Monday, January 27, 2014

लोडसेडिङका कारण पानी वितरणमा समस्या– केयुकेएल

काठमाडौ, माघ १३ गते । सुख्खा मौसमका कारण खानेपानीका मुहान सुक्दै गएपछि उपत्यकामा खानेपानी वितरण घटेकाले राजधानीवासी खानेपानीको अभावका कारण आक्रान्त बनेका छन् ।

दैनिक १२ घण्टे लोडसेडिङ र सुख्खा मौसमका कारण उपत्यकामा खानेपानीको अभाव झन् जटिल बन्दै गएको सरोकारवालाहरू बताउँछन् ।
उपत्यकावासीलाई खानेपानी वितरण गर्ने जिम्मेवारी पाएको काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले यो मौसममा राजधानीवासीको मागको २५ देखि २८ प्रतिशतभन्दा बढी पानी आपूर्ति गर्न नसक्दा खानेपानीको अभाव झन् जटिल बन्दै भएको हो ।
केयुकेएलले उपत्यकावासीका लागि दैनिक ३५ देखि ४० करोड लिटर पानीको माग भएकोमा हाल १० करोड लिटर मात्र पानी उत्पादन गरी वितरण गर्दै आएको छ भने वर्खामा १३ देखि १५ करोड लिटरसम्म पानी आपूर्ति गर्दै आएको छ ।
कुलेश्वर हाइट निवासी लिला सुवेदीको अनुभवमा वर्खायाममा चार÷पाँच दिन बिराएर धमिलो भए पनि घरको धारामा पानी आउँथ्यो तर अहिले त कतिबेला धारामा पानी आउँछ भन्ने नै थाहा हुदैन ।
उहाँ भन्नुहुन्छ “वरपरका छिमेकीहरू आठ÷दश दिन विराएर राति पानी आउँछ त भन्छन् तर कुन दिन आउँछ मलाई त त्यो पनि थाहा छैन ,मंसिर पुसदेखि नै ट्याकरकै पानीका भरमा बाँच्ने हो, धारामा पानी नआए पनि विल चाहीं महिना नपुग्दै आउँछ ।”
यस्तै बल्खुस्थित कुमारी क्लब निवासी विदुर अमात्यलाई घरको धारामा पानी आएको थाहा नभए पनि उहाँको घरमा पानीको विल भने महिना पुग्ने वित्तिकै आइहाल्छ ।
धारामा पानी नआउने समस्या सुवेदी र अमात्यको मात्रै नभई अधिकांश उपत्यकावासीले यस्तै समस्या भोग्दै आएका छन् ।
उपभोक्ता हित संरक्षण मञ्च काठमाडौँका अध्यक्ष जगन्नाथ मिश्रले उपत्यकावासीलाई आवश्यक खानेपानी उत्पादन गरेर वितरण गर्ने जिम्मेवारी पाएको केयुकेएलले पानीको चुवावट नियन्त्रण गरी सबैतिर समुचित तरिकाले पानी वितरण नगर्दा सुख्खा मौसममा खानेपानीको समस्या वर्षेनी बढ्ने गरेको टिप्पणी गर्नुभयो ।
पाँचतारे होटल र उच्चपदस्थ व्यक्तित्व वस्ने क्षेत्रमा नियमित पानी वितरण गर्ने तर सर्वसाधारण नागरिक वसोवास गर्ने ठाउँमा १० दिनमा एक पटक पनि पानी नदिने केयुकेएलको विभेदकारी वितरण प्रणालीले गर्दा पनि उपत्यकामा पानीको समस्या झन् जटिल बन्दै गएको उहाँको भनाइ छ ।
उपत्यकामा तत्काल देखिएको खानेपानीको समस्या समाधान गर्नका लागि केयुकेएलले तत्कालिन, अल्पकालिन, मध्यकालिन र दीर्घकालीन योजना बनाएर अहिले संकलित पानी सबैतिर समान किसिमले वितरण गर्ने प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
केयुकेएलका प्रवक्ता मिलनकुमार शाक्यले उपत्यकावासीको माग अनुसार खानेपानी आपूर्तिका लागि उपत्यकामा मेलम्चीको पानी आउनुको विकल्प नभएको बताउनुभयो ।
केयुकेएलले उपत्यकामा मेलम्चीको पानी नआउँदासम्मका लागि उपत्यकाका विभिन्न ठाउँमा बोरिङबाट पानी तान्ने, भएका पानीका स्रोतलाई मर्मत गर्ने र चुहावट रोक्ने काम गर्दै आएको पनि प्रवक्ता शाक्यको भनाई छ ।
केयुकेएलले जानाजान पानी वितरणमा विभेद नगरेको तर लोडसेडिङका कारण एकरूपता हुन नसकेको स्वीकार गर्दै उहाँले भन्नुभयो “अधिकांश ठाउँमा मोटर लगाएर मात्रै पानी तान्नुपर्ने, केही ठाउँमा लोडसेडिङका बेला पनि निरन्तर धारामा पानी आउने गरेको पाइएको छ, यसमा एकरूपता ल्याउनका लागि सक्दो पहल गरिरहेका छौं ।”
साथै प्रवक्ता शाक्यले उपत्यकामा विगतको तुलनमा पानीका मुहान सुक्दै गएको र सडक विस्तारका कारण चुहावट पनि बढेकाले यो वर्ष पानीको आपूर्ति अझै घटेको बताउनुभयो ।

0 comments: