Saturday, February 1, 2014

बाबुरामको प्रस्ताव ‘राष्ट्रिय सम्मेलनको सट्टा, महाधिवेशनमा जाऔं’

काठमाडौ, माघ १७ – एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको छ ।

शुक्रबार केन्द्रीय कार्यालयको बैठकमा भट्टराईले वैचारिक कुरामै छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै महाधिवेशनमा जानुपर्ने प्रस्ताव गर्नुभएको हो ।  ‘बरु पछि गरौं तर महाधिवेशन नै गरौं’ भनेर भट्टराईले प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेकोमा भट्टराईले असोज कात्तिकतिर भएपनि महाधिवेशन गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ । भट्टराईले हेटौंडा महाधिवेशनको कार्यदिशा र सिंगो माओवादी आन्दोलनका विषयमा समीक्षा र बहस गर्नुपर्ने आवश्यकता भन्दै  महाधिवेशनमा जोड दिनुभएको छ ।
‘हामीले हेटौंडा महाधिवेशनमा तीन सरकार, सदन र सरकारको मोर्चा भनेर तीन स को कुरा गरेका हौं, त्यतिबेला हामी सरकारमा थियौं’ भट्टराईको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘तर अहिले हामी सरकारमा छैनौं अब तीन स को मोर्चा कसरी हुन्छ ? आन्दोलनका विषयमा पनि समीक्षा हुनुपर्छ ।’
भट्टराईले सिंगो माओवादी आन्दोलनका विषयमा पनि समीक्षा र वैचारिक बहस गरी कार्यदिशा बनाउनुपर्नेमा भट्टराईको प्रस्ताव छ । ‘कुनै कमिटी सानो वा ठूलो भयो र कसलाई कहाँ खटाउने भन्ने कुराले समस्या समाधान हुन्न’ भट्टराईले भन्नुभएको छ ‘अहिले माओवादी आन्दोलन कहाँ छ ?यसको समीक्षा र मूल्याङ्कन गरेर कार्यदिशा बनाउनुपर्छ । त्यसपछि मात्रै सही ठाउँमा पुगिन्छ ।’

नारायणकाजी पनि छिटो महाधिवेशनका पक्षमा

महाधिवेशन गर्ने कुरामा अर्का नेता नारायणकाजी श्रेष्ठले पनि जोड दिनुभएको छ । तर श्रेष्ठले वैशाखमा राष्ट्रिय सम्मेलन गर्ने र जतिसक्दोछिटो महाधिवेशन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
‘महाधिवेशनका लागि तीन वर्ष कुर्नुहुन्न, राष्ट्रिय सम्मेलन गरेर छिटो महाधिवेशन गर्नुपर्छ’ श्रेष्ठको भनाई उधृत गर्दै स्रोतले भन्यो ‘महाधिवेशन गरेर हेटौंडा महाधिवेशनको कार्यदिशा व्याख्या गरी थप समृद्ध र समयानुकल बनाउनु पर्ने आवश्यकता छ ।’
नेपालकै र विश्व कम्यूनिष्ट आन्दोलनबाट सिकेर नयाँ ढंगको पार्टी निर्माणका लागि पनि छिटो महाधिवेशनमा जानुपर्ने श्रेष्ठको तर्क छ ।

0 comments: