Friday, August 2, 2013

छिन्चु–जाजरकोट सडकमा कालोपत्रे हुदैं



जाजरकोट, १६ साउन ।   

ठाउँठाउँमा गाडी फेरेर कष्टपूर्ण यात्रा गरिरहेका जाजरकोटवासीहरु ५ महिनापछि 
नेपालगन्जसम्मै निर्वाधरुपमा गाडी चढ्न पाउने भएका छन् । पाँच वर्षअघिसम्म पनि सडक संजालको राम्रो पहुँच नभएको  जाजरकोट सदरमुकाम खलंगा जोड्ने छिन्चु– जाजरकोट सडकखण्डमा  ५ महिनाभित्र  कालोपत्रे र भेरी नदीमा पुल निर्माणको  काम सकिने भएपछि जाजरकोटवासीको  कष्टपूर्ण यात्राबाट मुक्ति पाउने भएका हुन्

  ।
    १८ महिनाभित्र सडक विभागले विश्व बैंकको सहयोगमा कालोपत्रे गर्ने गरी काम सुरु गरे अनुसार अव काम पुरा हुन ५ महिना बाँकी रहेको वताइएको छ । सुर्खेतको पोखरेदेखि सदरमुकाम खलंगासम्म विश्व बैंकको सहयोगमा विभागले गतवर्षको बैशाखदेखि कालोपत्रेको काम सुरु गरेको थियो ।
    अहिलेसम्म जाजरकोटको भुर गाविसको आलीसम्म कालोपत्रेको काम भइरहेको र बाँकी काम ५ महिनाभित्र सकिने छिन्चु– जाजरकोट सडक निर्माण योजनाका  प्रमुख दिपक केसीले बताए । उनले कालोपत्रै गर्नुपर्ने जम्मा ८० किलोमिटर मध्ये ५० किलोमिटर सडक कालोपत्रै भइसकेको र ३० किलो मिटर मात्र बाँकी रहेको  बताए । बीचमा कुनै कारणले  काम नरोकिए अवको ५ महिनाभित्र सदरमुकाम खलंगाको शान्ति चौतारासम्म कालोपत्रे गरिसक्ने गरी काम भइरहेको उनको भनाइ छ । कालोपत्रेको लागि पर्खाल लगाउने, कल्भर्ट भर्नेलगायत सडक सुधारका काम भइसकेकोले योजना निर्धारित अवधिमा सम्पन्न हुने केसीले बताए ।
    केसीका अनुसार कालोपत्रेका लागि विश्व बैंकले सडक विभागको वैदेशिक महाशाखा संग ५० करोड रकम सम्झौता गरेको  थियो । कालोपत्रेको काम सुरु गर्न विभिन्न ३ वटा निर्माण कम्पनीहरुले गतवर्षको बैशाखको अन्तिम सातादेखि काम सुरु गरेका थिए ।
    सुर्खेतको पोखरेदेखि सल्यानको सल्ली बजार पहिलो भाग तथा सल्लीवजारदेखि  जाजरकोटको छेडाचौरसम्मको दोश्रो भागको कालोपत्रे गर्ने जिम्मा आशीष गोर्खा जेभीले लिएको छभने छेडाचौरदेखि कुदुसम्म तेश्रो भागको वाइपी गौरी पार्वती जेभीले र  कुदुदेखि सदरमुकाम खलंगाको शान्ति चौतारासम्म चौथो भागको हिम्दु थोक्कर र भैरवी नामक निर्माण कम्पनीले  लिएको छ ।
    नेपाली सेनाले सुर्खेतको औलझयामदेखि  खलंगासम्म निर्माण गरेको ४५ किमी  सडक सडक विभागलाई हस्तान्तरण गरेलगत्तै विश्व बैंकको सहयोगमा सुर्खेतको पोखरेदेखि ८१ किलोमिटर सडक कालोपत्रे गर्ने काम सुरु गरिएको थियो  ।
    सडक कालोपत्रे भएर सडकको स्तर सुधार भएपछि स्थानीयहरु पनि निकै खुसी भएका छन् । खलंगा–३ का वालकुमार शर्माले कालोपत्रेपछि कष्टपूर्ण गाडीको यात्रा गर्नु नपर्ने भएकोमा खुशी लागेको बताए । ‘जे भएपनि पक्की सडक वने सवै कामको यात्राका लागि सहज हुनेभयो’, उनले भने ।
    सशस्त्र द्वन्द्वका कारण सात बर्षसम्म निर्माण कार्य अलपत्र परेको सडक पुरा गर्ने जिम्मा सरकारले २०६१ सालमा नेपाली सेनालाई दिएको थियो । सेनाले उक्त  सडक निर्माण कार्य सम्पन्न गरेर गतवर्षको चैत्र ७ गते सडक विभागलाई हस्तान्तरण गरेको थियो । द्वन्द्वका कारण ६२ किमी सडक निर्माण गरेर वीचैमा काम छोडेको विश्व वैंकले फेरि उक्त सडकमा  कालोपत्रेका लागि सहयोग गरेको हो ।

0 comments: