपाल फर्कने निर्णय गरी प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनीहरूले बताएका छन्। ९ पुसमा प्रहरीले पहिले हङकङ प्रवेश गरेको लोउ पोर्टमै लगेर चीनको अध्यागमनलाई जिम्मा लगाएपछि बेखर्ची भएर उनीहरूले एनआरएनएलाई गुहारेका थिए।
‘मध्य राती बेखर्ची भइयो भनेर फोन आएपछि ग्वान्झाउमै होटलमा लगेर राख्यौँ’, ग्वान्झाओ बस्ने श्याम सेढाईको सहयोगमा पीडितलाई उद्धार गरिएको बताउँदै एनआरएनए महिला संयोजक अमृता थापाले भनिन्,’चीनको एक महिने भिजिट भिसा अवधी नसकिएका दुई जना १० पुसमै काठमाडौँ उडे, चार दिन ओभर स्टे भएका तीन जनालाई दैनिक पाँच सयका दरले छ हजार युयान (करिब एक लाख रुपैयाँ) जरिवाना लिएर अध्यागमनले १५ पुसमा मात्र नेपाल फर्कने अनुमती दियो।’
हङकङ छिरेका पाँच जना आत्मसमर्पण गरी नेपाल फर्केको सुनेपछि बेखर्ची भएर सेन्झेनमा रोकिएका भण्डारी, गुरुङ र पौडेल पनि अब हङकङ प्रवेश नगर्ने बरु नेपाल नै फर्कने मनस्थितिमा पुगेका छन्।’काम गर्न नपाइने भएपछि बोर्डरमा अर्को एक लाख दलाललाई दिएर हङकङ छिर्नुको अर्थ रहेन’, भण्डारीले भने।
तीन–चार जनाले पोखराको सभागृह चोकमा कार्यालय राखेर सञ्चालन गरेको एसआरके (शंकर, रमेश, कृष्ण) ओभरसिजबारे आफुलाई राम्रो जानकारी रहेको बताउँदै भण्डारीले चेतावनी दिए,’हामीलाई झुक्याएर यहाँसम्म ल्याउने कम्पनीलाई अब नेपाल नै फर्कने व्यवस्था मिलाइदेउ भनेका छौँ, दुःख त पायौँ नै, पैसा फिर्ता गरेन भने पोखरा पुगेपछि उनीहरूलाई घेरा हाल्छौँ।’

0 comments: