बहुविवाहका कारण पुनर्वास जान नपाउने हुनाले भूटानी शरणार्थी महिला धमाधम सम्बन्धविच्छेद गर्दैछन्।
आठ छोराछोरी र आठै जना नातिनातिना भएकी तुलसीमाया विश्वकर्मा (६६) पति सन्तवीर (७०) र सौता बुद्धमायासँग झापाको बेलडाँगी–१ मा रहेको शरणार्थी शिविरको सेक्टर सी–२ अन्तर्गत १८७ नम्बर छाप्रोमा २३ वर्षदेखि बसिरहेकी छिन्। पतिसँग सम्बन्धविच्छेद गर्न ९ माघमा वकील दीपक निरौलाको कार्यालयमा पुगेकी उनलाई शुरूमा पतिलाई लगाउने आरोप भन्न अप्ठ्यारो भयो। पछि उनैसँगको सल्लाह अनुसार श्रीमान् र सौतासँग मिलेर बस्न नसकेको व्यहोराको उजुरी वकीलले तयार पारे।
अमेरिका लगायत तेस्रो देश पुनर्वास जान पतिसँग सम्बन्धविच्छेद गर्दै थिइन्, तुलसीमाया। ती मुलुकमा एक जनाले एक समयमा एउटासँग मात्र विवाह गरेको हुनुपर्ने कानून रहेकाले बहुविवाह गरेका भूटानी शरणार्थीहरू अहिले धमाधम सम्बन्धविच्छेद गर्दैछन्। सम्बन्धविच्छेद गराउन सन् २०१३ मा झापा जिल्ला अदालतमा १७० महिलाले मुद्दा दर्ता गराएका थिए। सन् २०१२ मा पनि जिल्ला अदालतमा १२२ भूटानी महिलाले सम्बन्धविच्छेदका लागि मुद्दा दिएका थिए।
झापा बारको शरणार्थीका लागि कानूनी सहायता एकाइका अनुसार सम्बन्धविच्छेदका लागि दिइएका सबै मुद्दामा दाबी अनुसारकै फैसला आएको थियो। यस्ता मुद्दामा सरदर तीनदेखि पाँच महीनामा फैसला आउने गर्छ।
शरणार्थी उच्चायोगको सहयोग
भूटानी शरणार्थी महिलालाई सम्बन्धविच्छेदको मुद्दा गर्न झापा बार एसोसिएसनले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोगको सहयोगी संस्था बनेर सघाइरहेको छ। बारले हरेक शिविरमा एक जना वकील रहेको कानूनी सहायता इकाई स्थापना गरेको छ। शान्ता पाठक बेलडाँगी–१ को शिविरमा खटिएकी वकील हुन्। मुद्दा गर्दा शिविरबाट हरेक पटक अदालत जान प्रतिव्यक्ति रु.२२० दिइन्छ भने मुद्दा हेर्ने वकीलले रु.३ हजार अग्रिम आयकर कट्टा गरी प्रति मुद्दा रु.१७ हजार झापा बारबाट पाउँछन्।
सन् १९९० मा भूटानमा राजनीतिक आन्दोलन शुरू भएपछि सरकारको दमन खेप्न नसकेर नेपालमा शरणार्थी भएका नेपालीभाषी भूटानीलाई सन् २००८ देखि अमेरिका र यूरोपका आठ देशले लैजान थालेका हुन्। शरणार्थीलाई उनीहरूकै देशमा फर्काउनु सबैभन्दा उपयुक्त भए पनि भूटानले फर्काउन नमानेपछि र नेपालले पनि सधैंका लागि बास दिने वा नदिने निधो नगरेपछि शरणार्थीका लागि तेस्रो विकल्प दिइएको हो।
राजाका समेत चार वटा पत्नी भएको भूटानमा बहुविवाह सामान्य मानिन्छ। शिविर बाहिरका नेपाली वा गैरभूटानीसँग बिहे गरेका भूटानी महिलाले पनि पतिसँग सम्बन्धविच्छेद गरेपछि मात्र भूटानी शरणार्थीको पहिचानसाथ पुनर्वासमा जान पाउँछन्। सम्बन्धविच्छेद नगर्ने हो भने उनीहरू पतिको देशको नागरिक बन्छन्। भूटानीसँग बिहे गरेका नेपाली वा गैरभूटानी महिलाले भने आफ्नो मुलुकको राहदानी बनाई पतिसँग पुनर्वासमा जान पाउने व्यवस्था छ। तर यो तरिकाबाट राहदानी बनाउन र पुनर्वास जान लामो प्रक्रिया पूरा गर्नुपर्छ।
धमाधम सम्बन्धविच्छेद
माघमा वकील शान्ता पाठकको च्याम्बरमा थिइन्, काखमा तीनवर्षे छोरी बोकेकी बेलडाँगी–१ शरणार्थी शिविरकी मञ्जु डोल्मा तामाङ र लैंगिक समता कार्यकर्ता नरमाया। शनिश्चरे शिविरमा बस्ने पति जीतबहादुर बच्चा जन्मिनुअघि बेपत्ता भएपछि तीन वर्षदेखि माइत बसेकी मञ्जु सम्बन्धविच्छेद गरेर पुनर्वास जाने योजनामा छिन्। अदालतले बकपत्रको लागि दिएको कागज बोकेकी उनले भनिन्, “एकतर्फी सम्बन्धविच्छेदको मुद्दा भएकाले छिट्टै फैसला हुन्छ होला।”
पति बिर्खबहादुर (४०) पाँच वर्षदेखि बेपत्ता भएपछि बेलडाँगी―१ की फूलमाया तामाङ (४०) दुई जना छोराछोरीसाथ शिविरमा बस्छिन्। पुनर्वासमा जान बेपत्ता पतिसँग सम्बन्धविच्छेद गर्ने निधोमा पुगेकी उनी ९ माघमा झापा जिल्ला अदालतमा वकील सन्तोष प्रसाई मार्फत सम्बन्धविच्छेदको कागजात तयार पार्दै थिइन्।
बेलडाँगी–१ को शरणार्थी शिविर सेक्टर डी–४ की चार छोराछोरीकी आमा र चार नातिनातिनाकी हजुरआमा मंगलीमाया तामाङ (५१) पनि पति सनबहादुरसँग सम्बन्धविच्छेद गर्न ९ माघमा वकीलसँग चन्द्रगढीमा परामर्श गर्दै थिइन्। उनकै सहमतिमा १६ वर्षअघि घर भित्रिएकी सौता बुद्धमाया र पतिसँग उनी सगोलमा बस्छिन्। बेलडाँगी–१ की आशमाया राई (३४) पनि ९ माघमै दमक–१० घर भएका श्रीमान् पवन लिम्बूसँग सम्बन्धविच्छेद गर्न चन्द्रगढीमा वकील सुभद्रा ढकालसँग परामर्श गर्दै थिइन्।
पुनर्वासमा अमेरिका जान लागेका यी महिलालाई मुद्दा गर्न सघाएकी बेलडाँगी शरणार्थी शिविरकी लैंगिक समता नामको संस्थाकी कार्यकर्ता नरमाया गुरुङले पनि गत वर्ष दमक–५ मा घर भएका नेपाली पति हेमन्त राईसँग सम्बन्धविच्छेद गरेकी हुन्। पतिले विवाह दर्ता नगरिदिएको र जेठी पत्नीलाई ल्याएर आफूलाई शारीरिक यातना दिएको कारण सम्बन्धविच्छेद गर्नुपरेको उनी बताउँछिन्। लैंगिक समताले शिविरका महिलामाथि हुने लैगिक र कानूनी समस्यामा सहयोग गर्छ।
पुनर्वासमा अमेरिका जान लागेका यी महिलालाई मुद्दा गर्न सघाएकी बेलडाँगी शरणार्थी शिविरकी लैंगिक समता नामको संस्थाकी कार्यकर्ता नरमाया गुरुङले पनि गत वर्ष दमक–५ मा घर भएका नेपाली पति हेमन्त राईसँग सम्बन्धविच्छेद गरेकी हुन्। पतिले विवाह दर्ता नगरिदिएको र जेठी पत्नीलाई ल्याएर आफूलाई शारीरिक यातना दिएको कारण सम्बन्धविच्छेद गर्नुपरेको उनी बताउँछिन्। लैंगिक समताले शिविरका महिलामाथि हुने लैगिक र कानूनी समस्यामा सहयोग गर्छ।
0 comments:
Post a Comment