Thursday, January 30, 2014

वीरेन्द्रनगर नगरपालिकाका ८० प्रतिशत घर भूकम्पको उच्च जोखिममा रहेका छन् ।


वीरेन्द्रनगर नगरपालिकामा निर्माण भएका घरमध्ये २० प्रतिशत घरमात्रै भूकम्प प्रतिरोधात्मक भएको नगरपालिकाको कार्यालयले जनाएको छ ।



    सर्वसाधारणमा भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्छ भन्ने चेतनाको कमीका कारण भूकम्प प्रतिरोधात्मक घर  निर्माण नभएको कार्यालयका इन्जिनियर जनकबहादुर शाहीले बताउनुभयो ।

    अन्य घरभन्दा भूकम्प  प्रतिरोधात्मक घर निर्माण गर्दा लागत बढी लाग्ने भएकाले पनि यस्ता घर निर्माणमा सर्वसाधारणले चासो नदिएको इन्जिनियर शाहीको भनाइ छ । भूकम्प प्रतिरोधात्मक घरको निर्माण प्राविधिकको डिजाइनअनुसार गर्नुपर्छ, जसले गर्दा अन्य घर निर्माण गर्नुभन्दा झन्डै ५० प्रतिशत लगानी बढ्न सक्छ, उहाँले भन्नुभयो ।
 
    सुर्खेत उपत्यकामा बर्सेनि झन्डै तीन÷चार सय घर थपिँदै गएका छन् । यसले गर्दा पनि भूकम्पको जोखिम बढ्दै गएको सरोकारवालाहरुको भनाइ छ । नगरपालिकाको कार्यालयका अनुसार यहाँ आर्थिक वर्ष ०६८÷०६९ मा ३३३ वटा घर निर्माण भएका थिए भने  आर्थिक वर्ष ०६९÷०७० मा ४९४ वटा नयाँ घर निर्माण भएका छन् ।

    यता सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतका इन्जिनियर शशिन्द्र घिमिरेले बढ्दो अव्यवस्थित सहरीकरणले भूकम्पीय जोखिम निम्त्याउने बताउनुभयो । ठूलो भूकम्प गए जिल्लामा गाउँमा भन्दा उपत्यकामा ठूलो क्षति हुनसक्ने भन्दै उहाँले भवन निर्माण गर्दा भवन निर्माण आचारसंहिताअनुसार गर्न सुझाव दिनुभयो । “प्राविधिकको सल्लाहाअनुसार घर निर्माण गर्नुपर्छ”, उहाँले भन्नुभयो, ‘पिलरमा डन्डीको प्रयोग तथा अन्य सामग्रीको पनि मात्रा मिलाएर भवन निर्माण गर्नुपर्छ ।” 

0 comments: