Saturday, March 1, 2014

श्रीमती र छोरीको ‘हत्या’ गरेर आत्महत्या

काठमाडौं, फागुन १७– अमेरिका जान अन्तर्वार्ता दिन काठमाडौं आएका एक व्यक्तिले श्रीमती र छोरीको ‘हत्या’ गरी आत्महत्या गरेका छन् । सर्लाही हरिवन घर भएका ३४ वर्षीय श्यामध्वज महतले श्रीमती र छोरीको हत्या गरी आत्महत्या गरेको प्रहरीको आशंका छ । भक्तपुरको ठिमीस्थित आफन्तको घरमा तीनैजनाको शव शुक्रबार फेला परेको छ ।

महतको शव ढोकामा झुन्डिएको अवस्थामा र श्रीमती सुनिता तथा छोरी नानुको शव डोरीले घाँटी बाँधिएको अवस्थामा फेला परेको छ । ‘श्रीमती र छोरीको हत्या गरेर उनले आत्महत्या गरेको हाम्रो प्रारम्भिक अनुसन्धानले देखाउँछ,’ भक्तपुरका प्रहरी प्रमुख एसपी जगतमान श्रेष्ठले बताए । डाइभर्सिटी भिसा ९डिभी० कार्यक्रमअन्तर्गत महत परिवार अमेरिका जाने प्रक्रियामा थियो । सर्लाही नै बस्दै आएका उनीहरू अमेरिकी दूतावासमा अन्तर्वार्ताका लागि एक साताअघि काठमाडौं आएका थिए । चार दिनदेखि महत भक्तपुरको ठिमीस्थित ससुराली घरमा बस्दै आएका थिए । घटना बिहीबार रातिको हो । बेलुका फोटो हेरेर सबैजना खुसीसाथ सुतेको मृतक महतका साला रणबहादुर कार्कीले बताएका छन् । घरको माथिल्लो तलामा बस्ने एक व्यक्तिले भने राति बच्चा कराएको सुनेको बताएको प्रहरीको भनाइ छ । ‘आमालाई त्यस्तो नगर्नु भन्दै बच्चा कराएको सुनिएकाले सुरुमा श्रीमती र त्यसपछि छोरीको हत्या गरी उनले आत्महत्या गरेको प्रहरीको आशंका छ । तीनैजनाको शवको पोस्टमार्टम गरी विस्तृत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ भनेर आजको नयाँ पत्रिका दैनिकमा यो समचार छापिएको छ । 

0 comments: