Friday, February 28, 2014

पारस खड्का भन्छन्,'भारतलाई देखाइदियौं'

काठमाडौ, फाल्गुन १५ - भारतमा अभ्यास खेल खेल्न जाँदा एयरपोर्टमा ईमिग्रेशनका कर्मचारीले नेपाली क्रिकेट टोलीका सदस्यलाई भारत किन आएको भनी प्रश्न गर्थे रे । खेलाडीले जवाफ दिन्थे, 'क्रिकेट खेल्न आएको ।' जवाफ सुनेर छक्क पर्दै कर्मचारीले भन्थे रे, 'नेपालको पनि क्रिकेट टिम छ र ?

'
यस्ता प्रश्नले हैरान नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा भने, 'विश्वकपमा छानिएर हामीले भारतलाई देखाइदियौं ।' उनले फेरि थपे, 'अब हामीले खेलेको विश्वकप खेल भारतको टीभीले प्रत्यक्ष प्रशारण गर्नेछ ।' कप्तान खड्काले अनुभव सुनाउँदा कार्यक्रममा हाँसोको फोहोरा छुट्यो ।
यूएईमा मंसिरमा भएको छनौट प्रतियोगिताबाट आगामी महिना बंगलादेशमा हुने टी२० विश्वकपका लागि नेपाल छानिएको हो । नेपाललाई विश्वकप पुर्‍याउने खेलाडीको जीवन समेटेर तयार पारिएको विश्व टी२० क्रिकेटका सारथीहरु नामक पुस्तक बिमोचनमा बोल्दै कप्तान खड्काले छनौटसँगै विश्वकप खेल्ने सपना पूरा भएको बताए । उनले नेपाललाई विश्वकप क्रिकेटको बाटो देखाउने श्रेय प्रशिक्षक पुबुदु दासानायकेलाई दिए । 'दासानायके आएपछि हामीले भिजन पायौं', उनले भने,'हामीमा विश्वकप खेल्ने चाहना थियो, दासानायकेले बाटो देखाइदिनु भयो ।'
पत्रकार जगदीश्वर पाण्डेले लेखेको पुस्तकमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका १८ खेलाडी जीवनीसहित उनीहरुको खेल्ने शैली, सबल र दुर्बल पक्ष केलाइएको छ । पुस्तकमा नेपाली क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको जीवनी पनि लेखिएको छ । यो नेपाली क्रिकेटबारे लेखिएको पहिलो पुस्तक हो ।
कार्यक्रममा बोल्दै कलाकार राजेश हमालले क्रिकेट खेलाडीलाई नेपालीहरुलाई एकताको सूत्रमा बाँध्न सघाएको भन्दै प्रशंसा गरे । 'जित र हार मान्छेको दृष्टिकोणमा भर पर्छ', उनले विश्वकपका लागि खेलाडीलाई शुभकामना दिँदै भने, 'जित्छु भन्ने आत्मविश्वास भएकाले जित्ने सम्भावना बढी हुन्छ ।'
कार्यक्रममा बोल्दै कलाकार निशा अधिकारीले नेपालीलाई खुशी दिन सकेकोमा खेलाडीलाई धन्यवाद दिइन । लेखन पाण्डेले पुस्तकको सम्पूर्ण श्रेय खेलाडीलाई दिँदै विश्वकप छनौटका लागि खेलाडीले गरेको मेहनत र धैर्यताको प्रशंसा गरे  । बैंङ्कर अनिलकेशरी साहले नेपाली टोलीले विश्व टी२० मा उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए ।
पुस्तक सार्वजनिक कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका अध्यक्ष सुरज बैद्यको व्यबसायिक समूह बैद्य अर्गनाइजेशनले कप्तान खड्कालाई टोयोटा कार दिने घोषणा गरेको छ ।
नेपाललाई विश्व टी२० मा छनौट हुन महत्वपूर्ण भूमिका खेलेकाले उनलाई कार दिन लागिएको हो । बैद्यको बैद्य अर्गनाइजेशने नेपालले यूएईमा विश्वकप छनौट खेल्नु अघि नै छनौट भए उत्कृष्ट खेलाडीलाई कार दिने घोषणा गरेको थियो ।
उत्कृष्ट खेलाडी छनौटका लागि गठित समितिको निर्णय अनुसार खेलाडी छनौट भएको सदस्य रञ्जित आचार्यले जानकारी दिए । कार्यक्रममा अनुपस्थित बैद्यको तर्फबाट छनौट समिति सदस्य आचार्यले कप्तान खड्काको नाम घोषणा गरेका हुन् ।
बैद्यले आगामी महिना बंगलादेशमा हुने टी २० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेतलाई कार दिने घोषणा गरेको आचार्यले बताए ।
वी रिडले प्रकाशन गरेको पुस्तक बिक्रीको २० प्रतिशत रकम खेलाडीलाई दिइने प्रमुख कार्यकारी अधिकृत राजिब राजिवधर जोशीले बताए । पुस्तकको मूल्य चार सय रुपैयाँ छ । हार्ड कभरसहितको पुस्तकको मूल्य भने एक हजार दुई सय छ । जसमा सबै खेलाडीको हस्ताक्षरसमेत समेटिएको छ । हार्डकभर पुस्तक बिक्रीको ७० प्रतिशत रकम खेलाडीलाई दिइने जोशीले बताए । बिहीबार पुस्तक सार्वजनिक कार्यक्रममा प्रकाशकले खेलाडीलाई एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

0 comments: