Wednesday, February 26, 2014

एमाले सरकारमा जाँदा राजेन्द्र राईले त्रुटि देखे, रामकुमारीले गीत सम्झिन्

काठमाडौं, फागुन १४ – बल्लतल्ल गृह मन्त्रालय पाएर एमाले सरकारमा गइसक्दा पनि पार्टीभित्र असन्तुष्टी पोखिन छाडेको छैन । सभासद नभएकाले मन्त्री बनाएकोमा धेरैले पार्टी नेतृत्वको आलोचना गरेका छन् । मन्त्रीहरुको छनौट प्रक्रिया संगत र संस्थागत नभएको युवा नेताहरुको आरोप छ ।

संविधानसभामा पहिले प्रत्यक्ष र पछि समानुपातिकमा समेत नपरेको बेला पार्टी नेतृत्वको आलोचना गरेका युवा नेताहरु राजेन्द्र राई र रामकुमारी झाँक्रीले यसपटक पनि तीतो पोखेका छन् । फेसबुक मार्फत राजेन्द्र राईले गरेको टिप्पणी यस्तो छ :

एमाले सरकारमा गयो तर त्रुटि कति कति ?

१ मन्त्रीहरुको छनौट प्रक्रिया सङ्गत र संस्थागत ढंगले गरिएन । एमालेको मन्त्री छनौट गर्ने खास कमिटी भनेको केन्द्रीय कमिटी हो । तर केन्द्रीय कमिटीबाट मन्त्रीहरुको छनौट गरिएन, गराउने प्रयास समेत गरिएन ।
यहाँ स्मरण गर्नै पर्ने कुरा के छ भने केन्द्रीय कमिटीको बैठक नबसी रहेको अवस्थामा मन्त्रीहरुको छनौट गर्नु पर्यो भने तुरुन्त बैठक बसानु पर्छ भने अहिले त त्यसको विपरित केन्द्रीय कमिटीको बैठक जारी रहेको बेला मन्त्रीको छनौट केन्द्रीय कमिटीबाट गराइएन । केन्द्रीय कमिटीबाट मात्र होइन अरु कुनै पनि कमिटीबाट रित पुर्‍याएर मन्त्रीको छनौट गरियो ।
मन्त्रीहरुको बारेमा स्थायी कमिटीमा छलफल गरिएको भनिए पनि त्यस कमिटीले पनि औपचारिक र अन्तिम रुपमा मन्त्रीहरु छनौट गरेन बरु स्थायी कमिटीको नाममा अनौपचारिक ढङ्गले मन्त्रीहरु छनौट गरियो । कम्युनिष्ट पार्टी जसले कमिटी पद्धतिलाई अत्यन्तै जोड दिन्छ अथवा त्यसको कमिटी पद्धति अत्यन्तै व्यवस्थित हुनु पर्छ भन्ने मान्यता राखिन्छ त्यसको यो तरिकाको मन्त्री छनौटलाई निश्चय पनि त्रुटिपूर्ण मान्नु पर्छ ।
२ जातीय, लैङ्गिक सन्तुलन, समावेशिता, समानताको आवाज बेजोड ढङ्गले उठिरहेको छ, एमाले त्यस आवाजको पक्षमा पनि छ । तर एमालेको मन्त्री छनौटमा गम्भीर जातीय, लैङ्गिक असन्तुलन देखियो । १० जना मन्त्री मध्ये महिला १ जना, जनजाति १, मधेशी जना मात्र छन्, अझ दलित त एक जना पनि छैन ।
३ दश जना मध्ये ६ जना गैर सांसद मन्त्री बनाइयो ।
४ काङ्ग्रेसले १ जना बाहेक सबै हेभी ओएट व्यक्तित्व भएकालाई मन्त्री बनायो तर एमालेले केही बाहेक सबै नै सामान्य व्यक्तित्व भएकालाई मन्त्री बनायो । संयुक्त सरकारमा यस्ता कुराको गम्भीर अर्थ रहने निश्चित छ ।
५ एमालेले गृह मन्त्रालय पाउनुलाई नै ठूलै जित र उपलब्धि ठानेर अरु राम्रा मन्त्रालय लिन सकेन ।
६ गुटगत मानसिकताले मन्त्री छनौट गरिएकोले मन्त्री छनौटमा योग्यता, इमान्दारिता आदि हेरिएन । त्यसैले कतिपय राम्रालाई पनि पूर्वाग्रहवश मन्त्री बनाइएन । आदि, इत्यादि ।
९ कतिपय बुज्रुकहरुले यस्ता कुरा पार्टी भित्रै राख्नु पर्छ भनेर अर्ति दिने छन् फेरि तर मैले माथि नै सङ्केत गरी सकेको छु पार्टीमा राख्ने अवसर नै कहाँ पाइयो र पाइन्छ र ?

रामकुमारी झाँक्रीले त मन्त्रीको नाम देखेर एउटा गीत नै सम्झनुभयो । उहाँले आफ्नो फेसबुकमा लेखेको टिप्पणी छ :

थोड़ा इन्तजारके और मज्जा लिजिए

और मज्जा लिजिए ।।

२०५४ सालको माघ महिना तिरको कुरा हो यो । नेकपा एमाले को छैठौ महाधिवेशन हुदै थियो नेपालगंजमा । हामी फ़रक मतवाला । महाधिवेशन स्थल भन्दा करीव करीव २÷३ किलोमीटर वरपर जान हामीलाई करीव करीव प्रतिबन्ध थियो ।
पुष्पलाल चोक वरपर थियो हाम्रो केन्द्र ।दिनभर वस्ने के भएको छ भनेर बन्दशत्रको सूचना लिने सिनियरहरूले गरेको बिश्लेषण सुन्ने ।
दिनहरू यसरी बितीरहेका थिए । मेरो मनमा अनेक कुरा खेल्न थाले म एकदम निराशा भएँ त्यो अर्घेलो व्यवहार देखेर । हामीहरू कुरा गरीरहेका थियौ हाम्रो पार्टीमा कसरी संकट देखिदै छरु हाम्रो समाज, हाम्रो राजनीति कसरी संकटमा पर्दैछ भनेर ?
ठिक त्यही वेला कुन्नी कुन फ़िल्म हो नाम त बिर्से, कसमू हो कि ? त्यसको खुव प्रचार प्रसार हुदै थियो ।रिक्सामा माइक राखेर ठूल्ठलो आवाजमा गीत बज्दै थियो
थोड़ा इन्तजारके और मज्जा लिजिए और मज्जा लिजिए
टंक कार्की दाइले त्यही गीत गाएर सम्झाउनु भएको थियो । राजनीति कति निर्मम हुन्छ भन्ने कुराको एउटा दृष्टान्त थियो योगेश दाइ र रूपनारायण को पार्टी संगठित सदस्यता नै हलले खारेज गरेको थियो त्यो बेला । मलाई आज त्यही दिन र त्यही गीत को याद आईरहेको छ ।
तर पार्टी सचिव शंकर पोखरेलले फेसबुका गरेको टिप्पणी चाहिँ अर्कै छ ।
नेकपा एमालेका तर्फबाट पार्टी नेता कमरेड वामदेव गौतमको नेतृत्वमा सरकारमा नयाँ व्यक्तिहरुको टिमले प्रवेश पाएको छ । सरकार संचालनको प्रत्यक्ष अनुभव नभए पनि राजनीतिको जीवन संघर्षमा आफ्नै प्रकारको विशिष्ट योगदान दिएका कमरेडहरु नै पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी हुनु भएको छ ।
नेपाली कांग्रेसका पुराना अनुहारसंगको सहकार्यमा नेकपा एमालेको नयाँ र जुझारु व्यक्तिहरुको यस टिमले अनुभवी र जुझारु नेता कमरेड वामदेव गौतमको नेतृत्वमा आफ्नो मिसन पुरा गर्न र पार्टीको प्रतिष्ठा माथि उठाउन सफल हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
साथै आज मन्त्रीपदको सपथ ग्रहण गर्नुहुने कमरेडहरु उपप्रधानमन्त्री तथा गृहमन्त्री कमरेड वामदेव गौतम, परराष्ट्रमन्त्री कमरेड महेन्द्र पाण्डे, स्वास्थमन्त्री कमरेड खगराज अधिकारी, उर्जामन्त्री कमरेड राधाकुमारी ज्ञवाली, पर्यटनमन्त्री कमरेड भिम आचार्य, सामान्य प्रशासन मन्त्री कमरेड लालवावु पण्डित, उद्योग मन्त्री कमरेड कर्णवहादुर थापा, भुमिसुधार मन्त्री कमरेड दलवहादुर राना, युवा तथा खेलकुद मन्त्री कमरेड पुरुशोत्तम पौडेल र कृषि व्यवस्था मन्त्री कमरेड हरी पराजुलीलाई धेरै धेरै वधाई तथा कार्यसफलताका हार्दिक शुभकामना ।
नेपाली कांग्रेसका तर्फवाट सरकारमा सहभागी सम्पूर्ण मन्त्रीहरुलाई पनि धेरै धेरै वधाई । प्रमुख दुई पार्टीको सहभागीता रहेको यस टिमले सरकार गठनका समयमा पैदा भएको तिक्ततालाई विर्साउने गरी गठवन्धन संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने शुमेच्छा समेत प्रकट गर्दछु ।

0 comments: