Friday, February 28, 2014

मसाज तालिमले फेरेको जिन्दगीका कथा

काठमाडौं, फागुन १६ – कपिलवस्तुका चिरञ्जीवि पौडेलको लक्ष्य शिक्षक बन्ने थियो । यहि रहर पूरा गर्न बिएड पनि पढ्नुभयो ।

तर उहाँलाई कुनै पनि विद्यालयले काम दिएन । जन्मजात दृष्टिविहीन पौडेलको क्षमताको कदर कुनै विद्यालयले गरेनन् । गुजारा चलाउने उपाय खोज्दै उहाँ पोखराको दोहोरी साँझमा गाउन पुग्नुभयो ।
गाउने काम गरेको केही महिनापछि दृष्टिविहीनलाई सहयोग गर्ने संस्था सिइङ ह्याण्डले उहाँलाई मसाज थेरापिस्टको तालिम लिन सहयोग गर्‍यो । आठ वर्षअघि लिएको यहि तालिमले पौडेलको जिन्दगीलाई परिवर्तन गरेर आजको ठाउँमा ल्याईपुर्‍याएको छ ।
‘मसाज थेरापिस्टको तालिम नपाएको भए म कि त शिक्षक हुन्थे कि कुनै दोहोरी साँझमा गाउने बजाउने काम गर्थें’ उहाँ भन्नुहुन्छ, ‘तालिमपछि मैले अगाडिका दिनहरु उज्यालो देख्न थालें । मसँग पनि केही छ, म पनि केही गर्न सक्छु भने आत्मविश्वास मेरो मनमा आयो ।’
तालिमपछि सुरुवाती संघर्षका दिनहरु पोखरामैं बिते । यही कामले उहाँलाई सफलता दिँदै गयो । मसाज थेरापिष्टमै भविष्य खोज्दै उहाँ काठमाडौंको पर्यटकीय क्षेत्र ठमेल आइ पुग्नुभयो ।
तीन वर्षअघि आफ्नै लगानीमा खोलिएको सेन्टरमा अहिले आफैंले तालिम दिएका पाँच जनालाई रोजगारी दिनुभएको छ भने अरु चारजना तालिम लिँदैछन् । तर भन्छन् नि एकले बिराउने सारा पिराउने, नेपालमा मसाज व्यवसाय बदनाम भइरहेको अवस्थामा  थेरापिस्टको काम गर्न त्यति सजिलो थिएन ।
सिइङ ह्यान्डबाटै तालिम लिएर ५ वर्षदेखि मसाज थेरापिस्टको काम गर्दै आएकी लक्ष्मी अधिकारीले कलेज पढ्दा पढ्दै तालिम लिनुभएको थियो । तालिम लिएर काम गर्न थालेपछि उहाँ आफ्नो खुट्टामा उभिनुभयो र घरमा पनि सहयोग गर्नसक्ने हुनुभयो । तर समाजको डर भने सधैं रहन्थ्यो । मसाज गर्जे कामलाई नेपालमा नराम्रो दृष्टिले हेरिने भएकाले उहाँलाई धेरै दिनसम्म आफुले गरेको काम खुलस्त बताउने आँट आएन ।
‘अरुले के काम गर्छस् भनेर सोधे भने मसाज थेरापिस्ट हुँ भन्दिन थिएँ, अरुअरु काम भन्थें’ लक्ष्मीले भन्नुभयो, ‘तर यो कामले मलाई सक्षम बनाएकाले छोड्न चाहन्न । बरु अझै अरु प्रकारका मसाज सिक्न मन छ ।’
दृष्टि नभएकाले के गर्न सक्छन् र भन्ने धारणा र स्पर्सकै माध्यमबाट मसाज सिक्न धेरै गाह्रो भए पनि हौसलाको भरमा काम गरेको बताउनु हुन्छ मसाज व्यवसायी चीरञ्जीवि पौडेल । त्यही हौसला र सीपले अहिले राम्रो व्यापार गरेको छ ।
‘राम्रो काम गरेकै कारण हामीले अघिल्लो वर्ष सूर्य नेपाल इन्टरप्रेनरसिप अवार्ड पायौं । राम्रो कमाइ भएर हामीले ३ वर्षमा अर्को मसाज सेन्टर खोल्ने आँट गर्न सकेका छौं ।’ उहाँ भन्नुहुन्छ, ‘अबको दशवर्षमा अरु सय जना दृष्टिविहिनलाई दक्ष बनाएर रोजगार दिने लक्ष्य पनि लिएका छौं ।’
सिइङ ह्यान्डमा तालिम लिन कुनै पनि दृष्टिविहिनले पैसा तिर्नु पर्दैन । तर तालिम लिन केही आधारभुत कुराहरुमा भने दक्ष हुनुपर्छ । तालिममा छानिएपछि सिइङ ह्यान्डले उल्टै पैसा दिन्छ ।
पर्यटकलाई विषेश लक्षित गरेर खुलेको सिइङ ह्यान्डमा सिजनको समयमा दिनको १४ जना या त्यो भन्दा पनि धेरै पर्यटक आउछन् । सिजन नभएको बेलामा भने दिनको दुईजना देखि पाँच जनासम्म आउँछन् ।
पर्यटक आकर्षण गर्नको लागि सिइङ ह्यान्डले ठमेलका प्राय होटलमा आफ्नो पर्चा राखेको मात्र छैन, ट्रिप एडभाइजर, लोन्लि प्लानेट जस्ता प्रतिष्ठित वेवसाइट, आफ्नै वेवसाइट र फेसबुकजस्ता सामाजिक सञ्जालको पनि प्रयोग गरेको छ ।
केही नयाँ काम गर्न मन लागेर विवेक भट्टराई अहिले मसाज सिक्दै हुनुहुन्छ । अबको केही महिनामा नै उहाँ मसाज थेरापिस्टको काम गर्न तयार हुनु हुनेछ । तर मसाज तालिम लिन उहाँले ५ बर्ष परिवारमै संघर्ष गर्नुपर्‍यो ।
‘मलाई घरबाटै जान दिएनन्,’ उहाँ भन्नुहुन्छ, ‘अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यताप्राप्त, मान्छेको स्वास्थ्यसँग सम्बन्धित र पैसा पनि राम्रो भएकाले जस्तै समस्या भए पनि यो क्षेत्र मै म आफ्नो भविष्य देख्छु ।’
अझै पनि नेपाली समाजले मसाज सेन्टरलाई हेर्ने दृष्टिकोण नकारात्मक छ । यो पेशाका आडमा हुने गलत धन्दा र मसाजले मानिसलाई स्वस्थ्य बनाउँछ भन्ने ज्ञानको कमीले गर्दा धेरै नेपाली मसाज भन्ने बित्तिकै नाक खुम्च्याउँछन् । तर दृष्टिविहिन र यो पेशाको मर्म बुझ्ने व्यक्तिले सहयोग गरेकै कारण चिरञ्जीवि र लक्ष्मी जस्ता धेरै मानिसले यो पेशाबाट पैसा त कमाएका छन् नै उनीहरुले यो पेशाको प्रतिष्ठा पनि बढाएका छन् ।

0 comments: