Friday, August 2, 2013

द्वन्द्वप्रभावित बालबालिका र युवाका लागि परियोजना संचालन

सुर्खेत, १६ साउन ।
    सुन्दर नेपाल संस्था, सुर्खेतको अगुवाईमा मध्य तथा सुदूरपश्चिम क्षेत्रमा द्वन्द्व प्रभावित बालबालिका र युवाहरुको सामुदायिक पुन: एकीकरणका लागि सहयोग कार्यक्रम संचालन हुने भएको छ ।
    संस्थाले बुधवार एक कार्यक्रमको आयोजना गरी विभिन्न जिल्लास्थित गैरसरकारी संस्थाका प्रमुखहरु बीच परियोजना संचालन तथा कार्यान्वयन सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर समेत गरेको छ ।


    युनिसेफ नेपालका प्रतिनिधि रामप्रसाद गौतमको विशेष उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रममा सुन्दर नेपाल संस्थाका अध्यक्ष बुद्धिप्रसाद सापकोटा एवं विभिन्न जिल्लाका ९ वटा संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।
    युनिसेफ नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा मध्य र सुदूरपश्चिमका विभिन्न १६ जिल्लामा संचालन हुने कार्यक्रमबाट सशस्त्र द्वन्द्वका बेला प्रत्यक्ष संलग्न भएका एवं प्रभावित बालबालिका र युवाहरु लाभान्वित हुने बताइएको छ ।
    संस्थाले दिएको जानकारी अनुसार परियोजना मध्यपश्चिमका दैलेख, बर्दिया, सुर्खेत, जाजरकोट, कालिकोट, सल्यान, दाङ, जुम्ला, मुगु, बाँके, रोल्पा, रुकुम तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बाजुरा र दार्चुलामा संचालन हुनेछ । परियोजना अन्तर्गत लक्षित वर्गलाई औपचारिक शिक्षा सहयोग, मनोवैज्ञानिक परामर्श सहयोग, सीपमूलक तालिम लगायतका सहयोग प्रदान गरिने सुन्दर नेपाल संस्थाका परियोजना प्रवन्धक कुमार भण्डारीले बताए । 
 

0 comments: