Friday, July 19, 2013

पुरा भएन ट्रयाक खोल्ने काम



दैलेख, ३१ असार ।
   मध्यपहाडी राजमार्गको पहिलो चरणको ट्रयाक खोल्ने कार्य यसवर्ष पनि अधुरै रहेको छ । स्थानीयबासीको अवरोधका कारण दैलेख र जाजरकोट खण्डमा लक्ष्य अनुसार काम हुन नसकेको हो ।
    आ–आफ्नो पायक पर्ने स्थानबाट सडक लैजान, बढी मुआब्जा माग गर्नु र आवश्यक स्ट्रक्चर नहुँदा बस्ती धराप परेको भन्दै स्थानीयबासी ले राजमार्गको कामलाई ठप्प पारेका हुन् । प्रशासनले सर्वपक्षीय सहमतिबाट राजमार्गको कामलाई अघि बढाउन प्रयास गरेपनि त्यसले अझैं सार्थकता पाउन सकेको छैन् ।
    निर्माण कम्पनीका अनुसार जाजरकोटको दशेरा गाविसमा तीन किलोमिटर ट्रयाक खोल्न बाँकी छभने दैलेखको नारायण नगरपालिका अन्तर्गत सदरमुकाम खण्डमा कताबाट लैजाने भन्ने अन्यौल कायमै छ । पहाडी क्षेत्रको विकासको मेरुदण्ड मानिने यो राजमार्गको दैलेख खण्डले सुरुदेखि नै अवरोध झेल्दै आएको छ । त्यस्तै, राजमार्ग आयोजना अन्तर्गतको राकम मेगासिटीमा पनि स्थानीयको अवरोध कायमै छ ।          जिल्लाको पूर्वी भेक मन्घर र मेहेल्तोली गाविसबासी बीचको लडार्इंले झण्डै एक वर्ष ट्रयाक खोल्ने कार्य पूरै प्रभावित भएको थियो । जिल्ला अदालतको आदेशपछि त्यस खण्डमा ट्रयाक खोलिएको थियो । सदरमुकामबाट जारकोट जोड्न कहाँबाट लैजाने विषयमा राजनीतिक दलहरुबीच सहमति जुट्न सकेको छैन् । सदरमुकाम बीचबाट लैजाँदा मुआब्जाको बढी समस्या छ । प्रमुख जिल्ला अधिकारी होमनाथ थपलियाले किमुगाउँबासीले सहमति जनाएकाले अब समस्या बजारको मात्र रहेको बताए ।
    समयमै वर्षा सुरु भएकाले पनि राजमार्गको कार्य प्रभावित हुन पुगेको हो । कतिपय ठाउँमा राजमार्ग आसपासका घरहरु पहिरोको खतरामा परेका छन् । ती स्थानमा नाली, होमपाइप, ग्याबिनजस्ता स्ट्रक्चर प्रयोग नगरिंदा पहिरो र भू–क्षयको समस्या देखिएको निर्माण जिम्मा पाएको अनक रोड एण्ड ब्रिज कविर जे.भि. प्रा.लि.का ठेकेदार गोरेबहादुर तामाङले बताए । उनका अनुसार कन्सल्टेन्सीले सर्भे गर्दा स्ट्रक्चरको आवश्यकता औंल्याउन नसक्दा होमपाइप, ग्याबिन पर्खालको व्यवस्था नगरिएको निर्माण कम्पनीको भनाइ छ ।
    बर्षाका कारण काम भैरहेको स्थानमा डिजेल लैजान नसक्दा दैलेखको बेस्तडा बजारमा ३६ ड्रम डिजेल अलपत्र परेको छ भने सुर्खेत र जाजरकोटको सीमानामा रहेको भेरी नदीमा पानीको बहाब बढेपछि फेरी बगाउँदा राजमार्गको ग्याविन जाली निर्माण स्थलमा पुगाउन नसक्दा भेरी नदीको किनारमा थन्काइएको छ ।
    ‘थुप्रै स्थानमा स्ट्रक्चरको आवश्यकता रहेछ’ अनक रोड एण्ड ब्रिज कविर जेभी प्रा.लि.का प्रमुख गोरेबहादुर तामाङले भने । ‘सडक आसपासका बासिन्दा होमपाइप, नाली र ग्याबिन चाहियो भनेर अवरोध सिर्जना गर्दछन् ।’ दैलेखका खण्डमा अवरोध भएपछि जाजरकोटमा उपकरण, इन्धन जस्ता अत्यावश्कीय सामाग्री पुर्‍याउन नसकिएको जानकारी गराए । अवरोध हटेर स्ट्रक्चरका सामान उपलब्ध भएमा ३ महिनामै ट्रयाक खोलिने निर्माण कम्पनीका ठेकेदार गोरेबहादुर तामाङले बताए । 
 

0 comments: