Thursday, October 13, 2016

कोरियामा चिनियाँ दलालले नेपालीलाई ‘मूर्गा’ बनाएको खुलासा

२७ असोज, काठमाडौं । कोरियामा दुःख गरिरहेका नेपालीहरुले आफ्नो घरमा पैसा पठाउन सजिलो माध्यमका रुपमा हुण्डीको प्रयोग गरेको त पहिल्यै सुनिएको थियो, तर ती नेपालीहरुले दुःख गरेर कमाएको पैसा परिवारजनको हातमा पर्नुअघि कसरी चीनसम्म पुग्दोरहेछ भन्नेचाहिँ मंगलबार मात्रै खुलासा भएको छ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा कोरियन प्रहरीले मंगलबार एकजना चिनियाँ विद्यार्थी र एक नेपालीसहित १० जनालाई पक्राउ गरेपछि यो रहस्य बाहिर आएको हो । कोरियन प्रहरीलाई उधृत गर्दै द कोरिया टाइम्सका पत्रकार ली जिनले लेखेको समाचार अनुसार कोरियामा रहेका ३५ सय नेपाली कामदारबाट संकलित पैसाले सुरुमा ब्युटिसियन सम्बन्धी प्रोडक्टहरु खरिद गर्ने गरिएको पाइएको छ । नेपाली कामदारको पैसाले किनिएका ती सौन्दर्य सामाग्री चिनियाँ बिचौलिया एवं व्यापारीहरुले कोरियाबाट चीन निर्यात गर्ने गरेका थिए । यो काम सन् २०११ अगस्तदेखि निरन्तर हुँदै आएको थियो । नेपाली कामदारले आफ्नो घरमा पठाएको पैसाले चिनियाँहरुले व्यापार गर्ने गरेका थिए । र, त्यसबाट कमाएको मुनाफा एवं कमिसन नेपालमा पठाइन्थ्यो । कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ नेपाली कामदारले आफ्नो कमाइ परिवारका सदस्यसम्म पुगेको ठान्ने गरे पनि त्यो पैसाबाट चिनियाँहरुले मस्तसँग व्यापार गरेको लगभग पाँच वर्ष बितिसकेको रहेछ । व्यापारमा चिनियाँहरु कतिसम्म चण्डाल बनिसकेका छन् र सोझा नेपालीलाई कसरी ‘मूर्गा’ बनाउने गरेका रहेछन् भन्ने यसबाट खुलासा भएको छ । तर, तपाईहरुले नठान्नोस् कि चिनियाँहरुमात्रै धूर्त छन् । बरु चिनियाँ विचौलियासँग मिलेमतो गरेर नेपाली कामदारको पसीनाको दुरुपयोग गर्ने धन्दामा नेपालीको समेत संलग्नता खुलेको छ । घटनामा एक नेपालीसमेत पक्राउ परेका छन् । स्थानीय समाचारमा जनाइए अनुसार पक्राउ पर्ने नेपाली कामदार ३६ वर्षका छन् भने चिनियाँ विद्यार्थी ३० वर्षका छन् । उनीहरु कोरियामा रहेका ३५ सय नेपाली कामदारहरुको पैसा नेपाल पठाउने नाममा हुण्डीको धन्दामा संलग्न रहेको बताइएको छ । गैरकानूनीरुपमा हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा कोरियन प्रहरीले एक नेपाली कामदारसहित १० विदेशी नागरिकलाई गिरफ्तार गरेको छ । कोरियाको प्रान्तीय प्रहरीले जनाएअनुसार एक चिनियाँ विद्यार्थी र आप्रवासी नेपाली कामदार कोरियाको विदेशी मुद्रा विनिमय अधिनियम उल्लंघनको आरोपमा पक्राउ परेका छन् । साथमा अरु ८ जना विदेशीहरु पनि पक्राउ परेको कोरियाली प्रहरीले त्यहाँको सञ्चार माध्यमलाई जानकारी दिएको छ । कोरियाली प्रहरीको दाबी अनुसार पक्राउ परेका दुईजनाले नेपाली कामदारको पैसा कोरियन ब्युटी प्रोडक्ट खरिदका लागि प्रयोग गर्दै आएका थिए । त्यो सामान चिनियाँ विचौलियामार्फत चीन पठाउने कार्यमा विचौलियाहरु सन् २०११ अगस्तदेखि २०१६ सम्म संलग्न थिए ।
कोरियाबाट नेपालमा झण्डै साढे ४ अर्बको कारोबार समाचार स्रोतका अनुसार कोरियाबाट नेपालमा पाँच वर्षको अवधिमा ४४.४ मिलियन (४ करोड ४४ लाख) अमेरिकी डलर बराबरको हुण्डी कारोबार भएको छ । यो रकम नेपालीमा रुपान्तर गर्दा करिब ४ अर्ब ४४ करोड हुन आउँछ । नेपाली कामदारको पैसा चीनसम्म जाने यो प्रक्रियाबाट करिब ५० अर्ब कोरियन वन गैरकानूनी ढंगले नेपाल भित्रिएको कोरियाली प्रहरीको दाबी छ । कोरियन प्रहरीको भनाइ यो पनि छ कि आतंकवादी समूहहरुले पनि यसैगरी बैंकिङ सिस्टममा नभई हुण्डीको माध्यमबाट आर्थिक कारोबार गर्ने गरेका छन् । त्यसैले पक्राउ परेका नेपाली, चिनियाँ र अन्य विदेशी नागरिकमाथि थप अनुसन्धान गरिने प्रान्तीय प्रहरीले जनाएको छ । २०७३ असोज २७ गते १०:५८ मा प्रकाशित

0 comments: