Saturday, February 1, 2014

नेपालगञ्ज रेफर गरेको गर्भवतीको अछाममा नै सफल अपरेशन

अछाम, माघ १७ – तीन दिनदेखि सुत्केरी व्यथा लागेर नेपालगञ्ज रिफर गरिएकी अछाम मंगलसेन ५ की सवी नगार्जीको वयालपाटा अस्पतालमा शल्यक्रिया गरी  सुत्केरी गराइएको छ ।

जिल्ला अस्पतालले शल्यक्रिया गरेर बच्चा निकाल्न खोज्दा बेहोस पार्न नसकेपछि नेपालगञ्ज रेफर गरेको थियो । नेपालगञ्ज लैजाने एम्बुलेन्स खोज्दै बयालपाटा अस्पताल पुर्याइएकी सवीलाई अस्पतालका मेडिकल निर्देशक डा. श्रीराम तिवारीले नेपालजञ्ज पुग्न नसक्ने अवस्था देखेपछि त्यहीँ अप्रेशन गर्नुभएको हो ।
अवस्था निकै जटिल रहेको र नेपालगञ्ज पुर्‍याउँदा गर्भवतीको ज्यानै जानसक्ने खतरा देखेर अप्रेशन गरेको डा. तिवारीले बताउनुभयो । बिहीवार बिहान शुरु गरिएको अप्रेशन करिब ४ घण्टामा सफल भएको थियो ।
छोरा जन्माएकी सवी र बच्चाको स्वास्थ्य अहिले सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालले हालसम्म २० महिलाको अप्रेशन गरी सुत्केरी गराएको मेडिकल निर्देशक डा. श्रीराम तिवारीले बताउनुभयो ।

0 comments: