Saturday, February 25, 2017

'लुट २':

चार वर्ष अगाडि एउटा फिल्म रिलिज भयो। त्यो एउटा अर्को फिल्ममात्र थिएन, फगत एउटा संख्याका रूपमा गनिने। सो फिल्मले एउटा भिन्न नाम र परिचय बनायो। फिल्म थियो 'लुट'। एउटा खासै नाम नसुनिएको युवा निश्चल बस्नेतले निर्देशन गरेको फिल्मले नेपाली फिल्ममा एउटा कोशेढुङ्गा स्थापित गर्‍यो जसको चर्चा नेपाली फिल्म निर्माणको नालीबेलीमा कहिले छुट्ने छैन्। नेपाली फिल्म इतिहासको उकाली ओरालीमा फिल्मको चर्चा 'पोस्ट' र 'प्री' लुट भनेर भइरहनेछ। सो फिल्मबाट निश्चल नेपाली फिल्मका एउटा गर्विला अनुहार भए। उनै निश्चल चार वर्षपछि तेस्रो फिल्मका रूपमा आफ्नै पहिलो फिल्मको सिक्वेल लिएर दर्शकमाझ आएका छन्। शुक्रबारबाट रिलिज भएको फिल्ममा धेरैको नजर छ, फिल्म कस्तो बन्यो भनेर? वर्षकै सर्वाधिक प्रतिक्षित बनेको फिल्मको कथा देशमा गत वर्ष भारतले लगाएको नाकाबन्दी वरिपरि घुमेको छ। नाकाबन्दीमा पेट्रोल,डिजेल, मट्टीतेल र ग्यासको अभावले काठमाडौं सिथिल छ। विनाशकारी भूकम्पले थिल्थिलिएको देशमा नाकाबन्दीसँगै पेट्रोलियम पदार्थको कालोबजारी मौलाएको छ, त्यसमै मौलाएको छ 'हाकु काले' (सौगात मल्ल)को कालो कारोबार। भूकम्पको मौकामा जेलबाट भागेका नरे (कर्मा), गोफ्ले (दयाहाङ),पाण्डे (सुशिल राज पाण्डे), देवेन (प्रतिक राज न्यौपाने) आफूलाई फासाउने हाकुलाई बदला लिन दिनरात खोजिरहेका छन्। उनीहरूले हाकुलाई कसरी भेट्टाउँछन् र आफ्नो बदला लिन सक्छन् या सक्दैनन् यसैको सेरोफेरोमा फिल्मको कथा अगाडि बढ्छ। 'लुट-२' 'लुट' जत्तिकै राम्रो छ कि छैन्? दर्शकको दिमागमा आउने पहिलो प्रश्न यही हो। फिल्म पहिलो सिक्वेल जत्ति बलशाली छैन्। यसका लागि फिल्मको पटकथा जिम्मेवार छ। पटकथाले मुख्य रूपमा हाकु काले तथा गोफ्लेलाई बढी ठाउँ दिदाँ खुकुलो बनेको छ। दर्शक हसाउँने ध्याउन्नमा फिल्म फस्दा केही दृश्य फिल्ममा चाहिनेभन्दा बढी लामा छन्। चाहे त्यो गोफ्लेको प्रेमिकासँगका दृश्य हुन् या हाकु कालेसँग गोफ्लेको टोली भिड्दा। ती दृश्यले फिल्मको लयमा स्पिड ब्रेकरको काम गरेका छन्। उनीहरूलाई प्राप्त ज्यादा ठाउँले सुशील, कर्मा, प्रतिकको स्क्रिन स्पेस खुम्चिएको छ। त्योसँगै तिनले फिल्मलाई लम्बाउने काम पनि गरेका छन्। फिल्मले यी कुरामा ध्यान नदिदाँ कथा अनुसार घटेको छ। माथि उल्लेखित कुराहरूलाई सम्पादनमा कस्न सकिन्थ्यो। तर, सम्पादनमा पनि खुकुलो छोडिएको छ। सम्पादन खुकुला हुँदा फिल्मले दर्शकमाथि पार्ने प्रभाव कम हुन पुगेको छ। करिब २ घण्टा १० मिनेट लम्बाइको फिल्मलाई सम्पादनबाट केही छोटो बनाउने काम गरिएको भए फिल्म मजबुत हुने थियो। पटकथा तथा सम्पादनमा यी कमजोरी भए पनि कलाकारहरूको अभिनय फिल्ममा सबैभन्दा अब्बल छ। 'हाकु'को रूपमा सौगातले आफ्नो लयलाई पहिलेको जस्तै गरी समाइरहेका छन्। 'गोफ्ले' बनेका दयाहाङ आफ्नो भूमिकामा एकदमै फिट छन्। 'पित्तल' बनेका विपिन कार्कीले आफूलाई प्राप्त स्क्रिनस्पेसमा बेग्लै उभ्याएका छन्। उनको कमिङ टाइमिङले दर्शकलाई सर्वाधिक प्रभावित पार्छ। विपिन आफ्ना अघिल्ला फिल्महरू जस्तै यसमा पनि भर्सटायल छन्। नरे बनेका कर्मा र खत्री बनेका प्रतिकले पनि पाएको भूमिकालाई सहज निर्वाह गरेका छन्। यसै गरी सिर्जना सुब्बा (पुतली) र प्रविण खतिवडा (माने) को काम स्वभाविक छ। फिल्ममा नवप्रवेशी अलिशा राईले सुन्दरीको भूमिकालाई सहजै गरेकी छन्। आफ्नै उमेरको भूमिकाबाट उनले पनि दर्शकको मन जित्छिन्। यसैगरी कामेश्वर चौरसियाले राम्रो काम गरेका छन्। निर्देशकका रूपमा निश्चल फिल्ममा सर्वोत्कृष्ट देखिएका छैनन्। उनको निर्देशन फस्ट डिभिजन भन्दा केही माथि मात्रै छ। कथासँग स्क्रिन प्लेको सन्तुलन मिलाउन उनी केही असफल देखिए। फिल्मका लेखक पनि उनी स्वयम् भएकाले फिल्म लम्बाइ-चौडाइसँग उनी जत्ति कोही साक्षात्कार हुन सक्दैन्। तर पनि उनले स्क्रिन प्लेलाई कस्न धरमराएका छन्। फिल्ममा उनले गरेको ट्रिटमेन्ट तारिफयोग्य छ। फिल्म उनले 'ट्विस्ट'हरूको राम्रो प्रयोग गरेका छन् तर तिनको असर फिल्म लामो हुँदा कम प्रभावशाली पनि छ। दर्शकलाई बदला कसले लेला भन्ने कुरामा बाँधिराख्ने उनको प्रयत्न इमानदार छ भलै त्यो पहिलो श्रृखंलाको दाँजोमा उभिएको छैन्। फिल्ममा प्रयूक्त संवादका लागि भने निश्चल सर्वाधिक प्रशंसाका पात्र हुन्। पहिलो श्रृखंलामा रहेको संवाद लयलाई उनले यसमा पनि उत्कृष्ट ढंगले निरन्तरता दिएका छन्। संवादहरू बोलिदा दर्शकहरूले बजाउने ताली र सिठ्टीले उनको उत्कृष्टतालाई सहजै प्रमाणित गर्छ।

0 comments: