Thursday, March 6, 2014

क्यान्सर पीडित ६ वर्षीय बालकलाई ९ वर्षीया बालिकाद्धारा १० हजार उपचार सहयोग

काठमाडौं, फाल्गुन २२ । नौ वर्षीया बालिका रैना शाहले रक्त क्यान्सरबाट पीडित ६ वर्षीय बालक दिपेश श्रेष्ठको उपचार खर्चका लागि १० हजार रुपैयाँ सहयोग गरेर सामाजिक सेवाको एउटा उदाहरण प्रस्तुत गरेकी छिन्

। शाहले आफ्नो खाजा खर्चबाट जम्मा गरेको रकम तथा जन्मदिनका अवसरमा उपहार स्वरुप प्राप्त भएको रकम संकलन गरी १० हजार रुपैयाँ सहयोग गरेकी हुन् ।

कमजोर आर्थिक अवस्थाका कारण गोरखा, बोर्लाङ ४ का बालक दिपेश श्रेष्ठले उचित उपचार गराउन समस्या भोगिरहेका छन् ।

यस्तै, उनको उपचारका लागि अमेरिकामा सैलुन र स्पा व्यवसाय चलाउँदै आएका दुई नेपाली महिलाले ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

अमेरिकाको टेक्सासमा बस्दै आएका रेणु शाह र युभा राणाले उपचारका लागि रकम सहयोग गरेका हुन् । अमेरिकामा युनिभर्सल सैलुन तथा स्पा व्यवसाय चलाउँदै आएका शाह र राणाले उनीहरुको कमाईबाट दैनिक पाँच डलर जम्मा गरेर सहयोग रकम पठाएका हुन् ।

अमेरिकाबाट आएको ४० हजार रुपैयाँमा आफ्नो तर्फबाट थप १० हजार रुपैयाँ थपेर चेल्सी इन्टरनेसनल विद्यालयमा कक्षा तीनमा अध्ययरत रैना शाहले आज जन्मदिनको अवसर पारेर कुल ५० हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् ।

अमेरिकाबाट सहयोग प्रदान गर्ने रेणु शाह र युभा राणाले आगामी दिनमा पनि रकम जम्मा गरेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्यान्सर पीडित दिपेश श्रेष्ठका बुवा दीपक श्रेष्ठले विदेशमा बस्ने दाजुभाइ–दिदीबहीनीहरुले यस्तै सहयोग गर्दै आए थुप्रै पीडितको दुःख कम हुने बताए । सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै उनले छोराको उपचारमा अझै आर्थिक अभाव भएकाले सहयोगी हातहरुलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।

उनले छोराको उपचार गर्न १७ लाख लाग्ने बताए । उनले छोरोको जीवन रक्षाका लागि ग्लोबल आइएमइ बैंकको खाता नं. १११२०९०५६१०८ मा रकम जम्मा गरी सहयोग गरिदिन अनुरोध गरेका छन् ।

आफूसँग भएको सम्पति बेचेर हाल कान्ति अस्पतालमा छोराको उपचार गराइरहेको उनले बताए  ।

0 comments: