Friday, February 7, 2014

राम्रा फिल्म एकसाथ

राम्रा फिल्म नबनेको गुनासो बढिरहेका बेला शुक्रबारदेखि भने गतिला दुई फिल्म एकसाथ रिलिज हुँदै छन् । प्रवीण श्रेष्ठ निर्देशित 'मोक्ष' र यादवकुमार भट्टराई निर्देशित 'झोला' दुवैले रिलिजपूर्व गरिएका च्यारिटी सोबाटै उत्साहजनक प्रतिक्रिया पाएका हुन् ।



'मोक्ष' सांगीतिक कथा बोकेको फिल्म हो भने 'झोला' सतीप्रथा विरुद्धमा कृष्ण धरावासी लिखित कथामा आधारित छ । 'मोक्ष' ले एक म्युजिकल ब्यान्ड सदस्यको संघर्षबाट कथा आरम्भ गर्छ । सफलताको नजिक रहेका बेला ब्यान्ड भोकलिस्ट सांघातिक आक्रमणमा परी कम्मरमुनि पक्षाघातको सिकार हुन्छ । निर्देशक श्रेष्ठले आफ्नै सांगीतिक जीवन भोगाइलाई पटकथामा ढालेको फिल्ममा कोशिश छेत्री, विक्रम सिंह, बेनिशा हमाल, दीपेश भण्डारी लगायतको अभिनय रहेको छ । सुनील मानन्धरको लगानी रहेको फिल्मको सबल पक्ष संगीत, अभिनय र कथाको मार्मिकता हो । रमाइला पात्रले मनोरञ्जन दिँदादिँदै अकल्पनीय दुर्घटनाले फिल्मलाई गम्भीर मोडमा पुर्‍याउँछ । कतिपय दृश्यमा दर्शकलाई भावुक बनाउने फिल्म हि्वलचेयर प्रयोगकर्ता प्रवीणको पहिलो फिल्म हो ।

एक शताब्दीअघि राणाकालीन समयको सामाजिक कुरीतिका रूपमा रहेको सतीप्रथामा आधारित रही धरावासीले लेखेको 'झोला' कथा साहित्यिक फाँटमा पनि बलियो मानिन्छ । उक्त समाजमा एक जवान महिलाले पतिको निधनपछि सती जानुपूर्व गरेको रीतलाई मिहीन ढंगले उनको सानो छोराको दृष्टिकोणबाट पस्किइएको छ । कृतिबाट फिल्म रूपान्तरणको इतिहास त्यति सुखद हुन नसकिरहेका बेला निर्देशक भट्टराईको काम भने अपवाद बनेको छ । उनले कथाको मर्मलाई मर्न नदिई दमदार प्रस्तुतिमा दर्शकको किलकिलेलाई समाउन सफल बनेका छन् । फिल्मको केन्द्रीय भूमिकामा रहेकी गरिमा पन्तको अभिनय स्वाभाविक र जीवन्त लाग्छ भने सुजल नेपाल, दीपक छेत्री, लक्ष्मी गिरी, देशभक्त खनाल, प्रह्लाद खतिवडा लगायत अन्य कलाकारको अभिनयमा पनि त्यसताकको समय र परिस्थिति झल्कन्छ ।

रिलिजपूर्वका प्रतिक्रिया दुवै फिल्मका लागि उत्साहजनक देखिन्छ । तर प्रदर्शनका लागि पाउने हल संख्यामा भने 'मोक्ष' अगाडि रहेको छ । उक्त फिल्मले राजधानीका मुख्य तीनै मल्टिप्लेक्स बिग, क्यूएफएक्स र एफक्यूबमा सो पाएको छ भने 'झोला' तीमध्ये क्यूएफएक्समा मात्रै लाग्दै छ । देशभरमा 'मोक्ष' झन्डै  ७५ हलमा लाग्नेछ भने 'झोला' को भागमा ३५ जति परेको छ । राम्रा फिल्म एकसाथ भिड्नुमा फिल्म वितरकबीचको जुँगाको लडाइँलाई कारक मानिएको छ ।

शुक्रबारै अर्को नेपाली फिल्म 'मुटु' पनि लाग्नेछ । शुद्ध प्रेमकथा रहेको भनिएको फिल्मलाई सूर्य बोहराले नै निर्माण तथा निर्देशन गरेका हुन् । 'अग्निपरीक्षा' र 'कान्छा' फिल्मका निर्देशक बोहराले १४ वर्षको अन्तरालमा 'मुटु' लिएर आएका हुन् । फिल्ममा केकी अधिकारी, विमलेश अधिकारी, मुकेश आचार्य लगायतको अभिनय रहेको छ । रिलिजका हिसाबले भने उक्त फिल्मले डेढ दर्जन हल मात्रै पाएको छ ।

0 comments: