Monday, January 27, 2014

भारतले हामीलाई सहयोग गर्नुपर्छ– ओली

काठमाडौं, माघ १३ गते । आफूलाई विश्व शक्तिमा स्थापित गर्ने प्रयत्न गरिरहेका नेपालका दुई छिमेकी चीन र भारतले बीचमा रहेको छिमेकी नेपालको विकासमा पनि ध्यान दिनुपर्ने विभिन्न राजनीतिक दलका नेताहरुले बताएका छन् ।
भारतको ६५ औँ गणतन्त्र दिवसको अवसरमा रिपोर्टस क्लबले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले कम्जोर नेपालले शक्तिशाली छिमेकीको चाहना पूरा गर्न नसक्ने बताएका हुन् । ‘नेपाल र भारत सम्बन्ध सम्भावना र चुनौति’ विषायक अन्तक्र्रियामा बोल्दै नेताहरुले अशान्त र अविकसित नेपालबाट छिमेकीहरुले फाईदा लिन नसक्ने बताउँदै विश्व आर्थिक शक्तिको रुपमा अघि बढेका दुई छिमेकीले नेपालको विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले एउटा देशमा विकास नभए त्यसको असर अर्को देशमा पनि पर्ने धारणा व्यक्त गर्दै आर्थिक रुपमा कम्जोर नेपालको विकासमा भारतको सहयोग आवश्यक पर्ने बताउनुभयो । ‘‘हाम्रा छिमेकीहरु ब्लिया छन्, त्यो सवल पक्ष हो ।” छिमेकीहरु ठूला भए पनि दुई देशबीचको सम्बन्ध ठूलो र सानो नहुने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘‘भारतको ‘लेजिटिमेट कन्सर्न’ (आधिकारिक चासोहरु) हामी बुझ्छौँ । हाम्रो भविश्य एउटै छ, त्यसैले भारतले हामीलाई सहयोग गर्नुपर्छ ।”
नेपाल र भारतबीचको सम्बन्धमा चुनौतिहरु घट्दै गएको उल्लेख गर्दै उहाँले अनुभव र परिवर्तित परिस्थितिले नयाँ सम्बन्धबारे सिकाउँदै लगेको बताउनुभयो । तथाकथित क्रान्तिकारिताले दुई देशबीचको सम्बन्धलाई टाढा राख्न नसक्ने बताउँदै उहाँले सीमा पारी नतमस्तक हुने र सीमा वारी आएपछि कुर्लिने मनोविज्ञानको अन्त्य हुनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले भारतसँगको सम्बन्धबारे नेपालका राजनीतिक दलहरुबीच समान धारणा बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले त्यसो भएमा १० वर्षभित्र नेपालको जलस्रोतको भरपुर उपयोेग गर्न सकिने बताउनुभयो ।
‘‘भारतसँगको सम्बन्धबारे नेपाली जनताले हामीलाई फरक फरक स्थानमा राखिदिएका छन् ।” राजनीतिक दलहरु मध्ये केहिलाई भारत नजिक र केहि टाढा भनेर विश्लेषण गरिएको संकेत गर्दै सिटौलाले भन्नुभयो ‘‘एउटा साझा सोच बनाउनुपर्छ, त्यसपछि १० वर्षभित्र नेपालको जलस्रोतको धेरै विकास गर्न सकिन्छ ।”
नेकपा–माओवादीका उपाध्यक्ष सिपि गजुरेलले आफ्नो पार्टीलाई भारत विरोधीको आरोप लगाईए पनि आफूहरु कहिल्यै भारत र एक अर्ब २० करोडभन्दा बढी भारतीय जनताको विरोधी नभएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय राजदूत रञ्जित रायले प्रत्येक देश एक अर्कामा निर्भर रहेकोले एक अर्काको सहयोग विना अघि बढ्न नसकिने बताउनुभयो । नेपालसँग भारतको युगौँदेखि गहिरो र प्रगाढ सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले दुई देशबीच केहि समस्या भए घनिभूत छलफलबाट त्यसको समाधान निकाल्नुपर्ने बताउनुभयो ।
एकीकृत नेकपा (माओवादी) का नेता राम कार्कीले भारत आफ्नो छिमेकीसँग बढि अल्झिरहे अन्तर्राष्ट्रिय स्थान बनाउन नसक्ने सुझाब दिँदै नेपाललाई भारतको सहयोग चाहिए पनि आवश्यकताभन्दा बढी लिन नहुने बताउनुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र नेपालको सम्बन्ध कुटनीति, राजनीति र आर्थिक सम्बन्धभन्दा पर पुगेको विश्लेषण गर्दै पूरानो राष्ट्रवादको सोचले मात्र अब काम नगर्ने बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले छिमेकीहरुको सुरक्षा चासोबारे नेपाल सचेत हुनुपर्ने धारणा व्यक्त गर्दै त्यसका लागि नेपाल सुरक्षित बनाउन सहयोग गर्नुपर्ने बताउनुभयो ।

0 comments: