Friday, July 19, 2013

निर्दयी आमाले त्यागिन्, सह्दयीले लगिन्

सुर्खेत, ३१ असार ।
     ९ महिनासम्म गर्भमा हुर्काएर जन्माएको सन्तान आँखै अगाडि पराईलाई कसले देला ? अझ छोरालाई कसैले दिन्छ र ? पक्कैपनि दिदैंन ।  तर सोमवार मप क्षेत्रीय अस्पतालमा भने यस्तै दृश्य देखियो । छोरा जन्माएको करिव ३२ घन्टापछि आमाकै अगाडिबाट अर्को आमाले काखमा लिएर गइन् ।
    दैलेखकी ती किशोरी आमाले नयाँ आमा (जर्बुटा—१ सुर्खेतका तुलसा बुढा) लाई छोरा दिने बेला लुगाले राम्ररी बेरिन् । अनुहारमा कुनै पीडा नदेखाइकन सुर्खेत जिल्ला बालअधिकार अधिकृत रमा भण्डारीलाई दिइन् र उनले नयाँ आमा तुलसा र बाबु नैनेलाई छोरा दिइन् । आफैले जन्माएको छोरा आँखै अगाडिबाट पराई महिलाले लिँदासमेत ती किशोरी आमाको आँखाबाट न आँशु आयो, न मुखबाट कुनै शव्द नै । खाली हेरिमात्र रहिन् । नयाँ आमा तुलसा यति खुशी थिइन् कि काखमा छोरा समातेर एम्बुलेन्सतिर हान्निइन्  । अन्य महिलाले ‘खै हेरौं’ भन्दासमेत उनले हेर्न दिइनन् ।
    डडेल्धुरा घर बताउने केटाको प्रेममा फसेपछि भएको शारीरिक सम्पर्कबाट गत शुक्रवार ती किशोरीले मप क्षेत्रीय अस्पतालमा छोरालाई जन्म दिएकी थिइन् । केटाले स्वीकार नगरेको र गर्भपतन गर्ने अवधिपनि काटिएकोले उनी बच्चा जन्माउन बाध्य भइन् तर समाजको अगाडि उनले बच्चा हुर्काउन नसक्ने भएपछि परित्याग गर्ने चाहना राखिन् ।
    उनको चाहनालाई जिल्ला बाल कल्याण समितिका पदाधिकारीले थाहा पाएपछि बालअधिकार अधिकृत रमा भण्डारीले धर्मपुत्र राख्न चाहनेहरुका लागि भन्दै समितिमा सम्पर्क राख्न आग्रह गरिन् ।  जस अनुसार जर्बुटा गाविस वडा नं.१ का नैने बुढा र तुलसा बुढाले उक्त बच्चालाई धर्मपुत्र बनाउन चाहना राखे । अधिकृत भण्डारीले पनि कानुनी प्रक्रिया पूरा गरी अस्पतालमै सोमवार दिउँसो करिव २ बजे उनीलाई बच्चा हस्तान्तरण गरिन् ।
    बालकलाई उनीहरुले धूपबत्ती र अविरले घरमा स्वागत गरेका छन् । आफ्नो सन्तान नभएका उनीहरुले विहे गरेको २६ बर्षपछि धर्मसन्तान पाउन पाएकोमा खुशी छन् ।
    जिल्ला बाल कल्याण समिति सुर्खेतले बालबालिका ऐन २०४८ र सो सम्बन्धि नियमावली २०५१ अनुसार किशोरी ले कानुनी रुपमा शिशुको परित्याग गर्नसक्ने र कानुनी प्रावधान अनुसार उक्त शिशु धर्मपुत्रको रुपमा माग भै आएका व्यक्तिलाई दिने प्रावधान छ । सोही प्रावधान अनुरुप बुढा दम्पत्तीले शिशु पाएका हुन् । ३ किलोग्राम भएको शिशुको अवस्था सामान्य छ ।
    बच्चालाई धर्मपुत्रको रुपमा लिनका लागि करिव एक दर्जन व्यक्तिहरु सम्पर्कमा आएका थिए । काठमाडौं, नुवाकोट, सर्लाही लगायतका जिल्लाबाट सम्पर्कमा आएको जानकारी भण्डारीले दिइन् तर बृद्धअवस्था मा पुग्न लागेको बुढा दम्पत्तिको चाहनालाई ध्यानमा राखेर उनीहरुलाई प्रक्रिया अनुसार धर्मपुत्रको रुपमा बच्चा दिइएको उनको भनाइ छ । 

0 comments: