Wednesday, February 5, 2014

पोखरामा अब प्लाष्टिक देख्नै नपाइने

पोखरा, माघ २२ - पोखरा उप महानगरपालिकालाई प्लाष्टिक मुक्त नगर घोषणा गर्न तयारी तीव्र पारिएको छ ।

यहि माघ मसान्तभित्रै नगरका सबैजसो पसल तथा ठाउँमा २० माईक्रोनभन्दा कम साईजका प्लाष्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाएर फागुन १ गते पोखरालाई प्लाष्टिकमुक्त घोषणा गर्ने तयारी छ ।
पोखरामा यसअघि २०६८ सालमा नै कालो प्लाष्टिक प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइसकिएको छ ।
पोखराको वातावरणलाई स्वच्छ तथा हराभरा बनाउने उद्देश्यले प्लाष्टिक मुक्त बनाउन लागिएको पोखरा उपमहानगरपालिकाका सरसफाई अधिकृत चूडामणि तिवारीले जानकारी दिनुभयो । यसअघि पोखरालाई मंसिरमै प्लाष्टिकमुक्त घोषणा गर्ने योजना भएपनि संविधानसभा निर्वाचनका कारण पछाडि सारिएको थियो ।
उप महानगरपालिकाले आवश्यक तयारी पुरा भएमा माघभित्रै घोषणा गर्ने बताएपनि फागुन १ गतेमात्रै घोषणा गर्ने तयारी भइरहेको सरसफाइ अधिकृत तिवारीले जानकारी दिनुभयो ।
प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थले मानव स्वास्थ्य तथा वातावरणमा प्रत्यक्ष असर गर्ने भएकाले पोखरालाई प्लाष्टिकमुक्त नगर घोषणा गरी कागज, कपडा, जुट वा अन्य पदार्थबाट बनेका झोला र सामग्रि प्रयोगमा जोड दिइने उहाँले बताउनुभयो ।
पहिलो चरणमा उप महानगरपालिकाले नीजि क्षेत्रसँग साझेदारी गरी कागज वा अन्य पदार्थबाट बनेका झोला उत्पादन गरी वितरण गर्ने तयारी पनि गरिरहेको छ ।
प्लाष्टिकबाट बनेका झोला, चिया खाने गिलास, चम्चा लगायतका सामग्रि प्रयोगमा पनि नियन्त्रण गर्ने उप महानगरपालिकाको योजना छ ।
पोखरालाई प्लाष्टिकमुक्त शहर निर्माणका लागि अहिले सरोकारवालाहरुसँग छलफल चलिरहेको र अब स्थानीय स्तरमा सचेतना कार्यक्रम गरिने सरसफाई अधिकृत चूडामणि तिवारीले जानकारी दिनुभयो ।

0 comments: