६ फागुन, काठमाडौं । संविधानसभा अध्यक्ष/सभामुखमा सुवास नेम्वाङ निर्विरोध निर्वाचित भएका छन् । संविधानसभाको मंगलबार बसेको बैठकले पूर्व सभाध्यक्ष एवं एमाले सभासद नेम्वाङलाई निर्वारोध चयन गरेको हो ।
सभामुखमा नेम्वाङको यो हृयाट्रिक हो । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि नेम्वाङ सभामुख थिए । अघिल्लो संविधानसभा/व्यवस्थापिका-संसदमा सभामुख भएका उनी दोस्रो संविधानसभामा पनि निर्विरोध निर्वाचित भएपछि लगातार तीन पटक सभामुख भएका हुन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रस्ताव र कांग्रेस सभासद कृष्ण सिटौला समर्थनमा नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए ।
सभाध्यक्षमा दावी गरेको एकीकृत नेकपा माओवादीले नेम्वाङलाई आलोचनात्मक समर्थन गरेको छ । राप्रपा, राप्रपा नेपाल लगायतका दलहरुले पनि नेम्वाङलाई समर्थन गरेका छन् ।
तर, अधिकांश दलहरुले अघिल्लो संविधानसभामा जस्तो सहमतिका नाममा प्रक्रियालाई अड्काउने र संविधानसभा बाहिर छलफल नगराउन र सार्वभौम संविधानसभामै छलफल गराउन सुझाव दिएका छन् ।
दलका नेताहरुले धारणा राखेपछि वर्तमान सभाध्यक्ष सूर्यबहादुर थापाले नेम्वाङ निर्वारोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
यसअघि जेष्ठ सदस्यको हैसियतमा राप्रपा अध्यक्ष थापाले सभाध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए ।
0 comments:
Post a Comment