Monday, March 17, 2014

अब बसभित्रै फ्रि वाईफाई

काठमाडौ, फागुन २९ – सार्वजनिक बसमा चढ्दा सिट पाउनै मुश्किल । सिट पाइहालेमा पनि गोडा तन्काउन नमिल्ने, कक्रक्क भएर बस्नुपर्ने ।

त्यसमाथि गाडीवालासँग भाडाको विषयमा सधैं कचकच । चढेपछि नझर्दासम्म सास्ती मात्रै । लामो दूरीमा यात्रा गर्ने यात्रुले खेप्ने गरेको साझा व्यथा हो यो ।
तर सडकमा सास्ती दिने मात्रै होइन, आरामदायी सिट र धेरै सुविधा भएका गाडी पनि गुड्छन् । केही वर्षयता एसी र डिलक्स सेवाका बस चल्न थालेपछि यात्रुले भरपुर सुविधा पाउन थालेका छन् । अरु साधारण बसमा भन्दा भाडा केही महंगो भएपनि यात्रा अवधिभर यात्रुले आराम र सुविधाको महसुस गर्न पाउँछन् । यात्रुलाई सुविधा थप्ने क्रममा यस्ता बसहरुले पछिल्लोपटक निशुल्क वाईफाई इन्टरनेट सुविधा उपलव्ध गराएका छन् । इन्टरनेट चलाउन मिल्ने मोवाइल छ र साथमा ल्यापटप पनि बोक्नुभएको छ भने तपाईं बसमा यात्रा गरेकै बेला निःशुल्क इमेल–इन्टरनेट चलाउन सक्नुहुन्छ ।
‘६ महिना जति भयो लामो दूरीका रात्री बसमा जीपिएस र वाईफाई सेवा उपलव्ध हुन थालेको छ’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको कोषाध्यक्ष सरोज सिटौलाले उज्यालो अनलाइनसित भन्नुभयो ‘पूर्वका लामो दूरी चल्ने ५० भन्दा धेरै रात्री बसमा यो सुविधा छ, अरु बसमा पनि विस्तार हुँदैछ ।’
अहिले मितेरी, चिनारी, यती र जगदम्बा कम्पनीका बसहरुमा यो सुविधा छ । ‘जीपिएस सिस्टममार्फत हाम्रा गाडीहरु कहाँ कुन हालतमा छ भन्ने कुरा काठमाडौंमै बसेर अनुगमन गर्न सक्छौं, यो चाहिँ हाम्रो लागि हो’ यति र चिनारी बस कम्पनीका अध्यक्ष देवेन्द्र न्यौपानेले उज्यालो अनलाइनसित भन्नुभयो ‘फ्रि वाईफाई सेवा चाहिँ यात्रुको सुविधाको लागि हो ।’
नेपाल टेलिकम र एनसेलको इन्टरनेट सेवाबाट बसमा निशुल्क वाईफाई सेवा उपलव्ध गराइएको हो । टेलिकम र एनसेलको सिग्नल आउने ठाउँमा बसभित्रै वाईफाई इन्टरनेट चलाउन सकिन्छ । ‘हाललाई हामीले टेलिकम र एनसेलको डाटा कार्ड मार्फत बसमा छुट्टै राउटर राखेर सिग्नल क्याच गर्न मिल्ने व्यवस्था गरेका छौं’ जिफोर्स सिष्टम एन टेक्नोलोजी आइटी प्रमुख सुनिल पाण्डेले भन्नुभयो । उहाँका अनुसार अरु बसले पनि यसैगरी सेवा थप्न आग्रह गरिरहेका छन् ।
निशुल्क वाईफाई सेवा उपलव्ध गराए बापत यात्रुबाट थप रकम नलिने व्यवसायीहरु बताउँछन् । ‘एसी र डिलक्स सुविधा भएका बसमा यसअघि जे भाडादर थियो, त्यही हो’ यातायात व्यवसायी महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भन्नुभयो ।

भिडियो कोचपछि एसी र डिलक्स

यात्रुलाई आकर्षित गर्न बसवालाले पहिले भिडियो राख्थे । भित्र भिडियो नचलेपनि बाहिर भिडियो कोच भनेर लेख्ने चलन थियो । अहिले भिडियोसँगै एसी र डिलक्स सुविधा राख्ने होड बढेको छ ।
पूर्वका विभिन्न जिल्लामा चल्ने मेट्रो, मितेरी, मकालु, सितालगायतका बसले एसी र डिलक्स सेवा दिएका छन् । यस्तै पश्चिममा चल्ने महाकाली, सुदूरपश्चिम, साकिरालगायत कम्पनीको पनि एसी र डिलक्स सेवाका बस छन् । यी बसका अगाडि, पछाडि जता बसेपनि उत्तिकै आरामदायी र सुविधा हुने व्यवसायीहरु बताउँछन् ।
एसी बसमा एसी, पंखा, लचकतार र आरामदायी सिट लगाएका सुविधा हुन्छन् । डिलक्समा चाहिँ एसी बाहेकका अरु सुविधा हुन्छन् । यी बसमध्ये कतिले यात्रुलाई आफैं खाना खुवाउँछन् । पानी, कुरकुरे र अरु खानेकुराको सुविधा पनि छ । ‘सबैभन्दा मुख्य कुरा यस्ता बसले बिचमा यात्रु चढाउने र अनावश्यक रुपमा रोक्ने गर्दैनन्’ सिटौलाले भन्नुभयो । एसी र डिलक्स बस सुरु भए लगत्तै अरु बसमा यात्रु कम मात्रै चढ्ने गरेको व्यवसायीहरुको भनाई छ । ‘पूर्व र पश्चिमका मुख्य शहरसँगै पोखरा, बुटवल लगायतका धेरै शहरमा यस्ता बस चल्न थालिसकेका छन्’ सिटौलाले भन्नुभयो, ‘यही स्थितिमा जाने हो भने अबको एक वर्षमा साधारण बस बिस्थापित भैसक्छन् ।’
पर्यटक बसमा भन्दा पनि राम्रो सुविधा एसी र डिलक्स बसले दिने गरेको व्यवसायी बताउँछन् । पूर्व र पश्चिममा चल्ने झण्डै ५ सय बसमा एसी र डिलक्स सुविधा छ । सुविधा धेरै भएकाले यस्ता बसको भाडादर पनि बढी छ । ‘सुविधा अनुसार पैसा दिन यात्रु तयार देखिन्छन्’ सिटौलाले भन्नुभयो ‘डिलक्समा सामान्य बसमा भन्दा २० प्रतिशत र एसीमा ४० प्रतिशत बढी भाडा पर्छ ।’
एसी र डिलक्स बसमा आकर्षण बढेपनि अरु बसमा भन्दा सिट कम हुने भएकाले धेरै यात्रु अटाउन सक्दैनन् । सामान्य बसमा ४२ वटा सिट हुने भएपनि एसी र डिलक्स बसमा ३१ वटा मात्रै सिट हुन्छ । एसी सेवा भएको बसलाई ६५ लाख र डिलक्सलाई ५८ लाख रुपैयाँ पर्ने व्यवसायीहरु बताउँछन् ।

0 comments: