Thursday, February 27, 2014

महाशिबरात्रिको शुभाकामना सहित एक जानकारी गाँजा (Cannabis) र मानसिक स्वास्थ्य


(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस...तपाईलाई काम नलागे पनि तपाइको साथीलाई/आफन्तलाई कामलाग्न सक्छ )
============
विभिन्न नामले चिनिन्छ– चोपबाट बनाइएको भांग, हशिश, रेजिन आदि, वा फूल या पातबाट तयार गरिएको Marijuana, Grass, Weed बाट चिनिने Cannabis नाम गरेको विरुवाका विभिन्न उत्पादनहरू ।

माथिका नामहरू ध्यान दिएर हेर्नुभयो भने नेपालमा आधाभन्दा बढी जनसंख्याले कुनै समयमा कमसेकम एकपटक प्रयोग गरेको हुनसक्ने अनुमान छ । सन् १९७० को दशकसम्म त नेपालमा गाँजा कानुनी रूपले पसलमै पाइन्थ्यो । त्यसबेलासम्म Cannabis या यसका विभिन्न प्रकारका उत्पादनहरूले अलिकति चक्कर लगाएपनि खासै नराम्रो गर्दैन र वास्तवमा तनाबबाट मुक्ति दिन्छ भन्ने बुझिन्थ्यो । अझैपनि भांग शिवरात्रीको समयमा प्रचुरमात्रामा प्रयोग हुन्छ र यसलाई समान्य रूपमा लिनेहरूको जमात ठूलो छ । भगवान शिवले भांग, धतुरो आदि विभिन्न पदार्थहरू सेवन गर्ने र एक पौराणिक कथा अनुसार विष समेत पिएको हुनाले भांग प्रयोग गरी शिवजी जत्तिकै शक्तिशाली या कमसेकम उनको भक्त ठान्ने बाबाजीहरू शिवरात्रीको बेलामा भेटिन्छन् । त्यही मौकामा गाँजा तान्ने र भांग खाने/पिउने युवायुवती पनि भेटिन्छन् । अमेरिकाको केही राज्यहरूले Cannabis केही विशेष प्रकारका रोगीहरूलाई वितरण गर्न खुल्ला गरेकोले यो हानीकारक चीज होइन रहेछ भन्ने धारणा पनि विकसित भइरहेको पाइन्छ ।

यस लेखमा गाँजाको रसायनिक प्रकृति र यसका मनोवैज्ञानिक असरको बारेमा चर्चा गरिएको छ–

एउटा Cannabis को विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू हुन्छन् । यीनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा विशेष असर गर्दछन् ।

१. Delta-9- Tetrahydro-cannabinol (delta-9-THC)

२. Delta-8-THC

३. Cannabidiol

४. Cannabinol

यी मध्ये Delta-9-THC ले विशेष रूपले मानव मस्तिष्कमा असर गर्छ ।

तत्कालिक असरहरू

जब Cannabis लाई धुवाँमा तानिन्छ, यसका रसायनिक तत्वहरू बडो तेजीकासाथ रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । तत्कालै हुने असर जसलाई ‘stoned’ या ‘high’ भनिन्छ– यो दिमागको ती भागहरूमा Cannabis को असरले हुन्छ जुन भागहरूले भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछन् । यस क्रममा उक्त व्यक्तिलाई खुशी अनुभव हुन सक्छ, आनन्द आउँछ, तनाव कम हुन्छ, निन्द्रा पनि लाग्न सक्छ, संगीत राम्रो सुनिन सक्दछ र रंगहरू विशेष गाढा देखिन सक्दछन् । तर १० मध्ये १ प्रयोगकर्ताहरूलाई चाहि उल्टो असर पर्न जान्छ– जसलाई नमज्जा हुने (unpleasant feelings), तनाव बढ्ने (Stressed), नभएका कुराहरू देखिने (Visual distortions or hallucinations) या सुनिने (Auditory distortions or hallucinations), मन आत्तिने (Anxiety) र कसैले हानि नोक्सानी गर्लाकी जस्तो लाग्ने (Paranoid thinking) पनि हुन सक्दछ । यस्ता विपरित असरहरू फरक फरक भावनात्मक अवस्थामा एउटै व्यक्तिलाई हुन सक्दछ । जस्तै एउटै व्यक्तिलाई गाँजा सेवन गर्नु अघि खुशी भएको अवस्थामा एक प्रकारको असर हुन सक्छ भने उही व्यक्तिले दुखी अवस्थामा गाँजा सेवन गर्दा अर्को असर हुन सक्दछ ।

गाँजा या भांग सेवन गरेपश्चात विभिन्न प्रकारका मनोवैज्ञानिक लक्षण लिएर अस्पतालको आकस्मिक कक्ष र मानसिक रोग विभागमा आइपुगेका युवाहरूलाई उपचार गर्ने क्रममा माथि वर्णन गरिएका सबैजस्तो तात्कालिक नकारात्मक असरहरू ती विभागहरूमा काम गर्ने स्वास्थ्यकर्मीको लागि नौलो होइन । खुशीको कुरा चाहिं के हो भने माथि वर्णन गरिएका असरहरू लामो समयसम्म प्राय: रहदैनन् ।

लामो समय गाँजा सेवन गर्दाको मानसिक असर

गाँजाको लामो समय सेवन गर्दा भने लामो समयसम्म हुने मानसिक रोग लाग्ने सम्भावना बढ्दै जान्छ । अष्ट्रेलियाका १४–१५ वर्षका १६ सय विद्यार्थीहरूमा सात वर्षसम्म गरिएको एक अध्ययनले गाँजा सेवन गर्ने बालबालिकाहरूमा डिप्रेसन (Depression) या आत्तिने रोग (Anxiety Disorders) गाँजा सेवन नगर्नेहरूको भन्दा पांच गुणा बढी देखियो । त्यस्तै १५ वर्षको उमेर अगाडि गाँजा सेवन गर्न सुरु गरेका व्यक्तिहरूमा २६ वर्ष पुग्दा नपुग्दै साइकोसिस (कडा मानसिक रोग) लाग्ने सम्भावना ४ गुणा बढी देखियो । अझ कसैको नजिकको नातामा (आमा बाबु, दाजुभाई, दिदी–वहीनी) साइकोसिस भएको रहेछ भने त गाँजा सेवनकर्ताहरूमा साइकोसिस हुने सम्भावना झन् बढ्ने देखियो ।

डेनमार्कमा गरिएको अनुसन्धानले के देखायो भने गाँजा सेवनकर्ताहरूमा साइकोसिस बढी मात्रामा त देखिदो रहेछ तर गाँजा खान बन्द गरेपछि यो चाडै नै ठीक हुदो रहेछ । तर यी मध्ये ७५ प्रतिशतलाई एक वर्ष भित्रमै फेरि अर्को साइकोसिस (पागलपन) को रोगले च्याप्दो रहेछ र यी मध्ये आधाभन्दा धेरैलाई तीन वर्ष पश्चात पनि यो रोगबाट पीडित पाइयो ।

भारतमा गरिएका अनुसन्धानहरू नेपालको परिप्रेक्ष्यमा मिल्दाजुल्दा हुन सक्दछन् । गाँजा र भांगको लामो समयसम्मको प्रयोगले हुने साइकोसिस (पागलपन) मा जाँगर नचल्ने र केही गर्न मन नलाग्ने अवस्थाको बिकाश हुने र उक्त व्यक्ति केही कुरामा पनि मतलब नगर्ने हुन सक्दछ । उसका घरका मानिसहरु उ किन काम गर्दैन भनि चिन्तित भएपनि उसलाई भने वास्तानै नहुन सक्छ । यो अवस्था बाट ठिक हुन चाहिं गार्हो हुन्छ ।

हालसालै भएका अन्य अनुसन्धानले के पनि देखाएका छन् भने गाँजा र भांग प्रयोगकर्ताहरुलाई विभिन्न मानसिक रोग उत्पन्न भएको खण्डमा लामोसमय देखिको प्रयोगकर्ताले गाँजा छोडेमा पनि उसको मानसिक रोग राम्ररी ठीक नहुन सक्छ । यदी उपचारसगै गाँजा या भांगको प्रयोग गरिरहेमा औषधीले राम्रो काम गर्दैन ।

माथि नै भनियो गाँजा सेवन गर्ने सबैमा नकारात्मक मानसिक असरहरू देखा पर्दैनन् । सकेसम्म कसैले पनि गाँजा या भांग प्रयोग नगरेको राम्रो । तर यदी कुनैपनि नकारात्मक मानसिक असर परेको छ भने चाही तत्काल नै छोड्नु होला, नत्र उक्त प्रयोगकर्तालाई आत्तिने रोग, डिप्रेसन र साइकोसिस हुने सम्भावना ज्यादै बढी छ भन्ने बुझ्नु पर्छ ।

लेखक – डा. अनुपम पोखरेल, मानसिक रोग विशेषज्ञ, मेल्बर्न, अष्ट्रेलिया
____________________________________
ज्ञान बाँड्नु सबैभन्दा ठूलो धर्म हो त्यसैले सबैले लाइक तथा शेयर गर्न नभुल्नुहोला !!

0 comments: