Tuesday, February 18, 2014

शिक्षकले बालकलाई शौचालयको बत्ती ननिभाएको निहुँमा निर्घात कुटपिट

झापा : कक्षा ३ मा पढ्ने टेकनाथ राजवंशीले कुनै बदमासी गरेका थिएनन्। शौचालय गएका उनले बत्ती निभाउन बिर्सेका मात्र थिए। तर यही सामान्य भूल उनका लागि ठूलो कसुर भइदियो र शिक्षकबाट निर्मम कुटाइ खानुपर्‍यो।
बिर्तामोडस्थित इडन गार्डेन इङ्लिस स्कुलका शिक्षक सागर मगरले १० वर्षीय बालक टेकनाथलाई रबरको पाइप र काठको लाठीले मरणासन्न हुने गरी कुटेका हुन्।

अनारमनी-४ का टेकनाथको बिर्तामोडस्थित मनमोहन क्षेत्रीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
छात्रावासमा बसेर अध्ययन गरिरहेका टेकनाथले गत मंगलबार बेलुका शौचालय गएपछि बिजुली निभाउन बिर्सिएका कारण शिक्षक मगरले कुटपिट गरेको उनका बुवा नारायण राजवंशीले बताए। शिक्षकले पिटेपछि बालक बुधबार भागेर घर गएका थिए। त्यसपछि शिक्षक मगर उनलाई लिन घरमै पुगेका थिए।
बालककी आमा राधिकाले फकाएर स्कुल पठाएपछि सोही दिन बेलुका शिक्षक मगरले रबरको पाइपले कुटपिट गरे। टेकनाथले भने, ‘मैले ३० पटक गन्न भ्याएँ, त्यसपछि कति कुटे मलाई नै थाहा भएन। रबरको पाइप र काठले मेरो पछाडि हिर्काएका कारण अत्यन्तै दुखेको छ।’
सोही स्कुलको कक्षा १ मा पढ्ने छोरी चन्दालाई खाजा खुवाउन जाँदा छोराले एक्कासि हात समातेर रोएको राधिकाले बताइन्। गत माघ ११ गतेदेखि छात्रावासमा राखेका कारण छोराले होस्टेलमा बस्न नमानेको होला भन्ने सोचेर उनले प्राचार्य धर्मराज माझीको अनुमतिमा घर लिएर गइन्।
घर पुग्नेबित्तिकै छोराको पछाडिको भाग समाउन खोज्दा रोएपछि कपडा खोलेर हेर्दा आफूलाई नै समाल्न नसकेको राधिकाले बताइन्। उनले भनिन्, ‘छोराको स्थिति देखेर मेरो त होसै उड्यो।’ सोही दिन राति अभिभावकले बालकलाई अस्पताल भर्ना गरेका थिए। शिक्षक मगरले कसैलाई भने अझै पिट्छु भनेर डर देखाएको टेकनाथले बताए।
बालकको शरीरको पछाडिको भाग नीलडामले भरिएको छ। उनी उत्तानो सुत्न सक्दैनन्। राधिकाले भनिन्, ‘यस्तो यातना कसैको बच्चाले भोग्नु नपरोस्।’ जन्मिँदै आन्द्रा बटारिएका कारण टेकनाथ नौ महिनाका हुँदा उनको आन्द्राको शल्यक्रिया गरिएको थियो। बुवा नारायणले शल्यक्रिया गरेको ठाउँ देखाउँदै भने, ‘बच्चाको हालत यस्तो छ, स्कुलमा यसलाई ख्याल गरिदिनोस् है पनि भनेको हुँ।’ नारायण मिस्त्री काम गर्छन्।
चिकित्सक डा. दीपेन्द्र बोखिमले पिटेको भागमा रगत जमेको बताए। उनले भने, ‘अत्यधिक पिटाइबाट पछाडिको भागमा रगत जमेको छ। ठीक हुन अझै एक साता लाग्छ।’
जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद रेग्मीले बालकलाई त्यसरी पिटेको देखेर आफूसमेत आश्चर्यमा परेको बताए। उनले भने, ‘यो त अति भयो, यसबारे जिल्ला शिक्षा कार्यालयले गम्भीर अनुसन्धान गर्छ।’
इलाका प्रहरी कार्यालय अनारमनीले शिक्षक मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। विद्यालयका प्राचार्य माझीले शिक्षक मगरले आवेशमा आएर बालकलाई पिटेको स्वीकार गरे। उनले भने, ‘कुटपिटमा संलग्न शिक्षकलाई कानुनी कारबाहीका लागि विद्यालयले पनि सहयोग गर्नेछ।’

0 comments: