Thursday, March 6, 2014

सडकमा सौर्यबत्ती राखिँदै

काठमाडौं- दरबारमार्गमा तीन लाइनको सोलार सडक बत्ती जडान कार्य सुरु भएको छ। दरबारमार्ग विकास बोर्डको पहलमा साताअघि सो कार्य सुरु गरिएको हो। वैशाख १ गते बत्ती बल्ने बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जनाए।

३० मिटर क्षेत्रमा जडान हुने बत्तीका लागि सडकको बीचभागमा पोल गाड्ने काम सकिएको छ।
सडकको दायाँबायाँ र बीच गरी तीन लाइनमा ९० वटा बत्ती जडान गर्ने बोर्डको तयारी छ। प्रत्येक पोलमा ६५ वाटका दुईवटा बत्ती बाल्ने बोर्डले जनाएको छ।
सडकपेटीमा भने महानगरले सडक सुधार गरेपछि मात्रै पोल गाड्ने बोर्डको योजना छ। यो क्षेत्रमा सडकबत्ती नहुँदा दुर्घटना बढेको थियो।
बत्तीको पोल आधुनिक तथा गुणस्तरीय रहेको कक्षपतिले बताए। 'टिकाउ होस् भनेर केही महँगो पोल राखेका छौं,' उनले भने, ‘अहिले बजारमा भएको भन्दा भिन्न डिजाइनको भएकाले यो पोल आकर्षक पनि छ।'
विद्युत प्राधिकरण र महानगरपालिकाले बत्ती नबालेपछि बोर्डको पहलमा सोलारबत्ती जडान गर्न लागिएको कक्षपतिले बताए।
यो कार्यक्रमका लागि बोर्डले एक करोड बजेट छुट्टयाएको छ। व्यवसायीबाट ऋण तथा सहयोग संकलन गरी बजेट जुटाएको कक्षपतिले बताए। पोललाई विज्ञापन बोर्ड राख्न दिएर आम्दानी गरी ऋण तिर्ने योजना रहेको उनले जानकारी दिए। 'अत्यन्त गुणस्तरीय तथा साना विद्युतीय बोर्डमात्र प्रयोग गर्न दिनेछौं,' उनले भने।
सडक बत्ती जडान गर्न महानगर र विद्युत प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा पनि वास्ता नगरेको उनले बताए। यी दुई निकायको विवादका कारण १८ वर्षदेखि सडकमा बत्ती नबलेको कक्षपतिले दाबी गरे। 'साइनबोर्डमा राखिएको बत्तीको भर थियो, त्यही पनि बन्द भएपछि सडक अन्धकार हुन्छ,' उनले भने।

0 comments: