यतिबेला शहरमा चर्चा छ त नेपाली फिल्म ‘६ एकान ६’ को । निर्माणपक्षले बताएअनुसार फिल्मले ‘उधुम’ व्यापार गरिरहेको छ । हलवालाहरुले पनि यसको पुष्टी गरिरहेका छन् । मिडियामा पनि फिल्मको रेस्पोन्स राम्रो छ । लामो समय पछि एउटा नेपाली फिल्मले दुई हप्ताको बिचमा २ करोड बराबरको व्यापार गरेको छ । फिल्मको व्यापारले यसको निर्माताहरुलाई त हँसाउने नै भयो, यसले नेपाली फिल्म मेकर्सहरुलाई एउटा राहत दिएको छ ।
फिल्म फ्लप हुनु नेपाली फिल्म उद्योगमा अब नौलो कुरै रहेन । कतिपय फिल्मले त पानी समेत माग्न पाउँदैनन् । पछिल्ला दृश्यहरुलाई हेर्ने हो भने नेपाली फिल्महरु कुनै पनि व्यवसायिक रुपमा सफल हुन नसकिरहेको अवस्था थियो । राष्ट्रिय दैनिक कान्तिपुरको समाचारअनुसार हेर्ने हो भने,‘देशभरका सिंगल थिएटरमा पनि ‘छ एकान छ’ ले नै वर्चस्व कायम राखेको छ । अहिलेसम्मको ग्रस आम्दानी दुई करोड नजिक छ, निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीका अनुसार यो फिल्म जम्मा ६५ लाख रुपैयाँमा बनेको हो ।’
यो फिल्मसँगै जुधेको अर्को फिल्म वितेका पल ले पनि पुर्व तिर सिंगल थिएटरमा राम्रो व्यापार गरिरहेको रिपोर्टहरु आएका छन् । धुम थ्री ताका बलिउडी हेजेमोनी रहेको नेपाली फिल्मको मार्केट अहिले ठ्याक्कै मोडिएको छ । यसलाई नेपाली फिल्म मेकर्सहरुले कसरी ग्रयाब गर्ने हुन् त्यो भने अबको दिनले अवश्य देखाउला ।
नेपाली फिल्म धमाधम फ्लप भैरहँदा संकटकालसम्म लगाउने कुरा आउँदा केहि वर्ष अगाडी फिल्म लुट आयो । विषयवस्तु, प्रस्तुतीकरण र कलकारहरु केहि नयाँ थिए, त्यो फिल्ममा । तत्कालिन समयमा लुटले नेपाली दर्शकलाई हलसम्म तान्यो । फिल्मले नेपाली फिल्म उद्योगमै एउटा नयाँ अध्यायको शुरुवात गरेको मानियो । लुट सँगसँगै आएको अर्को फिल्म ‘चपली हाईट’को पनि व्यापार राम्रो भयो ।
नयाँपन भएकै कारण लुट र चपली हाईटले दर्शकलाई आकर्षित गरे । तर त्यसपश्चात सबै फिल्म या त लुट पाराको या चपली हाईट पाराको बन्न थाले । मुलधारको एकैखाले फिल्म हेरेर दिक्क भएका दर्शकहरु पुनः एउटै खालको प्रस्तुतीकरण र कथा भएको फिल्म हेर्न छोडे । लुट र चपली हाईटको नाम जप्दै कतिपय छाडा फिल्महरु पनि बने । र, ती फिल्मले राम्रा भनिएका अन्य फिल्मको व्यापारमा समेत प्रत्यक्ष असर पारे । फिल्म चल्न छोड्यो ।
अहिलेको स्थिती :
लामो समय पछि आएर अहिले नेपाली फिल्मप्रति पुन: दर्शकहरु तानिएका छन् । कान्तिपुरका अनुसार अहिले मल्टिप्लेक्सहरुले पनि यो फिल्मको शो बढाएका छन् । सिंगल थिएटरमा पनि दर्शको संख्या दोस्रो हप्तासम्म आईपुग्दा बाक्लै भएको रिपोर्ट छ ।
दर्शकहरुको प्रतिक्रियालाई आधार मान्ने हो भने यो फिल्म चल्नुको मुख्य कारण भनेको मनोरञ्जन हो । दर्शकले यसलाई ‘पैसा असुल’ फिल्म भनेका छन् । दर्शक फिल्म हलसम्म मनोरञ्जन मात्र प्राप्त गर्न जान्छन् भन्ने कुरा यसले पुष्टी गर्दछ । फिल्ममा कमेडी छ त्यसैले दर्शकले यसबाट मनोरञ्जन प्राप्त गरे । त्यसैमाथि यो फिल्ममा त्यस्ता कमेडियनहरुले मनोरञ्जन गराएका छन्, जो पहिल्यैदेखि दर्शकको प्यारो बनिसकेका थिए । त्यसैले अब नेपाली फिल्मले मनोरञ्जनका लागि कमेडी बेसका स्टोरीहरुलाई समात्ने र त्यस्तै फिल्मको लर्को लाग्ने छाँटकाँट पनि यसले देखाएको छ ।
यस्तो फेरी हुन सक्छ है ?
लुट हिट भएपश्चात थिएटर आर्टिस्टहरुले फिल्ममा खुब चान्स पाए । केहि समय थिएटर आर्टिस्टकै हालिमुहाली फिल्ममा चल्यो । तर कुनै पनि फिल्मले लुट जस्तो व्यापार गर्न सकेनन् । जुन तामझामका साथ थिएटर आर्टिस्ट आए, त्यसरी नै उनीहरु सेलाए । धेरै थिएटर आर्टिस्टहरु यतिबेला नाटकतर्फ नै फर्किएका छन् । फिल्ममा उनीहरुको माग अहिले घट्दो छ । फेरी त्यहि ट्रेन्ड समात्ने हो भने अबका फिल्महरुमा कमेडियन आर्टिस्टलाई लिने क्रम बढ्न सक्छ । स्टोरी पनि सबै एकै खाले हुन सक्छन् । र, फेरी दर्शक विच्किन सक्छन् । त्यसैले हरेक फिल्मलाई लुट र ६ एकान ६ जस्तै हिट बनाउनका लागि नेपाली फिल्म मेकर्सले नयाँ सोँच, प्रस्तुती र कथालाई अगाडि ल्याउनुपर्ने देखिन्छ ।
केहि मान्छेको भनाईलाई मान्ने हो भने लुट हिट भएकै कारण चपली हाईट हिट भएको हो । खासमा भन्ने हो भने चपली हाईट राम्रो चल्ने फिल्म नै होईन । लुट पश्चात त्यस्तै खालको फिल्मको अपेक्षा गर्दै लुट कै दर्शक हलसम्म पुग्दा चपली हाईट भेटिएका कारण फिल्म चल्यो, यो पनि एक पक्षको भनाई हो । कतिपय अवस्थामा यो तर्क सत्य हुन सक्छ ।
ठिक त्यसरी नै ६ एकान ६ चल्नुमा पनि हिन्दी फिल्म धुम थ्री को हात छ भन्नेहरु पनि अहिले निक्लिएका छन् । धुम थ्री ले नेपाली फिल्म हलहरुमा धेरै पछि त्यति धेरै दर्शकलाई ओरालेको थियो । त्यसकै प्रभाव ६ एकान ६ मा परेको उनीहरु बताउँछन् । यो पनि केहि हदसम्म सहि तर्क हुनसक्छ ।
पक्कै पनि फिल्म चल्नलाई फिल्म राम्रो हुनु त पर्छ नै । ६ एकान ६ को हकमा कुरा गर्ने हो भने यो फिल्म धुम थ्रीको प्रभावमा भन्दा पनि चर्को हल्लाखल्लाको कारणले चलेको मान्न सकिन्छ । त्यसैले फिल्म चलाउनका लागि प्रमोशन सबैभन्दा महत्वपुर्ण हुँदो रैछ भन्ने कुरा यसले पुष्टी गरेको छ । तर हल्लामात्रै गरेको आधारमा फिल्म राम्रो भैदिएन भने छड्केजसरी आलोचित पनि बन्न सकिन्छ । त्यसैले राम्रो फिल्म बनाऔँ, दर्शक हलतर्फ आकर्षित भैरहेको बेलामा फिल्म नजुधाऔँ, प्रस्तुतीकरण, विषयवस्तु जस्ता कुरामा ध्यान पु¥याउँ । नेपाली फिल्म पक्कै चल्छन् ।
0 comments:
Post a Comment