Friday, February 7, 2014

बस दुर्घटनामा मर्नेको सङ्ख्या चौध पुग्यो, अहिलेसम्म सनाखत हुन सकेन

तानसेन,  माघ २३ गते । पाल्पाको चिदीपानीमा आज बिहान भएको बस दुर्घटनामा मर्नेको सङ्ख्या १४ पुगेको छ । मृतकहरुको सनाखत हुन नसक्दा शव परीक्षण हुन सकेको छैन ।


पोखराबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ४९२४ नम्बरको यात्रुबाहक बस चिदीपानी गाविस–२ भालुखोला भन्ने स्थानमा राति २ बजेतिर दुर्घटना हुँदा सात जना गम्भीर घाइते भएका छन् । घाइतेको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते हुनेमा स्याङ्जा जिल्ला चिनीवास गाविस–७, बस्ने ३७ वर्षीय तुलबहादुर राना, बर्दिया जिल्ला मङ्गलागढी गाविस–९ बस्ने ३९ वर्षीया कमला ठकुरी, रुकुम मरावान गाविस–८ बस्ने ४३ वर्षीय नरबहादर बुढा मगर र बागलुङ भकुन्डे–६ बस्ने २३ वर्षीय सूर्य खत्रीको युनाइटेड मिसन अस्पातालमा उपचार भइरहेको छ ।
यस्तै, लुम्बिनी मेडिकल कलेज प्रभाषमा उपचार भइरहेका स्याङ्जा जिल्ला चिनीवास गाविस–७ बस्ने १९ वर्षीय दीपक कुवँर, बर्दिया जिल्ला मङ्गलागढी गाविस–९ बस्ने २७ वर्षीय चन्दा ओली र रुपन्देही जिल्ला बुटबल नगरपालिका–६ बस्ने २४ वर्षीय प्रदीप केसरीको अवस्था चिन्ताजनक रहेको सो अस्पतालले जनाएको छ ।
रातको समयमा बस दुर्घटना हुँदा उद्धारमा समस्या भएको थियो । स्थानीयवासी र नेपाल प्रहरी आज बिहानभरि उद्धारमा खटिएको प्रहरीले जनाएको छ । रासस

0 comments: