Friday, February 14, 2014

प्रेमीले पति बनेपछि माया गर्न कन्जुस गर्छन्

बैंकर्स वर्षा श्रेष्ठ भन्छिन्-माया जति बाँड्यो त्यति बढ्छ

२ फागुन, काठमाडौं । भनिन्छ, युवाहरु भन्दा युवतीहरु मायामा बढी गम्भीर हुन्छन् । प्रेमीप्रति पूर्ण समर्पित हुँदा पनि कति प्रेमिकाले चोट ब्यहोर्नुपर्छ । प्रेमिकाको सोझोपनको फाइदा प्रेमीले गलत फाइदा लिएर मन भाँच्ने गरेका छन् । त्यसो त केटीहरु पनि यो मामिलामा अचेल कम छैनन् ।

युवाहरु मन परेकी युवतीलाई आफ्नी बनाउन जस्तोसुकै उपाय अपनाउन पछि पर्दैनन् । देखावटी माया गर्ने, सहयोग गर्ने, हरेक गतिविधिमा चासो दिने र डेटका नाममा घुमाउन लैजाने गर्छन् ।
प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेपछि पनि प्रेमिकाहरुले अविवाहित हुँदाको जस्तै मायाको अपेक्षा गरेका हुन्छन् । विवाहबन्धनमा बाँधिइसकेपछि पहिलेको जस्तै माया प्रेम खोज्दा धेरै सम्बन्धहरु दुःखद हुने गरेका छन् ।
विवाह अघि प्रेमीबाट प्रेमिकाले जुन मायाँ, सद्भाव र सहयोग पाएका हुन्छन्, त्यो कुरा विवाहपछि पनि निरन्तरता हुने कुरा भ्रममात्र हुनसक्छ । प्रेमका बेला प्र्रेमिकामा पूरै समर्पित हुन तयार हुने प्रेमीहरु विवाह भएपछि पूरै परिवर्तन हुने बैंकर्स वर्षा श्रेष्ठको अनुभव छ ।
क्लिन इनर्जी डेभलपमेन्ट बैंककी डेपुटी चिफ वर्षा श्रेष्ठ अफेयर्सका बेलामा पुरुष जुनरुपमा देखिन्छन्, विवाहपछि पूरै बद्लने गरेको बताउँछिन् । प्रेममा पर्दा आफूलाई आकषिर्त गर्न अभय श्रेष्ठले जस्तो व्यवहार गर्थे, विवाहपछि उनीबाट त्यस्तो व्यवहार नपाएको वर्षाको अनुभव छ ।
 यस्तो छ वर्षाको प्रेमकहानी
मेरा पति अभय श्रेष्ठ माइला दाइका मिल्ने साथी हुनुहुन्थ्यो । कक्षा ८ मा पढ्दा उहाँ पहिलो पटक दाइसँग हामी बसे ठाउँ आउनुभएको थियो । पहिलो भेटमै उहाँले मलाई पराउनुभएछ । पहिलो भेटमै मलाइ मन पराएपछि उहाँ नियमितरुपमा हाम्रोमा आउन थाल्नुभयो ।
मेरा बुवा होमबहादुर श्रेष्ठ गृहमन्त्री भइसकेको मान्छे, उहाँलाई अनुशासित व्यक्ति मन पथ्र्यो । उहाँले हामीलाई अनुशासिस हुन सिकाउनुभयो । बुवाको इज्जत र मायालाई सम्मान गर्दै हामी अनुशासनमा बस्थ्यौं । त्यहीकारण अभयलाई त्यो बेला वास्ता गरेकी थिइन । उहाँ म भन्दा ३ ब्याज सिनियर हुनुहुन्थ्यो ।
अभय पहिलो पटक आउँदा हामी मन्त्री क्वाटरमा बस्थ्यौं । उहाँले मलाइ देख्दा भर्खरै नुहाएर बाहिर निस्किएकी थिएँ । हाम्रो माया बसेपछि उहाँले भन्नुयो, ‘पहिलो भेटमै मेरो नजरमा तिमी परिसकेकी थियौ ।’
उहाँ दाईसँग आइरहनुहुन्थ्यो । उहाँको भित्री मनसाय मलाई फकाउने रहेछ, त्यही भएर उहाँ नियमित आउने गर्नुहुन्थ्यो । मैले मतलबै गरेकी थिइन । नियमित आउन थालेपछि उहाँ पनि हाम्रो परिवारको सदस्यजस्तो बन्नुभयो । निरन्तर भेट भएपछि म पनि उहाँसँग नजिकिन थालेँ । उहाँले मलाई आकषिर्त गर्न मेरो विषयमा चासो दिने, पढाईबारे सोध्ने र राम्रो रिजल्ट आउँदा खुशी बन्नुहुन्थ्यो ।
क्याम्पस पढ्न थालेपछि मैले पनि उहाँलाई मन पराउन थालेँ । त्यहीबेला मेरो दाइ अमेरिका जानुभयो । दाइ अमेरिका गएपछि मलाई सघाउने बहानामा उहाँलाई मेरो घरमा आउन सजिलो भयो । कतै जाँदा पुर्‍याइदिने, घरमा ल्याइदिने क्रमसँगै हामी एकअर्कामा नजिकियौं ।
मलाई सहयोग गर्ने भएकाले होला सायद मेरो परिवारमा उहाँ गुड ब्वाई बन्नुभयो । दाइ अमेरिका गएपछि उहाँले हाम्रो परिवारलाई धेरै सहयोग गर्नुभयो । तर, त्यो सबै मलाई आकषिर्त गर्न रहेछ ।
विवाह अघि मेरा पतिले मात्र नभइ सबै युवाहरुले अरुभन्दा राम्रो देखाउन खोज्छन् । विवाहपछि त्यो व्यवहार पाइँदैन । मलाई आकषिर्त गर्न मन्दिर गएर देउता ढोग्ने मान्छे अहिले मन्दिर जान कर गर्दा पनि मान्नुहुन्न । गइहाले पनि गाडीबाट ओर्लिनुहुन्न । कति मन्दिर जानुपर्ने, भगवान म यहीँ छँदै छु नि मलाई पुजा गरे भइहाल्यो नि भन्नुहुन्छ ।
विवाहअघि मेरो तारिफ गरेर नथाक्ने उहाँले विवाहपछि एक पटक पनि वर्षा तिमी राम्री छौ भन्नुभएको छैन । कहिलेकाहीँ सोध्दा तिमी सधै राम्री छौ भनेर टार्नुहुन्छ । मनैबाट वर्षा तिमी राम्री देखिएकी छौ भन्नुभएको छैन् ।
barsha 1 (4)म पहिलेदेखि नै बुवा आमाले सिफारिस नगरेकोसँग विवाह नगर्ने अडानमा थिएँ । दाइ र दिदीहरुको विवाह पनि बुवाआमाले रोजेर गरिदिनुभएको थियो । घर परिवारबाट उहाँलाई राम्रो मान्छे भन्न थालेपछि पनि म उहाँप्रति आकषिर्त भएकी थिएँ । मेरो विवाहको लागि धेरै ठाउँबाट कुरा आउँदा उहाँलाई रिस उठ्थ्यो रे ।
मलाई कक्षा ८ पढ्दादेखि पछ्याउन थाल्नुभएको उहाँलाई क्याम्पस पुगेपछिमात्र मन पराउन थालेकी थिएँ । उहाँ हेन्डसम देखिनुहन्थ्यो, त्यसैले मेरो मन विस्तारै पग्लियो । मैले मन पराएको बुझेपछि उहाँले मलाई आई लाइक यू जस्ता संकेत दिन थाल्नुभयो । मैले सबै संकेतको जवाफ नदिए पनि एसएस भन्ने गर्थेँ ।
उहाँसँग प्रेम बढेपछि उहाँ मेरो घरमा आइदिएर मेरै काखमा बसिदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो । मेरो विवाह १९९५ डिसेम्बरमा भयो । मैले कक्षा ८ मा पढेको १९७४ तिर हो । उहाँले मलाई पछ्याएको १० वर्ष भइसकेको थियो । मैले मन पराउन थालेपछि हामी गोदावरी घुम्न जान्थ्यौं । एकचोटी उहाँले मलाई मोटरसाइकल पनि सिकाउनु भयो । एग्रेसिभ भएर उहाँसँग नहिँडे पनि कहिलेकाहीँ हामी सिनेमा हेर्न जान्थ्यौं ।
उहाँ सुनचाँदी व्यवसायीको छोरा हुनुहुन्थ्यो । बुवालाई आफ्नो व्यवसायमा सघाउनुहुन्थ्यो । अहिले पनि उहाँ एजेन्सी चलाउनुहुन्छ । उहाँको नाम अभय भएकाले मैले पहिलो पटक ए लेखेको लकेट किनेर गिफ्ट गरेकी थिएँ । तर, इगो भएको मान्छे, उहाँले बी भएको लकेट बनाएर गिफ्ट गर्नुभयो ।
फोन गर्दा उहाँको परिवारले थाहा पाउने डरले फोनलाई कभर गरेर ‘हेलो अभय हुनुहुन्छ’ भन्थेँ । माया बसेपछि मुख हेरौं, कुरा गरौं लागिरहन्थ्यो । उहाँको परिवार पनि मलाई मन पराएको थाहा पाएपछि विवाहका लागि तयार हुनुभयो । मेरो परिवार पनि अभयसँग विवाह गरिदिन तयार थियो । हामीले दुबै परिवारको स्विकृतिमा विवाह गरेका हौं ।
त्यति बेला उहाँ बुद्धिमानी, सहयोगी, स्मार्ट, कुरा बुझ्ने र मलाई सम्मान गर्ने भएकाले म आकषिर्त भएकी थिएँ । विवाह गरिसकेपछि पुरुषलाई मेरै छेउमै छ नि, ऊ मेरै त हो नि भन्ने हुँदो रहेछ । हामी महिलालाई राम्रो पत्नी र कुशल गृहिणी बन्ने चिन्ताले पिरोल्दो रहेछ ।
विवाहअघि उहाँ मलाई खुशी पार्ने ध्याउन्नमा देखिनुहुन्थ्यो । विवाहपछि ठिक उल्टो मैले उहाँलाई जसरी पनि खुसी खुसी पार्ने ध्याउन्नमा हुन्छु । सबै लोग्ने मान्छे एउटै हुन्छन भन्दिन् । एउटा कुरा के पक्का हो भने लोग्ने मान्छेले अफेयर्सका बेलामा जुन माया र व्यवहार देखाउँछन्, त्यो विवाहपछि हुँदैन । प्रेम गरेका युवतीहरुले यो बुझ्नु पर्छ कि विवाहअघि प्रेमीले जस्तो व्यवहार गरिरहेको छ, त्यो विवाह पछि निरन्तर रहँदैन ।
अहिले  प्रेम गर्न सजिलो
त्यो बेला लभ गर्ने कुराले सातो जान्थ्यो । समाज परिवर्तन भएकाले अहिलेका युवा युवतीताई लभ गरेर हिँड्न डर छैन् । समाजले के भन्ला ?, बाबुआमाले मान्लान् की नमान्लान् भन्ने डरैडर हुन्थ्यो । अहिलेजस्तो हात हातमा मोबाइल थिएन । फोन गर्न पनि कठिन थियो ।
त्यो बेला हामी अति सिरियस थियौं । एउटा केटासँग लभ गरेपछि त्यसैसँग विवाह गर्नुपर्ने विश्वास थियो । अहिलेका केटाले फेरी फेरी केटी घुमाएको देखिन्छ । केटी पनि केटा फेर्दै हिँड्न लाज मान्न छोडेका छन् ।
अफेयरमा प्रेमी प्रे्रमिकाले गरेका सबै कुरा राम्रो लाग्छन् । उसले राम्रो नगरेका काम र कुरा पनि राम्रो नजरले हेरिन्छ । लोग्ने स्वास्नी भएपछि त्यस्तो हुन्नरहेछ, जे गरेपनि नराम्रो लाग्ने । अहिले मेरो लोग्नेले यस्तो भन्यो, गाली गर्‍यो, टाठो बोल्यो, पहिला यस्तो व्यवहार गथ्र्यो, अहिले यस्तो व्यवहार गर्न थाल्यो भनेर पिर लाग्ने रहेछ ।
विवाह गर्नुभन्दा पहिला उहाँ रिसाउनुहुन्छ भन्ने पनि थाहा थिएन् । विवाह पछि उहाँ रिसाउँदा मेरो मन निकै रुन्थ्यो, खुब चित्त दुख्थ्यो । लभम्यारिज गरेकी माइतमा गएर कुरा गर्नपनि लाज हुन्थ्यो । मलाई मेरो लोग्नेले सधै मायाँ गरिरहोस् जस्तो लाग्छ । सधैं वर्षु भनेर बोलाएको सुन्न मन लाग्छ, आज यहाँ जाउँ, यसो गरौं भनिदिए हुन्थ्यो जस्तो लाग्छ ।
Barsha-shrestha
विवाह गरेको केही दिनमा खिचिएको फोटो
मेरो लोग्ने झर्किने रिसाउने, म जहिले पनि मिठो बोल्ने, सबैलाई मान्ने, सबैलाई खुसी बनाउने मान्छे । पति र मेरो बानी उल्टो छ । मलाई सहने बानी लागेको थियो । मैले लोग्नेले झगडा गरेपनि म रिसाउनुहुन्न भनेर बुवाआमाबाट सिकेकी थिएँ ।
१० वर्षपछि कस्तो अनुभव भइरहेको छ भने उहाँ पनि धेरै परिवर्तन भइसक्नु भएको छ । उहाँले अहिले जे कुरा पनि बुझ्न थाल्नुभएको छ । माया पनि बढ्दै गइरहेको छ । मलाई लाग्छ जति उमेर ढल्किदै जान्छ, उहाको माया पनि बढेर अफेयर्स चल्दाको बेलामा जस्तै हुन्छ ।
चुरोट खाने नराम्रो बानी
उहाँको चुरोट खाने बानी मलाई मन पर्दैन । उहाँले चुरोट नखाइदिएहुन्थ्यो । उहाँ कम बोल्नुहुन्छ, धेरै बोलिदिए हुन्थ्यो जस्तो लाग्छ । मसँग पहिलाको जस्तै कुरा गरिदिऐ हुन्थ्यो भन्ने लाग्छ । सबै मान्छे मायाको भोको हुन्छ ।
सफल दाम्पत्यजीवन विताउन दुबैजनाको मन सफा हुनुपर्छ । जहिले पनि एकले अर्कालाई माया र रेस्पेक्ट गर्नुपर्छ । अहिले विदेशमा भन्दा यहाँ डिभोर्सका केशहरु बढेका छन् । छोरीको विवाह गरिदिन डर लाग्छ । मेरो छोरीको कसैसँग अफेयर्स छैन । उसलाई विवाहको कुरा गर्दा, म मण्डपमा बसिदिन्छु ममी विवाह गरिदिनुस् भन्छे । तर, मलाई केमा डर छ भने भोलि लोग्ने स्वास्नीमा कुरा नमिलेर डिभर्स त हुने हैन ।
प्रेम विवाहमा अपेक्षा बढी हुने भएकाले पनि डिभर्स हुने गर्छ । अफेयर चल्दासम्म त दुबै जनाले एकले अर्कालाई रेस्पेक्ट गर्ने, भनेको पुर्‍याइदिने गर्छन् । विवाहपछि त्यो हुँदैन्, अनि कुरा मिल्दैन र डिभोर्स हुन्छ ।
 प्रेमीको यादले अमेरिकाबाट फर्कें
अफेयर्सका बेला म अमेरिकामा ३ महिनाको लागि बुवाआमासँग गएकी थिएँ । त्यो बेला इन्टरनेट सुविधा थिएन । उहाँ मेरो घरमा आउने, कोठमामा जाने, झ्याल खोल्ने गर्नुहुन्थ्यो रे । मलाई निकै मिस गर्नुहुन्थ्यो रे, मैले पनि मिस गरिरहेकी थिएँ । दुबैजनाले चिठी आदानप्रदान गथ्र्यौं । त्यो चिठी आउने आश हुन्थ्यो । मैले त्यहाँ पढ्न सुरु गरेर पनि उहाँको मायाँले तानेर फर्किहालेँ ।
अहिले मेरो लागि पतिमात्र सबै होइन । सासु, ससुरा, छोराछोरी, इष्टमित्र र व्यवसाय सबैलाई समय दिनुपर्छ । १४ फेब्रुअरी भ्यालेन्टाइन डे । यो दिन मैले सबै साथीलाई हृयाप्पी भ्यालेन्टाइन डे म्यासेज पठाउँछु । म्यासेज पाउँदा कतिपयलाई वर्षाले अहिले पनि मलाई मन पराउँदीरहेछ, आइ लभ यु भन्यो भन्ने हुने रहेछ । भेनाजुहरुलाई पनि भ्यालेन्टाइन डे, लभ यु भनेर पठाउने गर्छु । माया भन्ने चिज जति बाँड्यो बढ्ने रहेछ ।

0 comments: