Sunday, February 23, 2014

प्रधानमन्त्रीले गलेर भने- वामदेवलाई गृह दिन तयार छु

एमालेलाई तत्काल सरकारमा ल्याउन कांग्रेसको टोली खटियो

 

११ फागुन, काठमाडौं । संसदीय प्रणालीमा गृहमन्त्रालय प्रधानमन्त्रीले राख्नुपर्ने जिरह गर्दै आएका प्रधानमन्त्री सुशील कोइराला अन्ततः गलेका छन् । शेरबहादुर देउवाले मन्त्रीहरुको नाम नपठाएर असहयोग गरेपछि संकटमा परेका कोइरालाले शनिबार साँझ आफ्नो पक्षका नेतालाई भने- ‘एमालेसँग कुरा गरेर छिटोभन्दा छिटो कुरो मिलाउनोस् । एमालेलाई गृहमन्त्रालय दिन म तयार छु ।’

कोइरालानिकट सूत्रले दिएको जानकारी अनुसार महामन्त्री कृष्णप्रसाद सिटौला, विनाविभागीय मन्त्री डा. रामशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजाल एवं दीपकुमार उपाध्यायलाई प्रधानमन्त्री कोइरालाले एमालेसँग तत्काल वार्ता गर्न खटाएका छन् ।

आइतबार नै वार्ता गरेर एमालेलाई गृह मन्त्रालय दिई सरकार विस्तार गर्ने कोइरालाले तयारी गरेको कांग्रेसका एक नेताले अनलाइनखबरलाई बताए ।

एमालेले सरकारमा जान्न भनेको छैन : ज्ञवाली

यसैवीच नेकपा एमालेका नेताले भने आक्ष्तबार विहानसम्म कांग्रेसबाट एमालेलाई गृहमन्त्रालय दिने प्रस्ताव आइनसकेको बताएका छन् । एमाले शनिबारदेखि नै केन्द्रीय कमिटीको बैठकमा छ । शनिबारको बैठकमा कांगेसले गृहमन्त्रालय दिए पनि सरकारमा जान नहुने केही केन्द्रीय सदस्यले तर्क गरेका थिए । यसअघि कांग्रेससँग वार्तामा खटिएका सचिव विष्णु पौडेलले समेत अब सरकारमा जाने औचित्य सकिइसकेको सार्वजनिक प्रतिक्रिया दिएका छन् ।

तर, एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले भने एमालेले सरकारमा नजाने निर्णय नगरेको अनलाइनखबरलाई बताए । ‘एमालेको माग सातबुँदे कार्यान्वयन हुनुपर्छ भन्ने हो, हामीले सरकारमा जाँदै जान्नौं भनेका छैनौं, ज्ञवालीले भने, ‘कांग्रेसबाट गृह दिने औपचारिक प्रस्ताव आए छलफल गर्न सकिन्छ ।’

0 comments: