Saturday, November 12, 2016

मुरी भित्र्याउने चटारो

मुख्य चाडपर्व मनाएपछि फुर्सदिला बनेका किसान यतिबेला धान भित्र्याउने चटारोमा छन् । हिजोआज जिल्लाका अधिकांश भेगका किसानहरु धान थन्काउन व्यस्त देखिन्छन् । असारमा मानो रोपेर मंसिरमा मुरी धान भित्र्याउने किसानलाई भ्याईनभ्याई भएको हो । धान पाकेर खेत पहेलपुर भएपछि किसानलाई खेतमा चरा मुसाले सखाप पार्ने चिन्ता हुन्छ । ‘धान नभित्रेसम्म चयनले बस्न सकिदैन, वीरेन्द्रनगर–१४ मनिकापुरका अगुवा किसान हर्क खत्रीले भने, चाडपर्व मनाइँयो । अब धान स्याहार्न जुटेका छौं ।’ उनको खेतमा अघिल्लो वर्षको तुलनामा यसपटक धान राम्रो फलेको छ । हाइबे्रड ‐१५१) जातको धानको उत्पादन भने त्यति राम्रो नभएको उनले बताए । ‘गत वर्ष धानले फूल खेल्न नपाउँदै सुख्खा लाग्दा उत्पादन कम भयो’, उनले भने, यो साल मौसमले साथ दिँदा उत्पादन राम्रो छ ।’ उनी जस्तै किसानहरुका घरमा केही दिनभित्र धानका भकारी कसिँदै छन् । ‘यो वर्ष समयमै वर्षा भएकाले जिल्लाभर धान उत्पादनमा २० प्रतिशतले वृद्धि हुने देखिन्छ, जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत सुरेशकुमार थापाले भने, ‘किसानले समयमै रोपाइँ गर्न पाए । धानमा लाग्ने रोगकीराको प्रकोप पनि देखिएन ।’ जिल्लाको धेरै धान फल्ने वीरेन्द्रनगरको तल्लो भाग, रामघाट, दशरथपुर, मेहलकुना, सहारे, मालारानी, गुमी, दहचौर, बाबियाचौर, विद्यापुरलगायतका भेकका किसानहरु धान भिœयाउन जुटिरहेका छन् । मौसमले साथ दिएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्ने किसानहरुका लागि पनि यो वर्ष सुखद रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय अन्तरगतको सहारे सेवा केन्द्रका प्रमुख छत्रबहादुर खत्रीले यो वर्ष मालारानी र सहारेमा धान उत्पादन राम्रो हुने बताए । खत्रीले भने, ‘विगतका वर्षमा किसानहरुबाट धानमा रोग लागेको समस्या आइरहन्थ्यो । यसपटक त्यस्तो समस्या लिएर कोही आएनन् । रोगकीरा नलागेपछि उत्पादन बढ्ने निश्चित छ ।’ उनका अनुसार किसानहरु यतिबेला धान काट्न, चुट्न र दाही हाल्न व्यस्त छन् । सहारे बेल्डमा ७० प्रतिशत धान खेती गरिँछ । कृषि विकास कार्यालयका अनुसार अघिल्लो वर्षभन्दा धानखेती गरिएको क्षेत्रफलसमेत यस वर्ष बढी छ । गत वर्ष १३ हजार २ सय ९७ हेक्टर खेतीमा धान रोपाइँ भएकोमा यस वर्ष १४ हजार ६ हजार हेक्टरमा धानखेती गरिएको गरिएको छ । गत वर्ष ५० हजार ३ सय ७३ मेट्रिकटन धान उत्पादन भएकोमा यस वर्ष ५५ हजार ४ सय ७६ मेट्रिकटन धान उत्पादन हुने प्रारम्भिक अनुमान कार्यालयले गरेको छ । ‘विगतका वर्षमा मौसम अनुकूल नहुँदा बेलैमा धान रोप्न नपाउँदा अपेक्षित उत्पादन हुन सकेको थिएन, कृषि प्रसार अधिकृत थापाले भने, ‘यो वर्ष बेलैमा रोपाइँ भएकाले उत्पादन र उत्पादकत्व बढ्ने देखिएको छ ।’ गत वर्ष वर्षा ढिला भएका कारण उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । समयमै वर्षा नहँुदा गत वर्ष एक हजार हेक्टर बाँझो रहेको थियो । रोपाइँका लागि अनुकूल वर्षा भएपछि किसानहरुले यो वर्ष समयमै धान रोप्न पाएका थिए । जिल्लामा करिब ४० प्रतिशत धानखेती हुने जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । जिल्लाका केही क्षेत्रमा आकाशे पानी र खहरे खोलाको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । यो वर्ष बेलैमा वर्षा भएकाले किसानले त्यो समस्याबाट मुक्ति पाए । जिल्ला कृषि विकास कार्यालयका अनुसार यो वर्ष धानमा रोगकीराको प्रभाव नगन्य पाइएको छ । उन्नत बीउ, प्रविधि, मलको उपलब्धता, आवश्यकता अनुसार रोगव्याधीको उपचारलगायत संयुक्त प्रयास गरेर उत्पादकत्व बढाउने प्रयास जिल्ला कृषि विकास कार्यालयले गर्दै आएको छ । जिल्लाका कुल ५५ हजार २ सय खेती योग्य जमिन मध्ये १४ हजार ४ सय हेक्टरमा धान खेती हुन्छ । संस्थानले धानको मूल्य तोकेन खाद्य संस्थानले धानको मूल्य तोक्न ढिलाई गरेको छ । किसानले धान काटेर बेच्न शुरु गरिसक्दा संस्थानले भने धानको मूल्य र कोटा निर्धारण गर्न सकेको छैन । केन्द्रबाट नै कुनै आदेश नआएकाले धानको मूल्य तोक्न नसकिएको खाद्य संस्थान, भेरी अञ्चल कार्यालय, नेपालगञ्जले जनाएको छ । संस्थानले बेलैमा धानको मूल्य नतोकिदा किसानले सस्तो मूल्यमा व्यापारीलाई बेच्न थालिसकेका छन् । धेरै धान हुने किसानले राखेर राम्रो मूल्य कायम भएपछि बेच्ने गरेपनि साना किसान जसलाई तुरुन्त पैसाको आवश्यक पर्छ उसले चाडै नै बेच्ने गर्दछन् । संस्थानका नेपालगञ्ज प्रमुख श्रीमणी खनालले मंसिर पहिलो सातासम्ममा धानको मूल्य कायम हुन सक्ने बताए । ‘अहिलेसम्म केन्द्रबाट कुनै निर्देशन आएको छैन, खनालले भने, धानको मूल्य र खरिद गर्ने कोटाको निर्णय एकैपटक आउँला ।’ यसपाली धानको उत्पादन राम्रो भएको र साना किसानले धानलाई तत्काल बेच्ने भएकाले संस्थानलाई मूल्य निर्धारण गर्न किसानले दबाब दिएका छन् । ढिलो गरी धानको मूल्य निर्धारण हुँदा व्यापारी मालामाल हुन्छन् । गतवर्ष संस्थानले मोटो धान एक हजार नौ सय २५ र मध्यम धान दुई हजार २५ मा खरिद गरेको थियो । संस्थानले धानको मूल्य तोक्ने बित्तिकै सस्तोमा कारोबार गर्ने व्यापारीले रातारात सरकारी मूल्य भन्दा केही बढीमा खरिद थाल्ने गर्दछन् । बाह्रैमास चामल पठाउने कर्णाली अञ्चललगायतका जिल्लाका लागि संस्थानले धान खरिद गरेर बर्दियाको राजापुरमा रहेको आफ्नै मिलमा कुटान गर्ने गर्दछ । समयमै धानको मूल्य तोकेर खरिद प्रक्रिया शुरु गरेमा संस्थान र किसान दुवैलाई फाइदा हुने भएपनि सरकारले यस काममा वर्षेनी ढिलो नै गर्ने गर्दछ । कतिपयले यसलाई कमिसनको खेलका रुपमा अथ्र्याउने गर्दछन् ।

0 comments: