काठमाडौ, फागुन १२ – ‘मौसमविदले पानी पर्छ भनेको दिन घाम लाग्छ, घाम लाग्छ भनेको दिन पानी पर्छ’ केही वर्षअघिसम्म धेरैले यसै भन्थे ।
अरुलाई मौसमको विषयमा जानकारी गराउने
मौसमविद समेत छाता नबोकेर पानीमा रुझे भनेर व्यंग्य पनि निकै भयो । तर
अहिले मौसमविदमाथि गुनासो र व्यंग्य वर्षा हुने क्रम केही घटेको छ ।
अघिल्लो हप्ता बिहीबारदेखि आइतबारसम्म झरी
पर्यो । बिहीबार पानी पर्छ भन्ने कुरा जल तथा मौसम पुर्वानुमान महाशाखाले
अघिल्लो दिन बुधबारकै बुलेटिनमा उल्लेख गरेको थियो ।
बिहीबार वर्षा सुरु भएपछि मौसमविदले
आइतबारदेखि मौसममा सुधार हुने बताए । आइतबार रातिसम्म नै पानी पर्यो ।
आइतबारदेखि मौसम सुधार हुन्छ भन्ने सुनेका केही मान्छेले भने ‘मौसमविदले
भनेको फेरि मिलेन, खै त पानी पर्न रोकिएको ?’ तर
सोमबारदेखि मौसममा सुधार आयो । मौसमविदले अनुमान गरे अनुसार नै झरी थामियो
। मौसममा सुधार आएपछि बुधबार उज्यालोको जिज्ञासामा महाशाखाका बरिष्ठ
मौसमविद मीनकुमार अर्यालले भन्नुभएको थियो ‘दुईतीन दिनमा फेरि पानी पर्ने
सम्भावना छ ।’ उहाँले यसो भनेको दिन आकाशमा कतै बादल थिएन । झरी थामिएर
गर्मी सुरु भयो भन्ने धेरैलाई लागिसकेको थियो ।
तर उहाँले अनुमान गरे अनुसार शुक्रबारदेखि
मौसम बदली हुन थाल्यो । शनिबार केही ठाउँमा हल्का पानी पर्यो । शनिबार नै
महाशाखाले आफ्नो नियमित मौसम बुलेटिनमा आइतबारदेखि सुधार हुने उल्लेख गरेको
थियो । नभन्दै शनिबार दिनभर धुम्म रहेको आकाश आइतबार बिहानैदेखि सफा देखिन
थाल्यो ।
साँच्चै अब मौसमको भविष्यवाणी मिल्न
थालेको हो त ? ‘हो पहिलेको भन्दा धेरै सुधार भएको छ’ मौसमविद शान्ति
कँडेलले उज्यालो अनलाइनसित भन्नुभयो ‘प्रविधिको विकासले भविष्यवाणी गर्न
सजिलो भएको छ ।
५/७ वर्ष अघिसम्म मौसमविदहरुले परम्परागत
प्रविधि मार्फत मौसमको भविष्यवाणी गर्थे । वेदर चार्ट एनालाइसिस अर्थात
नक्सामा पहिलेका डाटाहरु तथा उच्चचापीय र न्यूनचापीय क्षेत्र हेरेर मौसमको
हिसाब गर्नुपर्ने बाध्यता थियो । यो विधि झण्डै आकाशतिर फर्केर यसो हुन्छ
भन्नुजस्तै थियो । यो विधिमा मात्रै भरपर्दा धेरैजसो भविष्यवाणी
मिल्दैनथियो ।
तर अहिले मौसमविदले परम्परागत विधिसँगै
आधुनिक प्रविधिको पनि प्रयोग गर्छन् । कम्प्युटर भूउपग्रहको तस्वीर र
वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ ।
‘स्याटेलाइट इमेजको प्रयोग भएको सातआठ
वर्ष जति भयो, अनि दुई तीन वर्षदेखि एनडब्ल्यूपी अर्थात सिष्टम न्युमेरिकल
वेदर पेडिक्सन प्रविधिको पनि प्रयोग हुन थालेको छ’ मौसमविद राजु
प्रधानांगले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिन्छ ।
आधुनिक स्याटलाइट डिस्ट्रीब्युट सिस्टम
मार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतको
रूपमा उपयोग गरिन्छ । भारत लगायत विभिन्न मुलुकहरूबाट गणितीय प्रविधिबाट
प्राप्त हुने मौसम विवरण पनि उपयोगी हुन्छन् ।
यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक
प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम
भविष्यवाणी गरिन्छ । यस्तो भविष्यवाणी गर्दा मुलुकलाई साधारणतयाः तीन भागमा
अर्थात् पश्चिम, मध्य र पूर्वी भेगमा विभाजन गरिन्छ । साथै ती भेगमा
देखापर्न सक्ने मौसमी गतिविधिलाई समेत दृष्टिगत गरी मौसम भविष्यवाणी गरिन्छ
।
त्यसो त मौसमको भविष्यवाणी गर्ने काम
त्यति सजिलो पनि छैन । मौसमविद मणिरत्न शाक्यका अनुसार नेपालको एक ठाउँको
मौसमी गतिबिधि थाहा पाउन विश्वका थुपै्र ठाउँको अध्ययन गर्नुपर्छ ।
नेपालको मौसम भविष्यवाणी गर्न मुलुकका
बिभिन्न ठाउँका साथै छिमेक र विश्वकै मौसम गतिबिधिको जानकारी लिनुपर्ने
हुन्छ । मौसमविद कँडेलका अनुसार देशका १६ ठाउँमा रहेका केन्द्रबाट हरेक
तीन÷तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने काम हुन्छ ।
मौसम पुर्वानुमान महाशाखाले भोलिपल्टको
मौसमी अवस्थाबारे अघिल्लो दिन बुलेटिन सार्वजनिक गर्ने गरेको छ । अहिले तीन
दिनसम्मको मौसम भविष्यवाणी गर्न सक्ने क्षमता महाशाखासँग छ । मौसमविद
शाश्यका अनुसार हरेक स्थानको मौसम गतिविधिलाई समेटेर भविष्यवाणी गर्न कुनै
पनि देशमा सम्भव छैन । तर विकसित देशहरूमा भविष्यवाणी लागि अत्याधुनिक
उपकरणहरूको प्रयोग गरिन्छ, जुन नेपालमा उपलब्ध छैनन् ।
0 comments:
Post a Comment