Sunday, October 9, 2016

महिला क्रिकेट टोलीलाई विश्वकपमा पुर्‍याउने जिम्मा जसको काँधमा छ

सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपछि नेपाली युथ–१९ टोली पहिलोपल्ट क्रिकेट खेल्न हङकङ गएको थियो। त्यो युवा टोलीमा नेपालका उपकप्तान थिए, राजु बस्नेत जो पछि राष्ट्रिय टोलीमा पनि सम्मिलित भए। उनै राजुसँग १९ वर्षपछि एउटा संयोग जुरेको छ। उनी विश्वकप छनोटको तयारी गरिरहेको नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हुन्। र, आफूले सन् १९९७ मा अन्तर्राष्ट्रिय क्रिकेटको सुरुआत गरेको देश हङकङमा फरक भूमिका बोकेर पुनः मैदानमा ओर्लिंदै छन्। त्यतिबेला राजुले बल, ब्याट र क्षेत्ररक्षण तीनवटै विधामा उत्कृष्ट प्रदर्शन गरेका थिए। यसपालि उनले नेपाली चेलीबाट कस्तो प्रदर्शन गराउलान्? यसले उनको भविष्य पनि तय गर्नेछ। कारण, राजुले प्रशिक्षणको लेभल–३ कोर्स गरिसकेका छन्। यो कोर्स गर्नेमा नेपालमा उनीबाहेक राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, विनोद दास, दीपेन्द्र चौधरी, महेश रिजाल र नवीन सिंह मात्र छन्। राजुको नेतृत्वमा गत वर्ष मलेसियामा नेपाली युथ–१६ टोलीले उपाधि जितेको थियो। उनको अनुभवबाट महिला टोलीले पनि केही फाइदा उठाउने विश्वास गरिएको छ। राजु घरेलु प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) को टिम हेर्ने गर्छन्। उनको प्रशिक्षणमा रहेको एपिएफले तीन महिनाअघि काठमाडौंमा सम्पन्न राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो। हङकङमा नेपाली महिला टोली चीन, हङकङ र थाइल्यान्डसँग भिड्दैछ। दुई वर्षअघिको प्रदर्शनलाई मनन गर्ने हो भने नेपालको प्रदर्शन यी तीनवटै राष्ट्रविरूद्ध कमजोर छ। त्यसैले यो समूहमा नेपाल सबैभन्दा कमजोर प्रतिद्वन्द्वी मानिन्छ। राजुका लागि आइतबार सुरु हुने छनोट खेल धेरै अर्थमा महत्वपूर्ण छ। विश्वकप छनोटअन्तर्गत एसियाको समूहमा रहेको नेपालले आफूलाई छनोटमा टिकाइरहन जुनसुकै हालतमा जित निकाल्नु अनिवार्य हुनेछ। यो समूहबाट विजेता बन्ने राष्ट्रले मात्र अर्को वर्ष ‘ग्लोबल क्वालिफाइङ’ मा भाग लिन पाउनेछ। र, ग्लोबल क्वालिफाइङमा छनोट भएको राष्ट्रले इङ्ल्यान्डमा आयोजना हुने महिला विश्वकप खेल्न पाउनेछ। ‘मलाई थाहा छ यो छनोट मेरो लागि निकै चुनौतिपूर्ण छ,’ ३६ वर्षीय प्रशिक्षक राजुले सेतोपाटीसँग भने, ‘यसको जानकारी हुँदाहुँदै मैले टिम लिने साहस गरेँ। म पहिलेदेखि नै चुनौतीलाई स्वीकार गर्ने खेलाडी हुँ।’ सन् २००३ मा नेपालमा भएको इमर्जिङ नेसन्स कपमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएपछि राजुको खेल जीवन २०१४ सम्म लम्बिएको थियो, जब उनले दुई वर्षअघि अन्तिमपल्ट एसिसी ट्रफी खेले। यस अवधिमा उनले सबैभन्दा बढी तीनदिने खेल खेले। त्यसैले उनलाई ५० ओभरको फरम्याटको पूर्ण जानकारी छ। उनी यसको विशेषता पनि जान्दछन्। तर, सुषुप्त अवस्थामै रहेको नेपालको महिला टोलीलाई जीतको अनुभवबाट डोर्याउन पक्कै फलामको चिउरा चपाउनुजत्तिकै कठिन हुनेछ राजुका लागि। नेपालसँग भिड्न लागेका देशमध्ये चीनले महिला क्रिकेटमा धेरै लगानी गरेको छ। यही प्रतियोगिताका लागि थाइल्यान्डले आफ्नो पूरा तयारी श्रीलंकामा गरेको छ। हङकङको टिम भारतमा अभ्यास गरेर फर्किएको छ। तर, नेपालले एक महिनाअघि मात्र केही पुराना खेलाडीसँग नयाँ खेलाडीको खोजी गरेको थियो। अभ्यासका सुरुका दिन महिला खेलाडीलाई एउटा इनिङमा ४० रन कटाउन पनि धौ–धौ पर्थ्यो। अहिले उनीहरू आरामले १ सय २० रन बनाउन सक्ने भएका छन्। यसलाई राजु खेलाडीमा आएको परिवर्तन मान्छन्। र, मैदानमा ओर्लिंदासम्म थप सुधार देखिने बताउँछन्। ‘हाम्रो महिला क्रिकेट अहिले पनि परम्परागत हिसाबले चलेको छ। उनीहरूलाई क्लोज क्याम्पमा प्रशिक्षण दिँदा सुरुमा डिफेन्स कसरी गर्ने र फ्रन्ट फुटमा कसरी जाने भनेर सिकाउनुपर्ने अवस्था छ,’ उनले भने। रुबिना क्षेत्रीको कप्तानीमा रहेको महिला टोलीमा युवा खेलाडीको बाहुल्य छ। त्यसैले राजु पनि महिला क्रिकेटको भविष्यप्रति निकै आशावादी छन्। उनी एक वर्षअघि आफूले जिम्मेवारी लिएको युथ–१६ टोलीभन्दा महिला टोलीलाई खेलमा ढाल्न गाह्रो परेको अनुभव सुनाउँछन्। तर, उनको अगाडि अब कुनै उपाय छैन। विरूद्ध हङकङ (आइतबार र बिहीबार) विरूद्ध थाइल्यान्ड (सोमबार र शुक्रबार) विरूद्ध चीन (मंगलबार र शनिबार)

0 comments: