Friday, March 7, 2014

बोक्सीको नाममा आमालाई शोषण

साहित्यकार कृष्ण धरावासीकी आमा अम्बिका भट्टराई विधवा भएपछि गाउँलेले बोक्सीको आरोप लगाए। पति हुँदासम्म केही भन्ने आँट नगरेका गाउँलेले विधवा हुनासाथ ६५ वर्षीया भट्टराईलाई बोक्सीको आरोप लगाउँदै कुरा काट्थे।

'भट्टराईनी बज्यै त बोक्सी हुन्, अब धामीझाँकी लगाउनुपर्छ, बोक्सी आइमाई काम्दै आउँछे', गाउँभरि यस्तै कुरा हुन्थे।

'मेरी बूढी आमा धामीझाँक्री लगाउने भन्ने सुनेर रातभरि जागै बस्नुभयो', धरावासीले आमालाई बोक्सीको आरोप लगाउँदाको पीडा बिहीबार राजधानीमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा सुनाउँदा धेरैका आँखा रसाए। 'मेरा पनि नातिनातिनी दुब्लापातला छन्, म पनि निदाएँ भने बोलाउँछन् होला अनि तिमीहरूलाई क स्तो असर पर्ला भनेर सुत्नुहुन्नथ्यो', उनले २०५५ सालको घिनलाग्दो घटना सम्झिए।

कैलालीकी राजकुमारी रानाले बोक्सीका नाममा भोगेको पीडा छोरा रविबहादुरले सुनाइरहँदा त्यहाँ भेला भएकालाई पत्याउ नै गाह्रो पर्‍यो। घटना यस्तो थियो, बिहानै ४ बजे करिब ४० जनाको समूहमा आएका गाउँलेले राजकुमारीलाई सुतेको ठाउँबाट तानेर आगनमा लगे।

राजकुमारीको बोक्सी विद्याले आठ वर्षअगाडि आफ्नो गर्भपतन भएको भन्दै एक छिमेकीले हातपात गर्न थाले। भेला भएका गाउँले पनि खनिए। कैंची र ब्लेडले कपाल खौरिदिए। नांगै बनाएर लुगा जलाइदिए। घरघरबाट दिसापिसाब ल्याएर ख्वाए। यौनांगमा लठ्ठीसमेत कोचिदिए। उनको एउटा आँखा फुट्यो तर सहयोग गर्न कोही आए। उनलाई बोक्सीको आरोपमा यातना दिनेमा आफन्त पनि थिए। 'मेरी आमालाई आरोप लगाउनेमा आफन्त पनि थिए।' रविबहादुरले भने, 'यस्तो पीडा अर्की महिलाले सहन नपरोस्।' घटनाका दोषी अहिलेसम्म फरार छन्।

'लैंगिक हिंसा न्यूनीकरणका लागि तपाईं हाम्रो प्रतिबद्धता' कार्यक्रममा बोक्सीविरुद्धको ऐन ल्याउने अन्तिम गृहकार्य भइरहेको जानकारी दिँदै हलबाट बाहिरिन लागेका महिला, बालबालिका तथा समाजक ल्याण सचिव दिनेशहरि अधिकारीलाई बीचैमा रोक्दै बाँकेकी अमृता खड्काले प्रश्न गरिन्, 'हामी आइमाईका लागि सरकार छैन, किन?' आफ्नै छोराले बोक्सीको आरोप लगाएर यातना दिएको उनको वृत्तान्त सुनेपछि सचिवले आफूलाई पनि पीडाबोध भएको र यस घटनाबारे आधिकारिक रूपमा बुझ्न र उपचारको बाटोमा लाग्न जिम्मेवार प्रहरीलाई अनुरोध गर्ने बताए।

सरकारका प्रतिनिधिका रूपमा कार्यक्रममा उपस्थित सचिव अधिकारीसँग न्याय मागिरहेकी अमृताको पीडा झन् दर्दनाक छ।

नौ महिनासम्म गर्भमा राखेर जन्माएको छोराले नै बोक्सीको आरोपमा गाउँले बटुलेर आमालाई मरणासन्न हुने गरी कुटपिट गरे। ३४ वर्षीय छोरा तेजजंग खड्काले बोक्सीको आरोप लगाएर कुटपिट गर्‍यो भनेर ६६ वर्षीया अमृताले प्रहरी कार्यालयमा उजुरी नै गरिन् तर प्रहरीले घरझगडा घरमै मिलाउनु भन्दै फर्काइदियो। पछि स्थानीय पत्रपत्रिकामा उनको बारेमा समाचार प्रकाशित भएपछि गत वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा बल्ल उजुरी दर्ता गराएकी छन्।

प्रहरीले मुद्दा अदालतमा पेस गरेपछि वैशाख २८ गते पाँच हजार रुपैयाँ धरौटीमा छुटे। जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।

तेजजंगले आफ्नो छोरालाई बोक्सी लगाएर बिरामी पारेको भन्दै आमालाई अपमान मात्रै गरेनन्, मरणासन्न हुने गरी पिटे। छोरासँग बस्न नसक्ने भएपछि छोरीको घरमा गएर बस्न थालिन्। त्यहाँ पनि केही महिनापछि 'आफ्नी छोरीलाई बोक्सी लगाएर बिरामी पारेको' आरोपमा उनी घरबाट निकालिइन्। आफ्नो पतिको मृत्युपछि छोराछोरीले समेत पालैपालो बोक्सीको आरोप लगाएकोमा उनको सबैभन्दा ठूलो गुनासो छ। पुस्तौंदेखिको यो कुरीतिको सिकार अझै पनि धेरै महिला भइरहेका छन्।

कार्यक्रममा अन्नपूर्ण पोस्ट्का सम्पादक गुणराज लुइँटेलले बोक्सीको आरोप लगाई यातना र आक्रमण हुँदा ज्यानै जाने भएकाले ज्यान मार्ने उद्योग वा हत्या सरह कारबाही गर्ने कानुन बनाउन सञ्चारमाध्यमले दबाब दिनुपर्ने बताए।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले हालै सार्वजनिक गरेको मानवअधिकार वर्ष पुस्तकका अनुसार यस वर्ष ६९ जना महिला बोक्सीको आरोपमा प्रताडित भएका छन्। उजुरी नै नभएका या बाहिर नै नआएका संख्या योभन्दा निकै बढी हुन सक्छन्। यद्यपि फितलो कानुनी कारबाहीका कारणले अझै पनि पीडितले न्याय पाएको अवस्था छैन।

अदालतको महलको दफा १० को(ख)मा 'कसैले कसैलाई बोक्सो वा बोक्सीको आरोपमा यातना दिने, घर निकाला गर्नेलगायतका काम गरेमा तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँचदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ।

पीडितलाई न्याय दिलाउनका लागि राष्ट्रिय महिला आयोगले तयार पारेर तीन वर्षअगाडि नै महिला मन्त्रालय पठाइसकेको बोक्सी विधेयकलाई जति सक्दो चाँडै संसद्मार्फत पारित गर्ने प्रतिबद्धता कार्यक्रमका प्रमुखअतिथि उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले बताए।

0 comments: