Thursday, August 8, 2013

वीरेन्द्रनगर बजार क्षेत्रको पार्किङ व्यवस्थापन व्यापारीले गर्दा ६ महिना नपुग्दै अलपत्र


सुर्खेत, २२ साउन । वीरेन्द्रनगर नगरपालिकाले सुरु गरेको वजार क्षेत्रमा पार्किङ व्यवस्थापन कार्य अलपत्र भएको छ । बजार क्षेत्रमा सवारी साधनको चाप बढी भएपछि नगरपालिकाले केही क्षेत्रमा सशुल्क पार्किङ व्यवस्थापन सुरु गरेको थियो । तर करिव ६ महिनामै उक्त व्यवस्थापन अलपत्र भएको छ । नगरपालिकाका अनुसार सुर्खेत बजारका स्थानीय र व्यापारीहरुले नै संचालन भइरहेको पार्किङ व्यवस्थापन कार्य वन्द गराएका हुन् । व्यवसायीहरुले पसल अगाडि सवारी साधन पार्किङ गराउँदा व्यापार नभएको भन्दै पार्किङ वन्द गराएको आरोप नगरपालिकाले लगाएको छ ।
असारको दोस्रो हप्ताबाट बजारमा पार्किङ व्यवस्थापन बन्द भएको नगरपालिकाले बताएको छ । बजारका व्यापारीहरुले पार्किङले आफ्नो व्यापारमा घाटा लाग्यो भनेर सुर्खेत उद्योग वाणिज्य संघमा उजुरी दर्ता गराएपछि सुर्खेत उद्योग वाणिज्य संघ, नगरपालिका, बजारका व्यवसायी र पार्किङ को जिम्मा लिएको सहारा नेपालवीच छलफल गरेपछि अभियान वन्द गरिएको नगरपालिकाका अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश पौडेलले जानकारी दिए । उनले गत असारको १७ गते वसेको छलफलले सात दिनभित्र व्यवसायीहरु आफैले पार्किङ व्यवस्थापनका लागि नयाँ कार्ययोजना ल्याउने र यदि ल्याउन नसके पुन: पुरानै कार्ययोजना लागू गर्ने निर्णय भएर पार्किङ अभियान वन्द गरिएको बताए । तर निर्णय भएको एक महिना वितिसक्दापनि व्यवसायीहरुले पार्किङ व्यवस्थापनका लागि कुनै नयाँ कार्ययोजना नल्याएको पौडेलले जनाए । उनले कार्ययोजना नआएपछि पुरानै कार्ययोजनाबाट पार्किङ सुरु गरिने निर्णय व्यवसायीहरुकै सहमतिमा भएकाले पुन: छलफल गरेर पुरानै कार्ययोजनामा अभियान सुरु गरिने बताए । व्यवसायीहरुले पार्किङ व्यवस्थापनको नयाँ कार्ययोजना बनाउनका लागि सुर्खेत उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष श्यामसुन्दर गुप्ताको संयोजकत्वका समिति गठन गरेको तर अहिलेसम्म नयाँ कार्ययोजना नल्याएको नगरपालिकाले जनाएको छ । अस्तव्यवस्त बजारमा पार्किङको व्यवस्थापन गर्न सबै तयार हुनुपर्ने भएकोले व्यवसायीहरुलाई नयाँ योजना ल्याउन सात दिनको समय दिएको तर साउन महिना सकिन लाग्दापनि नआएपछि अव पुरानै योजना अनुसार काम सुरु गरिने जानकारी अधिकृत पौडेलले दिए । नगरपालिकाले पार्किङ व्यवस्थापन कार्य गर्दा सुरुमा ग्रीनल्याण्ड फुटवल एकेडेमीलाई तीन महिनाको लागि पार्किङको जिम्मा दिएको थियो । तीन महिना पुगेपछि सूचना जारी गर्दा ग्रीनल्याण्ड फुटवल एकेडेमीले आवेदन नहालेर सहारा नेपालले आवेदन दिएपछि नगरपालिकाले सहारा नेपाललाई पार्किङको जिम्मेवारी दिएको थियो । यता सुर्खेत उद्योग बाणिज्य संघले व्यवसायीहरुलाई मर्का नपर्ने गरी नगरपालिकाले पार्किङ व्यवस्थापन गर्नुपर्ने बताएको छ । संघका अध्यक्ष पदमबहादुर शाहीले तल्लोबजारका स्थानीय तथा व्यापारीहरुले पार्किङ व्यवस्थापनमा असन्तुष्टि जनाएर उजुरी गरेपछि सवैको छलफलबाट सात दिनभित्र कसैलाई मर्का नपर्ने गरी नयाँ कार्ययोजना ल्याउनका लागि वन्द गरिएको बताए । उनले एक महिना वितिसक्दापनि कार्ययोजना किन दिन सकेनन् त्यसवारे आफूलाई थाहा नभएको जनाउँदै उनले नगरपालिकाले नै पार्किङ व्यवस्थापन गर्नुपर्ने जिकिर गरे । बजार क्षेत्रको मुख्य भाग मंगलगढीचोकदेखि वीरेन्द्रचोकसम्म सवारीसाधनहरु पार्किङ गर्दा शुल्क लिने गरिएको थियो । जसले गर्दा पार्किङ व्यवस्थापनमा केही सुधारपनि आएको थियो तर अहिले व्यवस्थापन अलपत्र भएपछि पार्किङपनि अस्तव्यस्त बनेको छ ।

0 comments: