Friday, February 21, 2014

कोइरालाले भने, ‘राष्ट्रपतिबाट कुनै निर्देशन आएकै छैन’

प्रधानमन्त्री सुशील कोइरालाले आफूलाई राष्ट्रपति रामवरण यादवले कुनै निर्देशन नदिएको बताएका छन् ।


राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालालाई सरकारले गर्नुपर्ने कामहरुकाबारेमा ७ बुँदे निर्देशन दिएको भन्ने समाचार सञ्चारमाध्यममा आएको र उक्त विषयमा संसदमा पनि कुरा उठेपछि कोइरालाले आफूलाई राष्ट्रपतिले कुनै निर्देशन नदिएको दाबी गरेका छन् ।
सञ्चारमाध्यममा आएका समाचार सरासर झूठो भएको भन्दै कोइरालाले भने, “राष्ट्रपतिले सातबुँदे निर्देशन दिएको कुरा झुटो हो, यो समाचार पत्रिकामा कसरी आयो , म आश्चर्यचकित छु,”
९ फागुनमा बसेको संसदको बैठकमा बोल्दै उनले राष्ट्रपति यादव मुलुकको अवस्थाबारे गम्भीर भएको र प्रधानमन्त्री भएपछि राष्ट्रपतिसँग नियमित भेटघाट गरेको बताए ।
त्यसअघि संसद बैठकमा बोल्दै नेकपा एमालेका नेता विष्णु पौडेलले राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालालाई दिएको निर्देशन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यो निर्देशन प्रधानमन्त्री कोइरालाले अस्वीकार गर्नुपर्ने बताएका थिए ।
“प्रधानमन्त्रीले राष्ट्रपतिबाट जारी भएको संविधान विपरितको सातबुँदे निर्देशनलाई चुपचाप ग्रहण गरेर हिड्नुको तात्पर्य के हो ?” पौडेलले बैठकमा भनेका थिए ।

0 comments: